close

नागरिकको ज्यानमाथि ठाटीकाँधको खेलवाड, पैसा नतिरेपछि बिरामी बोक्न एम्बुलेन्ससम्म दिइएन 

नागरिकको ज्यानमाथि ठाटीकाँधको खेलवाड, पैसा नतिरेपछि बिरामी बोक्न एम्बुलेन्ससम्म दिइएन 

Trulli
ADVERTISEMENT

सुर्खेत– दैलेखको ठाटीकाँध गाउँपालिकाले बिरामीलाई समयमै उद्दार नसक्दा दुई जनाले अकालमा ज्यान गुमाएका छन् । गाउँपालिकाले कहिले पैसा नभएको र कहिले एम्बुलेन्स बिग्रेको भने उद्दारमा बेवास्ता गरेका कारण उनीहरूको ज्यान गएको हो ।


घटना १ :
गत वर्ष २०७६ भदौमा ठाटीकाँध वडा नम्बर १ सिराडीकी २३ वर्षीया पार्वती शाहीको समयमै उद्दार नहुँदा मृत्यु भएको थियो । आफन्तले बारम्बार गाउँपालिकासँग उद्दारका लागि हारगुहार गरे पनि पालिकाले समयमै उद्दार गर्नमा चासो दिएन । 


पालिकाकै लापरबाहीले सुत्केरी महिलाको ज्यान गयो । पार्वतीको मृत्युपछि उनका आफन्तले गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा तालाबन्दीसमेत गरे । 


घटना २ :
बुधबार गाउँपालिकाको वडा नम्बर ५ का मञ्जु विककी डेढ महिने छोरीको पनि समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा मृत्यु भएको छ । डेढ महिने छोरीमा अकस्मात श्वासप्रश्वासमा समस्या आएपछि मञ्जुले प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा लगेकी थिइन् ।


प्राथमिक स्वास्थ केन्द्रले सक्दो उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरेको थियो । प्राथमिक स्वास्थ केन्द्रले सुर्खेत रेफर गर्दा आफन्तले एम्बुलेन्स खोज्न थाले । त्यसका लागि गाउँपालिकालाई अनुरोध गरियो ।


तर, गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले एम्बुलेन्सको भाडास्वरूप ९ हजार रुपैयाँ अग्रिम भुक्तानी मागे । शिशुका आफन्तसँग तुरुन्तै एम्बुलेन्सलाई दिन पैसा थिएन । 


शिशुका आफन्तले गाउँपालिका अध्यक्ष शाहीलाई पहिले बालिकालाई अस्पताल पु¥याइदिनुस् अनि पैसाको जोहोमा लागौँला भन्दा पनि उनले नमानेको गुनासो गरे ।‘पैसा जोहो पछि गरे भइहाल्थ्यो । मानिसभन्दा पैसा ठूलो हुँदा अहिले एम्बुलेन्स अभावकै कारण शिशुको मृत्यु भयो,’ आफन्तको गुनासो छ ।


शिशुका आफन्तसँग तत्काल ९ हजार रुपैयाँ थिएन । त्यसपछि उनीहरू सहयोगका लागि प्रहरीकहाँ पुगे । प्रहरीको सहयोगमा ८ घन्टापछि एम्बुलेन्स प्रदेश अस्पताल पठाइयो । 


त्यतिबेला नवजात शिशुको अवस्था निकै नाजुक बनिसकेको थियो । एम्बुलेन्स प्रदेश अस्पताल पुग्न करिब आधा घन्टा मात्र बाँकी छँदा सुर्खेतको बड्डीचौरमा बुधबार बिहान साढे ४ बजे शिशुको ज्यान गयो ।

 

पीडितका आफन्तले समयमै गाउँपालिकाले सहयोग गरेको भए शिशुको ज्यान बच्ने बताए । गाउँपालिका अध्यक्ष शाहीले आफ्नो कमजोरी अस्वीकार गरे । ‘एम्बुलेन्स उपलब्ध गराइएन भन्ने कुरा गलत हो,’ उनले भने, ‘एम्बुलेन्सका ड्राइभर किशोर विक हुन् । उनले पैसा मागेका हुन् । मकहाँ त्यो कुरा पुगिसकेपछि एम्बुलेन्स लैजान भने पनि उनले मानेनछन् ।’


आफूले नै प्रहरीसँग समन्वय गरेर एम्बुलेन्स व्यवस्था गरेको शाहीको दाबी छ । ‘ठाटीकाँध गाउँपालिका वडा नम्बर ५ तोलीजैसीबाट सुर्खेत पुग्न एम्बुलेन्सलाई बढीमा ५ घन्टा लाग्छ । ८ बजे एम्बुलेन्स हिँडे पनि १ बजे सुर्खेत पुग्नुपथ्र्यो । तर, शिशुको ज्यान बिहान ४ बजे बीच बाटोमै गएको छ । यसले पनि गाउँपालिका अध्यक्षले झुटो बोलेका पुष्टि हुन्छ’, बिरामीका आफन्तले भने ।