close

चिकित्सकको मनमुटावले दुल्लु अस्पताल डाक्टरविहीन

चिकित्सकको मनमुटावले दुल्लु अस्पताल डाक्टरविहीन

Trulli
ADVERTISEMENT

सुर्खेत– सुर्खेतको दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पतालमा कार्यरत चिकित्सको आन्तरिक मनमुटावका कारण अस्पताल डाक्टरविहीन भएको छ । 
तीन जना कार्यरत रहेको दुल्लु अस्पतालमा आन्तरिक कलहका डाक्टर नभएपछि बिरामी रित्तो हात फकिर्नुपर्ने बाध्यतामा छन् ।

 

दुल्लु अस्पतालमा पहिलेदेखि नै कार्यरत तीन जना डाक्टर नियमित अस्पतालमा कार्यरत नहुनु, कहिले औषधी अभाव, कहिले विभिन्न उपकरण बिगिँ्रदा अस्पताल पुग्ने बिरामीलाई सास्ती हुने गरेको छ । 


अस्पतालमा केही समयअघि एक्सरेलगायत सेवा प्रभावित भए पनि हाल डाक्टरै नहुँदा बिरामीहरूले सास्ती खेप्नुपरेको हो । अस्पतालमा तीन डाक्टरसहित ५७ जना स्वास्थ्यकर्मी र कर्मचारी भए पनि नागरिकले भनेका बेला सेवा पाउन सकेका छैनन् । लामो समयदेखि अस्पतालका डाक्टर, कर्मचारी २ समूहमा लागेसँगै मनमुटाव भएपछि सेवा प्रभावित हुँदै  आइरहेको छ । अस्पतालका एक कर्मचारीले भने, ‘केही समयअघि अस्पताल प्रमुख डा.रञ्जना रोकाय काम छ भनेर कसैलाई कार्यवाहक नसुम्पिई निस्किनुभयो । त्यसपछि डा. अशोककुमार शाह पनि जानकारी नदिएरै घरतिर जानुभयो । केही दिनअघि मात्र डा. लीला जोशी पनि बिदा भन्दै अस्पतालबाट जाँदा अहिले डाक्टरविहीन भएको छ ।’ 


अहिले अस्पतालका विभिन्न विशेषज्ञ सेवा बन्द छन् । हेल्थ असिस्टेन्टले सेवा दिइरहेको अहेब शंकर दानीले बताए । अस्पतालका भिडियो एक्सरे, एक्सरेलगायत अन्य सेवा बन्द हँुदा बिरामी निरास हुँदै  घर फर्किनुपर्ने अवस्था छ ।
 

डाक्टर नहुँदा ल्याब सेवासमेत प्रभावित भएको छ । ल्याबबाट रिपोर्ट नै ढिलो आउने र आएको रिपोर्टसमेत चेकजाँच गर्ने डाक्टर नहुँदा काम नलाग्ने स्थानीय दीपेन्द्र कार्कीले बताए ।


‘अहिले अस्पताल हेल्थ असिस्टेन्टका भरमा चलिरहेको छ,’ उनले भने, ‘साधारण बिरामीलाई एचएले चेकजाँच गरेर भएको साधारण औषधी वितरण गर्छन् ।’ यतिबेला अस्पतलालमा बिरामीको चाप बढिरहेको र डाक्टरको अभावमा काम गर्नसमेत अप्ठेरो भएको कर्मचारी बताउँछन् । 
 

दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले तीन जना डाक्टर सुर्खेत तालिमका लागि निस्किएको जानकारी दिए । उनले भने, ‘तीनै जना डाक्टर सुर्खेतमा मानसिक रोगसम्बन्धी तालिम रहेकाले अझै पाँच दिनसम्म अस्पतालमा डाक्टरको उपस्थित हुन्न ।’