close

मितेरी साइनो गाँसेका सहरले पठाए पोखरालाई स्वास्थ्य सामग्री

मितेरी साइनो गाँसेका सहरले पठाए पोखरालाई स्वास्थ्य सामग्री

Trulli
ADVERTISEMENT

कास्की– कास्कीको पोखरा महानगरले विश्वका विभिन्न १३ सहरसँग भगिनी सम्बन्ध गाँसेको छ । अन्तरदेशीय सम्बन्धलाई नागरिक स्तरमा विस्तार गर्न भगिनी र मितेरी सम्बन्ध स्थापना गरिएको हो ।


कतिपय भगिनी सम्बन्ध स्थापना गरेकै दिनदेखि सेलाउँछ । तर, पोखरालाई भने नाता गाँसेका सहरले दुःखका बेला बर्सेनि सघाउँदै आएका छन् । पोखरा महानगरलाई कोभिडविरुद्ध जुध्न मितेरी साइनो गाँसेका सहरले स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री सहयोग पठाएका छन् ।


बिहीबार पोखरा महानगरलाई चीनका ४ वटा सहरले स्वास्थ्य सामग्री र उपकरण पठाएका हुन् । कुनमिङ, गोञ्जाओ, लिन्जी र गार्जे सहरले २ करोड रुपैयाँ बढी मूल्यका स्वास्थ्य सामग्री सहयोग गरेको महानगरले जनाएको छ । 


नेपाल–चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले प्राप्त सामग्री महानगर उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे । ती सहरले २ वटा भेन्टिलेटर, १५ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन, ५० थान अक्सिजन सिलिन्डर, ३ सय अक्सिमिटर, ८ हजार आरटी पिसिआर किट, ५ सय सेट पिपिई र मास्क पोखरा पठाएका हुन् ।

 

यसअघि पनि करोड रुपैयाँ बढीको सामान ती सहरले पठाएका थिए । पोखराले कोरोनाको सुरुताका १ लाख थान मास्क भगिनी साइनो गाँसेका सहरलाई सहयोग पठाएको थियो । त्यसैको पैँचोमा तिनै सहरले सहयोग गरेका हुन् । 

 

सहयोग सामग्री बुझ्दै उपमेयर गुरुङले दुःखका बेला सहयोग गर्ने मित्र नै असल हुने भन्दै भगिनी सम्बन्ध गाँसेका सहरको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । 
प्राप्त सामग्रीले पोखरालाई कोभिड नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।