close

छुटको खाद्य बिक्रीमा अनियमितता गर्ने निलम्बित

छुटको खाद्य बिक्रीमा अनियमितता गर्ने निलम्बित

Trulli
ADVERTISEMENT

हुम्ला– खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाका प्रमुखसहित दुई कर्मचारी निलम्बनमा परेका छन् । निषेधाज्ञाका बेला सरकारले खाद्यान्न बिक्रीमा दिएको छुट नपाएको नागरिकको गुनासोपछि समिति गठन गरेर छानबिन थालिएको थियो ।

 

छानबिन समितिले छुटमा खाद्यान्न बिक्री गरेको प्रमाण नभेटिएको प्रतिवेदन बुझाएपछि थप छानबिन गर्न कर्मचारीलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।
कम्पनीका बिक्री विभाग प्रमुख भीम थापा नेतृत्वको छानबिन टोलीले अध्ययन गर्दा २० प्रतिशत छुटको खाद्यान्न बिक्री गरेको प्रमाण नभेटिएको हो ।

 

बिक्री गरेको प्रमाण कतै नभेटिएपछि कार्यालय प्रमुख निर्मल थापा र नासु भरत अधिकारीलाई निलम्बन गरिएको छ । तर, आवश्यक कागजात नराखे पनि नागरिकलाई खाद्यान्न वितरण गरिएको उनीहरूले दाबी गर्दै आएका थिए । 

 

छुटको खाद्यान्न नपाएको गुनासो सेवाग्राहीबाट आएपछि कम्पनीले दुई जना प्रतिनिधि जिल्ला पठाएर छानबिन गरेको थियो । छानविन टोलीको प्रतिवेदनले उक्त खाद्यान्न बिक्री नगरेको र बिक्री परिमाणअनुसार बैंकमा पैसा मौज्दान नभएको पाइएपछि कर्मचारीले अनियमितता गरेको देखिएको अध्ययन प्रतिवेदनले औँल्याएको छ । 

 

खाद्य व्यापार कम्पनीले पठाएको छानबिन टोलीमा आन्तरिक लेखापरीक्षण अधिकृत मदन रायमाझी र घनश्याम अर्याल रहेका थिए ।

 

दुवै जनाले एक साता लगाएर छानबिन गरेका थिए । छुटमा उपलब्ध गराइएको ९१७ क्विन्टल खाद्यको १० लाख ६४ हजार रुपैयाँको खाद्यान्न सर्वसाधारणले पाउनुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

 

सरकारले कोरोनाको समय सबै घरधुरीका लागि शाखाका गोदाम, डिपो र बिक्री केन्द्रबाट चामल बिक्री गर्दा अधिकतम ३० केजीमा लागू हुने गरी २० प्रतिशत छुट दिएको थियो । 

 

सरकारले दिएको छुटलाई कम्पनीको मुख्यालयले २० जेठमा शाखालाई कार्यान्वयन गर्न पत्राचार गरेको थियो । सोहीअनुसार असार अन्तिम साताबाट शाखाले खाद्यान्न बिक्री गरेको थियो ।