close

५ दशकदेखि चुनावी नारा मात्र बन्यो ‘पोखरामा बसपार्क’

५ दशकदेखि चुनावी नारा मात्र बन्यो ‘पोखरामा बसपार्क’

Trulli
ADVERTISEMENT

कास्की - पोखरामा बसपार्क बनाउनका लागि जग्गा अधिग्रहण गरेको ४५ वर्ष पुगिसक्यो । २०३२ सालमा तत्कालीन अंचलाधीश तथा नगर योजनाका अध्यक्ष शंकरराज पाठक र योजनविद् पदमबहादुर क्षेत्रीले पृथ्वीचोकमा करिब २०० रोपनी जग्गा बसपार्कका लागि छुट्याएका हुन् । 

 

जग्गा अधिग्रहण भएपछि पनि व्यवस्थित बसपार्क देख्ने पोखरेलीको लामो सपना अधुरै छ । हरेक चुनावमा यहाँका जनप्रतिनिधि उम्मेदवारको प्रमुख चुनावी एजेण्डा बन्छ, यही बसपार्क । स्थानीय, प्रदेशदेखि प्रतिनिधिसभाका उम्मेद्वारहरूले समेत बसपार्कलाई चुनावी नारा बनाउँछन् । तर, चुनाव जितेपछि यसबारे सोच्दा पनि सोच्दैनन् । 

 

व्यवस्थित बसपार्कका लागि छुट्याएको जग्गा नै अहिले अव्यवस्थित छ । बसपार्क नहुँदा सडकबाटै यात्रु चढाउने र झार्ने गरिरहेका छन्, सवारी साधनहरू । 

 

बसपार्कको जग्गामा सकुम्बासी भरिएका छन् । यो ठाउँमा कति परिवार सुकुम्बासी छन् भन्ने कुनै रेकर्ड छैन । नगर विकास समितिकै पदाधिकारीले बसपार्क निर्माणका लागि अधिग्रहण भएको जग्गा घडेरी बनाएर बेचेपछि जमिन साँघुरिएको हो । 

 

अहिले चलिरहेको एयरपोर्ट स्तरोन्नति गर्दा त्यहाँ रहेका व्यवसायीलाई बसपार्कको जग्गामा राखियो । तत्कालीन समयमा ७४ परिवारलाई सहुलियत दरमा घडेरी दिइएको थियो । त्यसपछि पृथ्वी राजमार्गको सडक मापदण्ड, पोखरा विमानस्थलबाट सारिएका र केही जग्गाधनीलाई सट्टा जग्गा दिँदा अधिग्रहण गरिएको २०५ रोपनी जग्गा १५० रोपनीमा खुम्चिएको छ ।  

 

सेती नदी किनारमा धाँजा फाटेको भनिएको ६८ रोपनी जग्गा सुकुम्बासीको नाममा अतिक्रमण भएको छ । बसपार्कको चारैतिर विनानक्सा २०० भन्दा बढी पक्की घर बनाइएका छन् । 

 

अशोक पालिखे अध्यक्ष भएका बेला नगरपञ्चायतको सिफारिस भन्दै घडेरी बेच्ने निर्णय भएको थियो । त्यसपछिका अध्यक्ष क्षेत्रबहादुर केसी र बिष्णुप्रसाद बाँस्तोलाले पश्चिम र दक्षिणतर्फका ४२ वटा घडेरीलाई तीन लाख र पूर्वतर्फका ३२ वटा घडेरी एक लाख ८० हजार रुपैयाँका दरले बिक्री गरेका हुन् । 

 

बसेकै आधारमा सहुलियत दरमा घडेरी बिक्री गर्न नहुने सरोकारवालाको भनाइ छ । ‘हातको तीन लाख पर्ने जग्गामा सिंगै घडेरी तीन लाखमा बेचिएको छ’, उनीहरू भन्छन्, ‘अब साँवा र ब्याजसहित हिसाब गरेर घडेरीको पैसा फिर्ता दिएर बसपार्क निर्माण गर्नुपर्छ ।’ त्यस क्षेत्रमा हाल ४५४ जना सुकुम्बासी छन् भने लालपूर्जा भएका जग्गाधनीसमेत छन् । 

 

पूर्वअध्यक्ष प्रकाशमोहन खनाल बसपार्क निर्माणको काम तत्काल थाल्नुपर्ने बताउँछन् । ‘धेरै पटक अध्ययन भइसक्यो । सधैँ जनतालाई अन्योलमा राख्नुहुँदैन’, उनले भने, ‘पोखरालाई अन्तर्राष्ट्रिय शहर भन्छौँ तर एउटा बसपार्कसमेत छैन । कस्तो सन्देश जाला ?’

 

उनले सबै जग्गा खिचेर मात्र काम अघि बढाउनुपर्ने बताए । ‘साँच्चै बनाउने हो भने खोलाको मापदण्ड र बाटोको मापदण्डबीचको सबै जग्गा तान्नुपर्छ । जग्गा फिर्ता नलिएसम्म सम्भव छैन’, उनी भन्छन्, ‘कसैले पनि बनाउने छाँटकाँट देखाएनन् । सुकुम्बासीका छोरा छुट्टिए नयाँ टहरा बन्छ । कसले भत्काउने ? आँट देखाउनुपर्‍यो पहिले ।’ 

 

पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने बसपार्कका लागि अधिग्रहण गरिएका सबै जग्गा फिर्ता लिनुपर्ने बताउँछन् । ‘२०३३ सालमा भौतिक विकास गुरुयोजना निर्माण गर्दा राजपत्रमा चार किल्ला तोकेर बसपार्कको जग्गा छुट्याइएको छ । त्यो पूरै जग्गा फिर्ता लिनुपर्छ’, उनले भने, ‘विभिन्न चरणमा घडेरी बेचेका छन् । त्यो फिर्ता नलिने हो भने ४० रोपनी मात्र जमिन रहन्छ । त्यसमा आधुनिक बसपार्क सम्भव छैन ।’

 

उनी अध्यक्ष भएका बेला १२ करोड रुपैयाँ लागतमा बसपार्क बनाउने निर्णय भएको थियो तर राजनीतिक खिचातानीले काम हुन पाएन । ‘बसपार्क नबन्नुको प्रमुख कारण राजनीति हो । सबै पार्टीका कार्यकर्ता त्यहाँ छन् । कसैले पनि जोखिम मोल्न चाहेनन्’, उनी थप्नछन्, ‘मैले पहल गर्दा पदबाटै हटाइयो । अब राजनीतिभन्दा माथि बसेर यसको निर्णय गर्नुपर्छ र काम थाल्नुपर्छ ।’ त्यहाँ बसिरहेकालाई कानुनअनुसार उचित व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ । 

 

पोखरा प्रादेशिक राजधानी हो । उत्तर–दक्षिण कोरिडोरको ट्रान्जिट पनि यही बन्छ । त्यसका लागि आवश्यक पूर्वाधारमध्ये प्रमुख हो, बसपार्क । पृथ्वीचोकबाट पृथ्वी, सिद्धार्थ र भूपी शेरचन राजमार्ग सुरु हुन्छ । 

 

पोखरा महानगर बनिसकेपछि केही चरण बसपार्कका बारेमा छलफल त भएको छ तर टुंगो लागेको छैन । यसैका लागि १६ नम्बर वडाका अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा अध्ययन समिति गठन भएको छ । ‘सबैभन्दा मुख्य समस्या सुकुम्बासी हो । उनीहरूको व्यवस्थापन नगरी काम अघि बढाउनै सकिँदैन’, उनले भने, ‘अध्ययनको चरणमै छौँ ।’ 

 

बसपार्क बनाउने जग्गा ९ नम्बर वडामा पर्छ । महानगरप्रमुख मानबहादुर जीसी आउँदो पुससम्ममा निचोड निकाल्ने बताउँछन् । ‘सुकुम्बासीलाई भागिहाल भन्न मिल्दैन । जग्गा पहिचान गरेर ठाउँ देखाइदिनुपर्छ’, उनले भने, ‘दशैँअघि सूचना निकालेर वास्तविक सुकुम्बासीको विवरण तयार गर्छौं । त्यसपछि टेण्डर गर्ने सोच छ ।’ 

 

बसपार्क निर्माणका लागि पैसा अभाव नहुने उनले बताए । ‘क्लियर भयो भने आठ करोड नगर विकासकै पैसा छ । महानगरले थप्छ । नपुगेको रकम नगर विकास कोषले लगानी गर्छ’, उनी भन्छन्, ‘तत्काल ९६ रोपनीमा काम गर्ने हो । अरू झमेलामा महानगर फस्दैन ।’