close

दरबन्दी नभएका विद्यालयलाई रघुगंगाले शिक्षक व्यवस्था गर्ने

दरबन्दी नभएका विद्यालयलाई रघुगंगाले शिक्षक व्यवस्था गर्ने

Trulli
ADVERTISEMENT

म्याग्दी - शून्य दरबन्दीमा माध्यमिक तह संचालन गरेका विद्यालयलाई म्याग्दीको रघुगंगा गाउँपालिकाले शिक्षकको व्यवस्था गर्ने भएको छ । 


सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार योजनाअन्तर्गत कार्यपालिका बैठकको निर्णयअनुसार पहिलो चरणमा शून्य दरबन्दीमा मावि तह संचालन भएका विद्यालयमा गाउँपालिकाले करारमा विषयगत शिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।

 

वडा नम्बर– १ तिप्ल्याङमा रहेको कालिका मावि, वडा नम्बर– ३ को पिप्लेमा रहेको रघुगंगा मावि, मौवाफाँटमा रहेको ज्ञानोदय मावि, वडा नम्बर– ४ मा रहेको जनता मावि र वडा नम्बर– ८ मा रहेको रितुङ माविमा एक÷एक जना शिक्षक करारमा नियुक्त गर्न लागेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

 

गाउँसभामार्फत नै शून्य दरबन्दीका विद्यालयहरूमा शिक्षक व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा करार अवधिलाई थप गर्दै लगिने बताए ।

 

विद्यालयहरूले आवश्यकताका आधारमा माग गरेबमोजिम विषयगत शिक्षकहरूका लागि दरखास्तसमेत आह्वान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनका अनुसार कालिकामा विज्ञान, रघुगंगा र रितुङमा अंग्रेजी र ज्ञानोदय र जनतामा गणित विषयको माध्यमिक तहको शिक्षकको दरखास्त आह्वान गरिएको छ ।


गाउँपालिकाले शिक्षक व्यवस्थापन गरिदिएपछि निजी स्रोतका शिक्षकको तलब जुटाउन समुदाय र अभिभावकबाट चन्दा सहयोग जुटाउनुपर्ने समस्या हट्ने बताइएको छ ।