close

सुरुङ मार्गको कार्यालय त खोलियो तर आयोजना भने अझै अन्योलमा

विवादै विवादमा भीमफेदी-कुलेखानी सुरुङ मार्ग

सुरुङ मार्गको कार्यालय त खोलियो तर आयोजना भने अझै अन्योलमा

विवादै विवादमा भीमफेदी-कुलेखानी सुरुङ मार्ग

Trulli
ADVERTISEMENT

मकवानपुर- प्रदेश सरकारको गौरवको आयोजना पोष्टबहादुर बोगटी सुरुङ मार्ग (भीमफेदी-कुलेखानी) सडक आयोजनाको कार्यालय हेटौँडामा खुलेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा शुक्रबार मन्त्री रामेश्वर फुयालले आयोजना कार्यालय उद्घाटन गरेका हुन्  ।

 

कार्यालय उद्घाटन गर्दै मन्त्री फुयालले देश सुरुङ मार्गको युगमा प्रवेश गरेका बताए । चालू आर्थिक वर्ष २०७७/०७८ को फागुनमा सुरुङ मार्गको ग्लोबल टेण्डर आह्वान गर्ने उनले जानकारी दिए ।

 

बागमती प्रदेशको सार्वजनिक लेखा समितिले गत भदौ अन्तिममा संघीय सरकार र नेपाल पूर्वाधार विकास कम्पनीबीच सडक निर्माणको सम्झौता भइसकेका कारण त्यसको वैधानिकता स्पष्ट पार्न जरुरी रहेको भन्दै तत्काल काम रोक्न निर्देशन दिएको थियो । 

 

तर, मन्त्रालयले प्रदेश सरकार र पूर्वाधार विकास कम्पनीको आयोजनाका विषयमा भिन्नता रहेको भन्दै काम अगाडि बढाएको हो ।


समितिले कानुनी जटिलता आउन सक्ने भन्दै सुरुङ मार्गको काम तत्काल रोक्न प्रदेश सरकारलाई निर्देशन दिएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङ मार्गको काम भने रोकेको छैन ।


पूर्वाधार कम्पनीले सर्वसाधारणबाट करोडौँ रकम उठाएर हालसम्म पनि योजना कार्यान्वयन नगरेको अवस्थामा अन्य आर्थिक स्रोतको सुनिश्चितता नगरी अगाडि बढ्नु हतारो हुने समितिको तर्क थियो ।


मन्त्रालयले भने प्रदेश सरकारको सुरुङ मार्ग आयोजनाले कम्पनीलाई काम गर्न नरोक्ने भन्दै काम अगाडि बढाएको जनाएको छ । मन्त्री फुयालले भीमफेदी-कुलेखानी सुरुङ मार्गले कम्पनीलाई काम गर्न नरोक्ने बताए । ‘सर्वसाधारणबाट उठाएको करोडौँ रकमको पूर्ण जिम्मेवारी  कम्पनीले लिनै पर्छ’, उनले भने ।

 

मन्त्रालयका सचिव सञ्जीव बरालले प्रदेश र कम्पनीको आयोजना फरक भएको भन्दै दोधारमा रहन नहुने बताए । प्रदेश सरकारले भैँसेदेखि भीमफेदीसम्म र कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकालीसम्मको सडक दुई लेनको निर्माण गर्ने सचिव बरालले जानकारी दिए ।


    
पोष्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी-कुलेखानी) आयोजनाका प्रमुख सिनियर डिभिजन इन्जिनियर नवीनकुमार सिंहले फागुनभित्र सुरुङ मार्गको ग्लोबल टेन्डर गरिने बताए । सुरुङ मार्गको कामको गति बढाउन कार्यालय स्थापना गरिएको उनको भनाइ छ ।


१९ अर्ब ३२ करोड पाँच लाख ७६ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको सुरुङ मार्ग तीन किलोमिटरको हुने र ४२ महिनाभित्र निर्माण पूरा गरिसक्ने लक्ष्य लिइएको छ ।


यद्यपि, सुरुङ मार्ग निर्माण गर्ने घोषणा गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले टेन्डर आह्वानको मिति भने पटकपटक सारेको छ । 


गत आर्थिक वर्ष २०७६/०७७ मै यस आयोजनाको टेन्डर आह्वान गर्ने घोषणा गरे पनि संघीय सरकारले चासो नदेखाएपछि सम्भव भएको थिएन । सुरुङ मार्ग निर्माणमा संघीय सरकारले सहकार्य गर्ने निर्णय गरिसकेको छ ।