close

गण्डकीले नेता नेपाललाई दिएन साथ, जम्मा ३६ जनाको सनाखत

गण्डकीले नेता नेपाललाई दिएन साथ, जम्मा ३६ जनाको सनाखत

Trulli
ADVERTISEMENT

कास्की– २ भदौमा औपचारिक पार्टी विभाजन भएपछि २२ भदौसम्म स्थानीय र प्रदेशका जनप्रतिनिधिले पार्टी रोज्न पाउने समय तोकिएको थियो । गण्डकीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई खासै उत्साह दिएन । धेरै कसरत गर्दा पनि एमाले छाडेर नयाँ पार्टी रोजेनन्, जनप्रतिनिधिले । 


प्रदेशभर ३६ जनाले मात्रै नेता नेपालको पार्टी रोजेका छन् । तीमध्ये गाउँपालिका उपाध्यक्ष १ जना, वडाध्यक्ष १२, कार्यपालिका सदस्य ८ र वडा सदस्य १४ तथा जिल्ला समन्वय समिति सदस्य १ जना छन् ।


सबैभन्दा धेरै तनहुँमा १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । त्यसमा पनि सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिकाका वडाध्यक्ष छन् ।शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, ५ का वडाध्यक्ष दीर्घबहादुर थापा, ७ का वडाध्यक्ष रामजी क्षेत्री र ११ का वडाध्यक्ष दलबहादुर थापा नेकपा एसमा लागेका हुन् । 


यस्तै, कार्यपालिका सदस्य सानुमाया महत, वडा नम्बर ११ का वडा सदस्य रिता भुजेल, थमनसिंह आले र डोलमाया विक छन् । वडा नम्बर ५ का वडा सदस्य थमबहादुर आले र वडा नम्बर ९ का सदस्य दिल बहादुरथापाले पनि नयाँ पार्टी रोजे ।


आँबुखैरेनी वडा नम्बर ६ का वडाध्यक्ष सञ्जय गुरुङ तथा व्यास वडा नम्बर ४ का वडा सदस्यद्वय विश्वनाथ न्यौपाने र मनबहादुर गुरुङले नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।


कास्कीका जनप्रतिनिधि विभाजनको पक्षमा खासै देखिएनन् । २ सय ८२ जना निर्वाचित जनप्रतिनिधिमध्ये कास्कीबाट ४ जना मात्रै वडा सदस्यले नेता नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।


तीमध्ये २ जना कार्यपालिका सदस्य छन् भने २ जना वडा सदस्य । मादी गाउँपालिका कार्यपालिका सदस्य तथा मादी वडा नम्बर ११ का वडा सदस्य नरबहादुर लामा, माछापुच्छ«े गाउँपालिका कार्यपालिका सदस्य तथा वडा नम्बर ८ का सदस्य लालबहादुर परियारले नेकपा एस रोजेका हुन् ।


यस्तै, माछापुच्छ«े वडा नम्बर ७ कै सदस्य बाबुराम भण्डारी र रुपा वडा नम्बर ५ का सदस्य दामोदर भण्डारी पनि विभाजनको पक्षमा उभिए । पोखरा महानगरका केही वडाध्यक्षहरू विभाजनमा उभिने बताइए पनि अन्तिम समय एमालेमै रहे । योसँगै कास्कीमा नेपालको पार्टी झनै कमजोर सावित भएको छ । 
कास्कीबाट नेकपा एसमा ४ जना केन्द्रीय सदस्य छन् भने ९२ सदस्यीय जिल्ला कमिटीका ६ जना मात्रै नेपालको पक्षमा खुलेका हुन् । 


एक महानगरसहित ५ स्थानीय तह रहेको यहाँ ७२ वटा वडा छन् । महानगर प्रमुख र उपप्रमुखसहित तीन पालिका अध्यक्ष र ४ वटै गाउँपालिका उपाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए ।


गोरखामा २ वडाध्यक्षसहित ३ जनप्रतिनिधि नयाँ पार्टीमा लागेका छन् । निर्वाचन आयोगले दिएको समयावधि सकिँदा आरुघाट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायणध्वज खड्का, आरुघाट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष श्रीबल बराम र गोरखा नगरपालिका वडा नम्बर ८ की वडा सदस्य कल्पना नेपालीले नेकपा एसको पक्षमा सनाखत गरेका हुन् । 


जिल्लाभर १४ जना वडाध्यक्ष र ४८ जना वडा सदस्यसहित ६२ स्थानीय जनप्रतिनिधि र १ जना प्रदेशसभा सांसद एमालेबाट निर्वाचित भएका थिए । बागलुङबाट ४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । २ वडाध्यक्ष र २ जना वडा सदस्य नयाँ पार्टीको पक्षमा उभिएका हुन् । 


बागलुङ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष जीवन आचार्य, ढोरपाटन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिबहादुर घर्ती, सोही वडाकी वडा सदस्य यामु कामी र बागलुङ नगरपालिका वडा नम्बर १० की महिला सदस्य सीता थापाले नेपाल नेतृत्वको पार्टीमा सनाखत गरेका हुन् ।


म्याग्दीमा नेकपा एमालेबाट निर्वाचित ३ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन कार्यालयका अनुसार बेनी नगरपालिका कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, दुर्गा कार्की बानिया र धवलागिरि गाउँपालिका कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालले नयाँ पार्टीमा सनाखत गरेका हुन् । 


कार्की बेनी वडा नम्बर ४ बाट वडा सदस्यमा निर्वाचित भएका थिए भने छन्त्याल र विश्वकर्मा एमालेमा रहँदा जिल्ला कमिटी सदस्य थिए । उनीहरूलाई रोक्न एमाले जिल्ला नेतृत्व निर्वाचन कार्यालयमै पुगे पनि सफल भएन ।


२३ जना स्थानीय जनप्रतिनिधि एमालेमै छन् । प्रदेश र प्रतिनिधिसभाका सांसदले पनि विभाजनलाई रोजेनन् । स्याङ्जामा गाउँपालिका उपाध्यक्षसहित ७ जनाले विभाजनको पक्षमा सनाखत गरेका छन् । आँधीखोला गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेल पार्टीको केन्द्रीय सदस्य चयन भएकी छिन् । 


आँधीखोलाकै कार्यपालिका सदसय खड्कबहादुर नेपाली र बिन्दु विक, वडा नम्बर २ का वडाध्यक्ष रामचन्द्र पौडेल, हरिनास गाउँपालिका वडा नम्बर ७ का सदस्य ऋषिराम लम्साल, जिल्ला समन्वय समिति सदस्य गुमनसिं थापा र पुतलीबजार नगरपालिका वडा नम्बर ४ का सदस्य डोलराज गौतम एकीकृत समाजवादीमा लागेका हुन् ।


‘कतिपय जनप्रतिनिधिलाई अझै दबाब र धाकधम्की दिइयो । घर घेरेरै सनाखत गरेकालाई पनि फिर्ता लिन भनियो,’ एक जनप्रतिनिधिले भने, ‘निकै कष्टका साथ पार्टी रोज्नुपर्‍यो  । गणतन्त्रमा यस्तो व्यवहार बिल्कुल सुहाउदो होइन ।’


लमजुङ, मनाङ, मुस्ताङ र नवलपुरमा नयाँ पार्टी रोज्ने जनप्रतिनिधि शून्य छन् । ती जिल्लाका कसैले पनि सनाखत नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् । 


पर्वतमा २ जना मात्रै नयाँ पार्टीमा लागेका छन् । कुश्मा वडा नम्बर १४ का अध्यक्ष भीमबहादुर र सोही पालिकाका एक वडा सदस्य एकीकृत समाजवादीमा खुलेका हुन् ।