close

दाङका सबै पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी 

दाङका सबै पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी 

Trulli
ADVERTISEMENT

दाङ– दाङमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । सबै नागरिकलाई न्यूनतम रोजगार प्रत्याभूति हुने र मौलिक हकका रूपमा रहेको रोजगारी हक कार्यान्वयन गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अगाडि बढाइएको हो ।


आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्ने, सामाजिक संरक्षणमा योगदान  पुर्‍याउने  र स्थानीय स्तरमा विकास निर्माणमार्फत सार्वजनिक पुँजी निर्माण गरी स्थानीयको जीवनस्तर सुधार गर्न मद्दत  पुर्‍याउने उद्देश्यले यस प्रकारको कार्यक्रम लागू गरिएको हो । 


दाङमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत हालसम्म २ हजार ६ सय ७५ जनाले रोजगार प्राप्त गरेका छन् । चालू आर्थिक वर्ष २०७७/०७८ मा यो संख्यामा रोजगार प्राप्त गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ ।


जिल्लामा रहेका दुई उपमहानगरपालिका एक नगरपालिका र सात गाउँपालिका गरी १० वटा स्थानीय तहमा रोजगार प्राप्त गर्न सफल भएका हुन् । सरकारले आर्थिक वर्ष २०७५/७६ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको हो ।


यसअन्तर्गत बेरोजगारलाई सय दिनको रोजगार प्रदान गरिएको थियो । राज्यको सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले ठूलो सहयोग पुगेको छ । 


रोजगारीका लागि आवश्यक मापदण्ड पूरा गरी निवेदन दिन आएकालाई रोजगारी पाउने हकबाट वञ्चित नगरिएको घोराही उपमहानगर प्रमुख नरुलाल चौधरीले बताए ।


उपमहानगरमा ४ सय ७५ जनाले रोजगारी प्राप्त गरेका छन् । घोराही उपमहानगरले श्रमको सम्मान राष्ट्रको अभियान नाराससहित नगरका ३१ वटा योजनामा काम गराएको थियो ।


तुलसीपुर उपमहानगरमा ५ सय ४ जनाले रोजगार प्राप्त गरेका छन् । नगरका १२ वटा योजनामा रोजगार प्रदान गरिएको थियो । तीमध्ये न्यून आय भएका, अत्यन्त गरिब परिवार छनोटमा परेका थिए । रोजगारअन्तर्गत नाला निर्माण, कुलो सरसफाइ, नगर सरसफाइजस्ता कार्यक्रम प्राथमिकतामा रहेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।  


यसैगरी लमही नगरपालिकामा २ सय ८९ जनाले रोजगार प्राप्त गरेका छन् । नगरपालिकाको १९ वटा आयोजनामा रोजगार प्रदान गरिएको थियो । सो कार्यक्रमअन्तर्गत सडक निमार्णको काम पनि भएको थियो । बंगलाचुली गाउँपालिकामा ३ सय १३ जनाले रोजगार प्राप्त गरेका छन् । गाउँपालिकामा ५२ वटा योजनामा रोजगार प्रदान गरिएको थियो ।


यसैगरी शान्तिनगर गाउँपालिका २ सय १६ जनाले रोजगार प्राप्त गरेका छन् । गाउँपालिकामा ९ वटा आयोजनाका रोजगार प्रदान गरिएको थियो । बबई गाउँपालिकामा एक सय ७२ जनाले रोजगार प्राप्त गरेका छन् । गाउँपालिकामा ७ वटा आयोजनामा रोजगार प्रदान गरिएको हो ।

 

दंगीशरण गाउँपालिकामा १८ जनाले मात्र रोजगार प्राप्त गरेका छन् । गाउँपालिकामा ५ वटा आयोजनामा रोजगार प्रदान गरिएको थियो । यो पालिकामा सबैभन्दा थोरैले रोजगारीमा भाग लिएका थिए । पहेँलो हेल्मेट र ज्याकेट लगाएर तातोघाम र झरी नभनी काममा खटिएका कामदारलाई सर्वसाधारणले समेत सम्मान गर्न थालेका थिए । 

 

राप्ती गाउँपालिकामा १ सय ५७ जना रोजगार प्राप्त गरेका छन् । गाउँपालिकामा १५ वटा आयोजनामा रोजगार प्रदान गरिएको हो । गढवा गाउँपालिकामा ५ सय ४० जनाले रोजगार प्राप्त गरेका छन् । गाउँपालिकामा २१ वटा आयोजनामा रोजगार प्रदान गरिएको हो ।


यस्तै, राजपुर गाउँपालिकामा १ सय ४८ जनाले रोजगार प्राप्त गरेका छन् । गाउँपालिकामा ११ वटा आयोजनामा रोजगार प्रदान गरिएको थियो । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरिएको छ ।

 

कार्यक्रमअन्तर्गत रोजगारी सिर्जनाका प्रमुख क्षेत्रमा सडक, खानेपानी, ढल व्यवस्थापन, सिँचाइ, ऊर्जा, सहरी विकास, शिक्षा, स्वास्थ्य, पुनर्निर्माण, पर्यटन, वन, सामुदायिक पूर्वाधार, कृषि तथा सहकारी, सूचना प्रविधि, वातावरण संरक्षण तथा जलवायु अनुकूलनलगायत रोजगार सिर्जना हुन सक्ने अन्य क्षेत्रलाई समेटिएको छ । निम्न आय भएका मानिसका लागि कामबापत मामको व्यवस्था भएको छ । कोभिड–१९ का कारण गाउँघरमा रोजगार गुमाएकाका लागि यो कार्यक्रम सहयोगी बन्यो । 


यो कार्यक्रमको बजेट कार्यविधिअनुसार खर्च हुने गरेको छ भने यसमा सय दिने रोजगार दिइने गरेको र काम गरेबापत दैनिक ५ सय २० रुपैयाँ प्रदान गरिएको तुलसीपुर उपमहानगरका रोजगार संयोजक किरण गौतमले जानकारी दिए । कार्यक्रमका लागि संघीय सरकारबाट बजेट आउने गरेको छ ।