close

कांग्रेसको ताप्लेजुङ नेतृत्वका आकांक्षी बढ्दै

कांग्रेसको ताप्लेजुङ नेतृत्वका आकांक्षी बढ्दै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– नेपाली कांग्रेस ताप्लेजुङको जिल्ला तथा पालिका अधिवेशनबाट नेतृत्वमा जानेहरूको चर्चा बढ्दै गएको छ । 
जिल्ला सभापतिमा पूर्वजिल्ला सभापति केशवप्रसाद दाहाल, वर्तमान सचिव छविरमण गुरुङ र पूर्वसचिव गजेन्द्र तुम्याहाङले आकांक्षा देखाएका छन् ।

 

वर्तमान जिल्ला सभापति लीलादेवी बोखिमले कार्यकर्ता र साथीभाइको परार्मशपछि आफ्नो निर्णय आउने यसअघि बताएर नेतृत्वको होडमा कायमै रहेको संकेत गरिसकेकी छन् । जिल्ला सचिवमा नन्दकुमार ओझा र चक्र भट्टराईले उम्मेदवारी नै घोषणा गरिसकेका छन् भने डम्बर हाङ्गाम र कृष्ण बस्नेतको पनि चर्चा छ ।

 

पालिका र जिल्ला अधिबेशनको कार्यतालिका परिवर्तनका कारण अहिले आकांक्षीहरू थपघट हुने क्रम उत्तिकै छ । फुङलिङ नगरपालिकाको नगरसभापतिका लागि ४ जना आकांक्षी छन् ।

 

सुरेश सिंघक, युवराज बराल, घनेन्द्र गुरुङ र गोपाल गुरुङले सभापतिमा आफ्नो उम्मेदवारी रहने बताइसकेका छन् । सहमति बन्ने अवस्थामा ठाउँ छाडेर सर्वसम्मतको प्रयास गर्ने गुरुङले बताए ।

 

फक्ताङ्लुङ गाउँपालिकामा भद्रकुमार बोखिम र शेरबहादुर पतङ्वाले दावेदारी प्रस्तुत गरेका छन् । मिक्वाखोला गाउँपालिकामा भक्तबहादुर कार्की र पञ्चवीर थलङले सभापतिका लागि आकांक्षा देखाएका छन् । 


आठराई त्रिवेणी गाउँपालिकामा विश्वनाथ सिटौला पहिलाबाट आकांक्षी नै हुन् । अहिलेसम्म सिटौलाविरुद्ध कसैले उम्मेदवारी दिने गरी घोषणा नगरे पनि अन्तिम समय स्पर्धी थपिन सक्ने अनुमान छ । 

 

सबैभन्दा बढी आकांक्षी पाथीभरा याङ्बरक गाउँपालिकामा देखिएका छन् । पुराना कांग्रेस नेता हिमलाल मेन्याङ्वो र भीमबहादुर बस्नेतदेखि लिएर युवा पुस्ताका गणेश खिम्दिङ, राजकुमार कार्की र देवी कार्की आकांक्षी छन् ।

 

आकांक्षी बढी भए पनि सहमतिको प्रयासे जारी राखेको कांग्रेस क्षेत्रीय सभापति राम कङ्लिवाले जानकारी दिए । मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्काले यसअघि नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

 

सिरिजंगा गाउँपालिकाका भवानी दाहाल र लालकृष्ण चौहानले सभापतिमा दावेदारी प्रस्तुत गरेका छन् ।मैवाखोला र सिदिङ्वामा गाउँपालिको सभापतिका लागि पनि आकांक्षा जनाउने थुप्रै रहेको कांग्रेस स्रोतले जनाएको छ ।