close

आज सर्वदलीय बैठक बस्दै, संसदको गतिरोध हटाउनेबारे छलफल हुने 

आज सर्वदलीय बैठक बस्दै, संसदको गतिरोध हटाउनेबारे छलफल हुने 

Trulli
ADVERTISEMENT

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गरेको सर्वदलीय बैठक अपराह्न बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा अपराह्न २ः३० बजेका लागि बोलाइएको छ ।  सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्यलगायतका  समसामयिक विषयमा केन्द्रित रहने सभामुखको सचिवालयले जनाएको छ ।
 
छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा,  नेकपा (एमाले ) संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र ) का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाललाई डाकिएको छ ।  

यसैगरी जनता समाजवादी पार्टी ९जसपा० संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता महन्थ ठाकुर, जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान  पार्टी (नेमकिपा) का प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनलाई आमन्त्रण गरिएको छ ।
 
संसद्को चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद् बैठक प्रभावित हुँदै आएको छ । आइतबार पनि संसद् बैठक दुई पटक बसे पनि कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ । अवरोध हटाउन सभामुख सापकोटाले आइतबार प्रतिपक्षी दलका मुख्य सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए ।
 
एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन निषेधको माग गर्दै लगातार संसद्मा नाराबाजी गर्दै आएको छ ।