close

उदयपुरका सामुदायिक विद्यालय : ५५९ मध्ये ३४ वटा अझै खुल्न बाँकी

उदयपुरका सामुदायिक विद्यालय : ५५९ मध्ये ३४ वटा अझै खुल्न बाँकी

Trulli
ADVERTISEMENT

उदयपुर– कोभिड संक्रमणको दोस्रो भेरियन्टपछि बन्द उदयपुरका सामुदायिक विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको छ ।उदयपुरका ८ मध्ये लिम्चुङबुङ गाउँपालिकाबाहेक ७ स्थानीय तहमा विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरिएको हो ।

 

कोरोना जोखिमका बीच लिम्चुङबुङ गाउँपालिकाबाहेक त्रियुगा नगरपालिका, बेलका, चौदण्डीगढी, कटारी, रौतामाई गाउँपालिका, ताप्ली र उदयपुरगढीका ४ सय १० सामुदायिक विद्यालय, १ सय ८ संस्थागत विद्यालय, धार्मिक ६ र मदरसा १ गरी ५ सय २५ वटा सामुदायिक विद्यालयले पठनपाठन सञ्चालन गरेका हुन् । 


सरकारले अघि सारेको स्मार्ट लकडाउनको अवधारणाअनुसार सामुदायिक विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेको जनाएका छन् । ग्रामीण विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने ‘स्मार्ट लकडाउन’ अवधारणाको अभ्यास गरेर विद्यालय सञ्चालन भएका हुन् । 

 

कोरोना संक्रमणको जोखिम र प्रभावको आधारमा विद्यालय सञ्चालन गरिएको हो । बेलका कार्यपालिकाको निर्णयअनुसार नगर क्षेत्रका ५२ वटै सामुदायिक विद्यालय खुला गरी भौतिक रूपमा विद्यार्थी बोलाएर अध्ययन÷अध्यापन गरिएको छ ।

 

ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून छ । एउटा कक्षाकोठामा २०–२५ जना बढी विद्यार्थी नभएकाले कोरोनाको सक्रिय संक्रमण नभएको क्षेत्रमा विद्यालय खोल्न उपयुक्त हुने अभिभावकको तर्क छ । 

 

न्यून विद्यार्थी भएको, पातलो बस्ती भएका स्थानका विद्यालय पूरै खुला गरे पनि गाउँपालिका केन्द्र रहेका र अलि बढी विद्यार्थीको चाप भएका विद्यालयले भने दुई सिफ्टमा विद्यार्थीलाई बोलाएर कक्षा सञ्चालन गरेका छन् ।

 

शिक्षक, विद्यार्थी र समुदायमा संक्रमण देखिए तत्काल बन्द गर्ने र स्वास्थ्य मापदण्डको पूर्ण पालना गराई भौतिक रूपमै विद्यार्थी राखेर पढाइ सुरु गर्न निर्देशन दिइएको जनप्रतिनिधिले बताए ।

 

गत २२ वैशाखदेखि निषेधाज्ञा भएपछि घर फर्केका विद्यार्थी पुनः विद्यालयको सम्पर्कमा आएका छैनन । जिल्लाका निजी तथा संस्थागत विद्यालयले भने पूर्ण रूपमा पढाउन थालेका छन् ।

 


बेलका नगरपालिकाले प्रत्येक वडामा विपद्मा विद्यालय सञ्चालन समिति गठन गरी आफ्नो ठाउँको अवस्था हेरी विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको शिक्षा शाखा प्रमुख सुनील निरौलाले जानकारी दिए । उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्डको आधारमा पालिकाले विद्यालय सञ्चालन मापदण्ड निर्माण गरी कार्यपालिकाले स्वीकृत गरी विद्यालयमा पढाइ सुचारु गर्न निर्देशन दिएको छ ।’

 

स्मार्ट लकडाउनको अवधारणालाई ध्यानमा राखी भौतिक रूपमा विद्यालय सञ्चालन अनुमति दिइएको त्रियुगा नगरपालिकाको नगर शिक्षा शाखा प्रमुख एकबहादुर राउतले बताए । 

 

त्रियुगाले ५ वटा धार्मिक विद्यालयसहित ७२ वटा सामुदायिक विद्यालय र ४३ निजी तथा संस्थागत विद्यालयलाई सञ्चालन अनुमति दिएको छ । त्यसैगरी बेलका नगरपालिकाले ५२ सामुदायिक विद्यालय र निजी तथा संस्थागत १९ विद्यालयलाई सञ्चालन अनुमति दिएको हो । 

 

चौदण्डीगढी नगरपालिकाले नगर क्षेत्रका ४७ सामुदायिक विद्यालय, १ मदरसा र निजी तथा संस्थागत गरी २२ विद्यालयलाई भौतिक रूपमा विद्यार्थी उपस्थित गराएर कक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।

 

कटारी नगरपालिकाले सामुदायिक विद्यालय ८३ र निजी तथा संस्थागत विद्यालय २० वटालाई आइतबारबाट सञ्चालन गर्न अनुमति दिएको छ । नगरले तत्काल समस्या आए बन्द गर्ने सर्तमा विद्यालय खोलेको नगर शिक्षा शाखाका सूर्यबहादुर कार्कीले जानकारी दिए ।

 

ताप्ली गाउँपालिकाले पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई ४१ सामुदायिक विद्यालय आइतबारबाट सञ्चालन अनुमति दिएको शिक्षा शाखाका चन्द्रेश्वर शर्माले बताए । 

 

त्यसैगरी उदयपुरगढी गाउँपालिकाले ६० सामुदायिक विद्यालय, १ धार्मिक विद्यालय र ३ निजी तथा संस्थागत विद्यालयलाई सञ्चालन अनुमति दिएको शिक्षा शाखाका चक्रपाणि पाण्डेले जनाए ।

 

रौतामाई गाउँपालिकाले ६० सामुदायिक विद्यालय, १ निजी तथा संस्थागत विद्यालयलाई सञ्चालन अनुमति दिएको छ । लिम्चुङबुङ गाउँपालिकाले ३४ सामुदायिक विद्यालय आगामी १ असोजबाट सञ्चालन गर्ने तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुले बताए ।