close

दाङका सबै स्थानीय तहमा खुले विद्यालय 

दाङका सबै स्थानीय तहमा खुले विद्यालय 

Trulli
ADVERTISEMENT

दाङ–कोरोना संक्रमण दर कम भएपछि दाङका सबै स्थानीय तहले भौतिक रूपमै विद्यालय सञ्चालन गरेका छन् । गत वैशाखदेखि बन्द रहेका विद्यालय सोमबारबाट सञ्चालनमा आएका हुन् ।

 

दाङको घोराही, तुलसीपुर उपमहानगर, लमही नगरपालिकामा, गढवा, राजपुर, दंगीशरण पालिकाका सम्पूर्ण विद्यालय सोमबारदेखि सञ्चालनमा आएका छन् ।सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी भौतिक रूपमै उपस्थित भएर पढाइ सञ्चालन गरिएको हो । 

 

कोभिड–१९ का कारण विद्यालय आउन नपाएका विद्यार्थी यो शैक्षिक सत्रको पहिलो दिन कक्षामा उपस्थित भएर पढ्न पाउँदा खुसी भएको घोराही वडा नम्बर १८ मा रहेको माध्यमिक विद्यालय रझेनाका शिक्षक पद्मप्रसाद आचार्यले बताए । 

 


कोभिडको जोखिम कम भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्दै बस सेवासमेत चलाउने गरी विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिए । ‘स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको अनुगमन हुनेछ’, उनले भने । 

 

तुलसीपुरमा विद्यालयका बस भने सञ्चालन गर्न नदिइने उपमहानगरले आइतबार सूचना जारी गरेको थियो । तर, सोमबार बैठक बसी मंगलबारदेखि विद्यालयले बस सञ्चालन गर्न दिने निर्णय गर्ने उपमहानगर प्रमुख घनश्याम पाण्डेले बताए ।

 

उनले सामाजिक सञ्जालमा जानकारी गराउँदै लेखेका छन्, ‘बैठक बसेर निर्णय गर्छौं । विद्यालय आउने विद्यार्थीको सुविधाका लागि बस सञ्चालन गर्ने तयारीमा छौँ ।’

 

नगर कार्यपालिकाको विद्यालय खोल्ने निर्णयको सिफारिस जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रमा पठाई त्यहाँबाट अनुमोदन गरी विद्यालय खोल्ने निर्णय गरिएको हो ।