close

सप्तरीका स्थानीय तहमा बेरुजुको चाङ, राजविराजमा सर्वाधिक

सप्तरीका स्थानीय तहमा बेरुजुको चाङ, राजविराजमा सर्वाधिक

Trulli
ADVERTISEMENT

राजविराज– ९ वटा नगरपालिका र ९ वटै गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेको सप्तरीमा आर्थिक अनुशासनहीनता र बेथिति बढ्दो रहेको पाइएको छ ।

 

बेरुजु घटाउन सरकारले हरेक वर्ष चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । तर, यहाँका स्थानीय तहले गर्ने खर्चमा भने बेरुजुको सीमा नाघ्दै गएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औँ वर्षिक प्रतिवेदनमा उल्लेख छ । 

 

प्रतिवेदनअनुसार यहाँका ८ वटा स्थानीय तहमा बजेटको १० प्रतिशत बढी र १० वटा स्थानीय तहमा १० प्रतिशतसम्म बेरुजु छ । आर्थिक वर्ष २०७६/७७ सम्म सबैभन्दा बढी राजविराज नगरपालिकामा बेरुजु देखिएको छ भने सबैभन्दा कम बलानबिहुल गाउँपालिकामा छ ।


 
राजविराज नगरपालिकामा १ अर्ब ५८ करोड ४ लाख ३८ हजारमध्ये २२ करोड १८ लाख २४ हजार रुपैयाँ अर्थात् १४ दशमलव ०४ प्रतिशत तथा बलानविहुल गाउँपालिकामा ६५ करोड ९० लाख ७० हजारमध्ये १ करोड १७ लाख ३ हजार रुपैयाँ अर्थात् १ दशमलव ७८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।


 
यसैगरी कञ्चनरूप नगरपालिकामा १ अर्ब ३७ करोड ७८ लाख ७६ हजारमध्ये १७ करोड २४ लाख ९४ हजार रुपैयाँ अर्थात् १२ दशमलव ५२ प्रतिशत, शम्भुनाथ नगरपालिकामा १ अर्ब ६ करोड ३२ लाख ६४ हजारमध्ये १४ करोड १० लाख ६२ हजार अर्थात् १३ दशमलव २७ प्रतिशत बेरुजु देखिएको छ । 

 

खड्क नगरपालिकामा १ अर्ब २५ करोड ५० लाख ६ हजारमध्ये १३ करोड ४१ लाख ३ हजार अर्थात् १० दशमलव ६९ प्रतिशत, विष्णुपुर गाउँपालिकामा ६४ करोड ८८ लाख ७२ हजारमध्ये १२ करोड २१ लाख ७२ हजार अर्थात् १८ दशमलव ८३ प्रतिशत, छिन्नमस्ता गाउँपालिकामा ७० करोड ५२ लाख ७१ हजारमध्ये ११ करोड ९१ लाख ५६ हजार अर्थात् १६ दशलव ९० प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । 

 

तिलाठी कोइलाडी गाउँपालिकामा ९३ करोड १५ लाख २८ हजार रकममध्ये १० दशमलव १ प्रतिशत अर्थात् ९ करोड ३२ लाख ५९ हजार, राजगढ गाउँपालिकामा ८० करोड ३९ लाख २५ हजारमध्ये १० दशलव ३७ अर्थात् ८ करोड ३३ लाख ७४ हजार, बोदेबर्साइन नगरपालिकामा १ अर्ब १६ करोड ३४ लाख ५५ हजारमध्ये ५ दशमलव ७ प्रतिशत अर्थात् ५ करोड ८९ लाख २९ हजार रुपैयाँ बेरुजु देखिएको छ । 

 

तिरहुत गाउँपालिकामा ६१ करोड ७४ करोड १० हजारमध्ये ९ दशमलव ४७ प्रतिशत अर्थात् ५ करोड ८४ लाख ७१ हजार, डाक्नेश्वरी नगरपालिकामा १ अर्ब ६ करोड ७० लाख ७४ हजारमध्ये ४ करोड ९७ लाख १ हजार अर्थात् ४ दशमलव ६६ प्रतिशत, अग्निसाइर कृष्णासवरण गाउँपालिकामा ८५ करोड ८६ लाख ४८ हजारमध्ये ४ करोड ४४ लाख ३३ हजार अर्थात् ५ दशमलव १७ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा जनाइएको छ । 

 

हनुमाननगर कंकालिनी नगरपालिकामा १ अर्ब ३३ करोड ७४ लाख ७४ हजारमध्ये ३ दशमलव ६ प्रतिशत अर्थात् ४ करोड ९ लाख २२ हजार, सप्तकोसी नगरपालिकामा ८१ करोड १० लाख ८० हजारमध्ये ४ दशमलव ०७ प्रतिशत अर्थात् ३ करोड २९ लाख ७६ हजार, महादेवा गाउँपालिकामा ८६ करोड ९ लाख ६७ हजारमध्ये २ दशमलव ५९ प्रतिशत अर्थात् २ करोड २३ लाख रुपैयाँ बेरुजु छ । 

 

यस्तै, सुरुंगा नगरपालिकामा १ अर्ब १४ करोड ९८ लाख ५४ हजारमध्ये १ दशमलव ७२ प्रतिशत अर्थात् १ करोड ९८ लाख २८ हजार, रुपनी गाउँपालिकामा ६८ करोड ७१ लाख ५५ हजारमध्ये २ दशमलव १६ प्रतिशत अर्थात् १ करोड ४८ लाख ९ हजार र बलान बिहुल गाउँपालिकामा ६५ करोड ९० लाख ७० हजारमध्ये १ दशमलव ७८ प्रतिशत अर्थात् १ करोड १७ लाख ३ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।