close

सेनाले फड्के बनाइदिएपछि सञ्चालनमा आउन थाले मनाङका विद्यालय 

सेनाले फड्के बनाइदिएपछि सञ्चालनमा आउन थाले मनाङका विद्यालय 

Trulli
ADVERTISEMENT

मनाङ– लामो समयदेखि थलिएको मनाङको शैक्षिक क्षेत्र खुल्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमण घट्दै गएसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङका शैक्षिक क्षेत्रमा कोभिडसँगै बाढीपहिराले क्षति पुर्‍याउँदा ठप्प भएको पठनपाठन आइतबारदेखि खुला भएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ । 

 

दुई वर्षभन्दा बढी पठनपाठन रोकिएको मनाङको शिक्षा क्षेत्रमा बाढीपहिराले पनि क्षति पुर्‍याउँदा रोकिएको पढाई पुनः सञ्चालन भएको हो । मस्र्याङ्दी नदीमा असार १ र त्यसपछि आएको बाढीपहिराले भौतिक संरचना बगाएको थियो । अन्य भौतिक संरचनासहित सदरमुकाम चामेको लोकप्रिय माध्यमिक विद्यालयको पनि भवन एक चौथाइ भाग बगाएको थियो । 

 

विद्यालयको बाढीले बगाएको भागको संरक्षण र तटबन्ध गरिएपछि आइतबारदेखि खुलेको छ । नेपाली सेनाले विद्यालयसम्म आउजाउ गर्नका लागि फड्के बनाएपछि विद्यालय खुला गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिए । ‘विद्यार्थीलाई कसरी पढाउने भन्ने चिन्ता थियो । सेनाको श्रमदानमा फड्के र विद्यालयको नदीपट्टिको भागमा तारजाली लगाएर पर्खाल बनाइएपछि पठनपाठन सुरु गरेका छौँ’, प्रधानाध्यापक कोइरालाले भने । 

 

उनका अनुसार भौतिकरूपमा कक्षा सञ्चालन हुन नसकेपनि अर्धवार्षिक परीक्षा सकिएपछि वैशाख २० गतेदेखि विद्यालय पूर्णरूपमा बन्द थियो । आन्तरिक तथा बाह्य मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको उनले बताए  । गत वर्षको कोरोना सङ्क्रमणको जोखिम र वैशाख १६ पछिको निषेधाज्ञाले शैक्षिक क्षेत्र पूर्णरूपमा बन्द थिए । बाढीले विद्यालय भवन नै बगाएपछि विद्यालय सञ्चालन गर्ने अवस्थामा नै थिएन । ‘जसोतसो गरी आइतबारदेखि विद्यार्थीलाई विद्यालयमा बोलाइएको छ’, उनले भने, ‘नियमित कक्षा सञ्चालन भने असोज १ गतेदेखि हुनेछ ।’

 

बाढीले विद्यालयको कार्यालय, शिक्षक आवास, चार कक्षाकोठा, भोजन कक्ष (डाइनिङ हल) बगाएको थियो । मूल भवन मात्रै बाँकी रहेको थियो । खेल मैदान र विद्यालय आउने बाटोसमेत बाढीले बगाएको विद्यालयमा आइतबारदेखि विद्यार्थी आउन थालेका हुन् । नेपाली सेनाको श्रमदानमा विद्यालय आउजाउ गर्न काठको फड्के बनाउनुका साथै छेउछाउ तारबार लगाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पल्साङ लामाले बताए । उनका अनुसार आइतबार नाम दर्ता गरी हाजिर थालिएको र विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको छ । 

 

बाढीपहिराका कारण सडक सबै क्षतिग्रस्त भएपछि बेँसीशहरबाट हेलिकप्टरमार्फत पाठ्यपुस्तक ल्याइएको थियो । ‘विद्यालयका शिक्षकको एन्टिजेन विधिबाट कोरोना सङ्क्रमण परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि पठनपाठनमा सहभागी गराएका छौँ । मास्क र सेनिटाइजरको पूर्ण पालना गरिएको छ, समय समयमा विद्यालयमा सरकारले तोेकेको स्वास्थ्य सुरक्षाको पालना गरिएको छ कि छैन भन्ने विषयमा अनुगमन पनि गर्नेछौँ’, उनले भने । नर्सरीदेखि कक्षा १० सम्मका करिब ६५ विद्यार्थी पहिलो दिन विद्यालयमा उपस्थित भएको उनले बताए । एघार कक्षाको पठनपाठनका लागि भर्ना थालिएको छ । बाह्र कक्षाको परीक्षा तयारीमा रहेको छ । 

 

चामे गाउँपालिका–१ तिमाङको गौरीशङ्कर आधारभूत विद्यालयमा पनि पठनपाठन थालिएको छ । उक्त विद्यालय भने बाढीपहिराको जोखिममा परेको थिएन । शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायण रेग्मीले जिल्लाका शैक्षिक संस्थाहरु असोज १ गतेदेसख पूर्णरूपमा खुल्ने जानकारी दिए । चामे गाउँपालिकाभित्रका विद्यालय खुल्न थालेको र अन्य गाउँपालिकाका विद्यालय पनि छिट्टै खुल्ने उनले बताए । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले असोज १ गतेदेखि भौतिकरूपमा कक्षा सञ्चालन गर्न आदेश दिइएको बताए । 

 

विद्यार्थी कम हुनुका साथै कोरोना जोखिम पनि घट्दै गएकाले आइतबारदेखि विद्यालय सञ्चालनको अनुमति दिइएको लामिछानेले बताए । मनाङमा कक्षा १२ सम्मका दुईसहित चार माध्यमिक विद्यालय, कक्षा एकदेखि पाँच र एकदेखि आठसम्मका १० वटा आधारभूत विद्यालय र एकदेखि पाँच कक्षासम्मका १२ विद्यालय गरी जिल्लामा २६ वटा विद्यालय रहेका छन् ।