close

तिलोत्तमामा रहस्यमय मृत्यु प्रकरण : १० दिन बित्दा पनि उठेन भण्डारीको शव 

तिलोत्तमामा रहस्यमय मृत्यु प्रकरण : १० दिन बित्दा पनि उठेन भण्डारीको शव 

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको तिलोत्तमा वडा नम्बर ५ मा रहस्यमय मृत्यु प्रकरणपछि सुरु भएको आन्दोलन रोकिएको छैन । मणिग्रामकीक सीता भण्डारी १९ भदौमा आफ्नै घरको कोठामा मृतावस्थामा फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्टमा सीताले झुन्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले उनको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेको छ । बिहे भएको २ वर्षपछि आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा सीताको शव भेटिएको थियो ।

 

तिलोत्तमाको वडा नम्बर ५ की २७ वर्षीया सीता भण्डारी पौड्यालको मृत्यु भएको १० दिन बित्दा पनि उनको शव उठेको छैन । घटनाबारे उच्चस्तरीय छानबिन गरेर न्याय पाए मात्रै शव बुझ्ने सीताका बुबा हरिप्रसाद भण्डारीले बताए । आन्दोलन नरोकिएपछि प्रहरीले मृतकका श्रीमान् टीका पौड्यालसहित तिलोत्तमा वडा नम्बर ५ का वडा सदस्य मृतकका जेठाजु हरि पौडेल र पौडेलकी दिदी (आमाजु) विष्णुलाई नियन्त्रणमा लिएको छ ।

 

प्रहरीले जाहेरी लिन नमानेपछि तिलोत्तमा वडा नम्बर ८ मा रहेको माइती पक्षले दिनहुँजसो घटनाबारे सत्यतथ्य र न्याय माग्दै आन्दोलन चर्काइरहेका छन् ।अभियन्ता आयुषा कँडेलले सीताले न्याय नपाउन्जेल आन्दोलन नरोकिने बताइन् । अबको २ दिनमा निष्कर्ष निस्किने रूपन्देहीका सिडियोले आश्वासन दिएको उनले जानकारी गराइन् । नगरपालिकामा न्यायका लागि दबाब दिन जाँदा हस्तक्षेप गरेपछि तीन जना प्रहरी पनि घाइते भएको उनको भनाइ छ ।

 

शान्ति समाजको स्थलगत अवलोकन 

 

मानव अधिकारकर्मीको एक टोलीले घटनाबारे स्थलगत अवलोकन गरेर सरोकारवालासँग छलफल चलाएको छ । मानव अधिकार तथा शान्ति समाज रूपन्देहीका सभापति डिपी खनालले घटनाबारे सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिनुपर्ने बताए । टोलीमा शान्ति समाज रूपन्देहीका सचिव कपिल ज्ञवाली, सहसचिव कृष्ण पाण्डे, पूर्वसचिव तेजेन्द्र केसी तथा पदाधिकारी सहभागी थिए । माइतीले घटनास्थलको प्रकृतिअनुसार छोरीको हत्या भएको दाबीसहित किटानी जाहेरी दिएका थिए ।

 

तिलोत्तमामा सर्वदलीय बैठक 

 

तिलोत्तमा नगरपालिका वडा नम्बर ५ घर र वडा नम्बर ७ माइत भएकी सीता भण्डारी पौडेलको मृत्यु र यसको सत्यतथ्य छानबिनका लागि प्रहरी प्रशासनलाई गम्भीर अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन सर्वदलीय बैठकले माग गरेको छ । नगरपालिकामा बसेको सर्वदलीय बैठकामा नगरप्रमुख वासुदेव घिमिरे, उपप्रमुख जागेश्वरीदेवी चौधरी, कांग्रेसका हरिलाल न्यौपाने, एमालेका मोहन चापागाईं, नेकपा माओवादी केन्द्रका लक्ष्मण खनाल, सरोकार समाजका यज्ञ गैरे, वडा नम्बर ५ का वडाध्यक्ष चेतनारायण भण्डारीलगायतको सहभागितामा बैठक बसेको हो । बैठकले नागरिकको दैनिक काम हुने वडा कार्यालय घेराउ, तालाबन्दीले समस्या भएको र न्यायका लागि सबै प्रकारको सहयोग गर्न तयार भएको बैठकमा सहभागीले बताए ।