close

स्थानीय सरकार चिनाउन बालिकालाई बनायौँ पालिका अध्यक्ष 

स्थानीय सरकार चिनाउन बालिकालाई बनायौँ पालिका अध्यक्ष 

Trulli
ADVERTISEMENT

मोरङको बूढीगंगा गाउँपालिकाले मंगलबार परेको बाल दिवस अवसरमा एक दिनका लागि १६ वर्षीया बालिका सुस्मिता ऋषिदेवलाई अध्यक्ष बनाएको छ । बालिकालाई किन अध्यक्ष बनाइयो, यसले कस्तो अनुभव गरायो भन्ने विषयमा पालिका अध्यक्ष बालचन्द्र माझीले पालिका खबरसँग गरेको कुराकानी :

 


बालचन्द्र माझी, अध्यक्ष बूढीगंगा गाउँपालिका, मोरङ

 

बाल दिवस अवसरमा बालबालिकालाई पनि स्थानीय सरकार के हो र कसरी सञ्चालन हुन्छ भनेर बुझाउन हामीले एक दिनका लागि स्थानीय सुस्मिता ऋषिदेवलाई अध्यक्ष बनाएका हौँ । उनी अहिले १६ वर्ष पुगेकी छन् । कक्षा १२ मा अध्ययनरत छन् । हामीले पालिकाले कसरी बाल दिवस मनाउने भनेर छलफल गरेर यो आइडिया निकालेका हौँ ।

 

मंगलबार बिहानदेखि दिनभरका लागि उनी अध्यक्ष चुनिएकी छन् । उनलाई कार्यभार हस्तान्तरण गरेर नयाँ अध्यक्षको अध्यक्षतामा हामीले बोर्ड बैठक बस्यौँ । बोर्ड बैठकमा विभिन्न एजेन्डामाथि छलफल भए । कतिपय विषय छलफलपछि पास भए । त्यसपछि नगरले गर्ने शिक्षा र अन्य क्षेत्रको अनुगमन भयो । यसले अहिले संघीयताअनुसार स्थानीय, प्रदेश सरकारले कसरी काम गर्छन् भन्ने कुराको व्यावहारिक ज्ञान बालबालिकालाई दिन हामीले यस्तो अभ्यास गराएका हौँ । यसले बालबालिकालाई नेतृत्वको अभ्यास गर्ने मौका भएको छ ।

 

बालबालिकालाई उत्साह दिएको पाएको छु । नयाँ अध्यक्षले आफ्नो भूमिका राम्रोसँग वहन गरिन् । उनी दलित समुदायबाट पिछडिएको वर्गकी भए पनि एकदमै तीक्ष्ण छन् । अरू भएको भए बैठकमा बोल्दा लजाउने, धकधम मान्ने हुन्थे होला । तर, उनले प्रस्टसँग आफ्ना कुरा राखिन् । समग्रमा उनले हामीले दिएको भूमिका राम्रोसँग वहन गरेको देखियो । यो कार्यक्रमले बालबालिकलाई पनि उत्साह जगाएको छ । मलाई पनि खुसी लागेको छ ।