close

घोराही उपहानगरमा बाल दिवसको रौनक, उपमहानगरलाई बालमैत्री बनाइने

घोराही उपहानगरमा बाल दिवसको रौनक, उपमहानगरलाई बालमैत्री बनाइने

Trulli
ADVERTISEMENT

दाङ– ‘सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ नारासहित ५७औँ बाल दिवस दाङको घोराही उपहानगरको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले विविध कार्यक्रम गरी मनाएको छ । घोराही उपमहानगरभित्रका नगर बाल सञ्जालका पदाधिकारीको भेला गरेर कार्यक्रम सञ्चालन गरिएको हो । 

 

कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगर प्रमुख नरुलाल चौधरीले बालबालिका भविष्यका कर्णधार भएका कारण तिनको मागलाई सम्बोधन गर्दै कार्यक्रम अगाडि बढाएको बताए । उपमहानगरले बालमैत्री नगर बनाउन बालबालिकाको हितमा काम अगाडि बढाएको छ । नगरभित्रका विद्यालय बालमैत्री भए÷नभएको अनुगमन गर्ने गरेकोे छ । स्वास्थ्य, शिक्षाका क्षेत्रमा बालबालिकालाई विशेष प्राथमिकतामा राखेको चौधरीको भनाइ छ । 


घोराही उपमहानगरलाई २०७८ फागुनसम्म बालमैत्री उपमहानगर घोषणा गरिने लक्ष्य निर्धारण गरिएको छ । उपमहानगरलाई सबै सूचक र मापदण्ड पूरा गरेर बालमैत्री उपमहानगर घोषणा गर्ने सरोकार निकायबाट प्रतिबद्धता भएअनुसार १९ वटै पालिकामा काम अघि बढेको बताइएको छ । 

 

सेवा प्रवाहका २७ सूचक र संस्थागत विकासका १२ गरी ३९ वटा सूचक पूरा गर्नुपर्नेमा अहिलेसम्म अधिकांश सूचक पूरा भइसकेको उपमहानगरले बताएको छ ।
बाल अधिकारकर्मी विकिरण गौतमले बालमैत्री स्थानीय शासन, २०६८ देखि सुरु भएर बालमैत्री सूचकांक तयार भएको जानकारी दिए । बाल अधिकारभित्रका चार कुरा, बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई विशेष जोड दिनुपर्ने उनको धारणा छ । 

 

घोराही उपमहानगरको सामाजिक विकास शाखा संयोजक भरत अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासन शाखा प्रमुख वासुदेव आचार्य, अभए शर्मालगायतले आ–आफ्ना धारणा राखे । महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले कार्यक्रमको सहजीकरण गरेकोे कार्यक्रममा घोराही उपमहानगरभित्रका नगर सञ्जालका बालबालिकाको सहभागिता थियो ।