close

तीनै तहले एकअर्काको अस्तित्व स्वीकारे मात्रै संघीयता सफल

तीनै तहले एकअर्काको अस्तित्व स्वीकारे मात्रै संघीयता सफल

Trulli
ADVERTISEMENT

विश्वेश्वरप्रसाद ओझा (विपिन) 
नगरप्रमुख, अमरगढी नगरपालिका, डडेल्धुरा

 

विश्वेश्वरप्रसाद ओझा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर अमरगढीको नगरप्रमुख हुन् । देउवाको गढ मानिने क्षेत्रमै नेकपा एमालेबाट विजयी भएका विकासप्रेमीको पहिचान बनाएका ओझासँग अमरगढीले सुरु गरेका भौतिक पूर्वाधारलगायत विविध विषयमा गरिएको कुराकानी : 

 

कांग्रेस सभापति एवं प्रधानमन्त्रीको गृहनगरको नगरप्रमुख हुनुहुन्छ । हेभीवेट नेताको गृहनगरमा फरक दलबाट नगरप्रमुख निर्वाचित हुन कत्तिको गाह्रो भएको थियो ? 

 

संयोगले म निर्वाचित हुँदा वर्तमान सरकार प्रमुख शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुहुन्थ्यो । फरक पार्टीबाट प्रतिस्पर्धा गर्दा अलिकति असहज हुँदो रहेछ । मैले जनताको बीचमा राखेका एजेन्डालाई नागरिकले निर्वाचनमार्फत अनुमोदन गरिदिनुभयो । मलाई जिताउने नागरिकप्रति कृतज्ञ छु ।

 

निर्वाचित भइसकेपछि कुनै दबाब महसुस गर्नुभएन ? 


दबाब हुन्छ नै । फरक पार्टीबाट निर्वाचित भएको हुँदा देउवाको गृहनगरका कार्यकर्ता लेभलमा अहंकार, दम्भ हुँदो रहेछ नै । नियमित चुनाव जित्दै आएका प्रधानमन्त्री देउवाका कारण त्यसको प्रभावले काममा बाधा हुने संयोग चलिरहन्छ । हाम्रोमा त्यसको प्रभाव परेको छ ।

 

प्रधानमन्त्री देउवाकै क्षेत्रबाट नगरप्रमुख हुन सक्नुलाई तपाईंलाई केले काम गरेजस्तो लाग्छ ?

 
मैले लामो समय विद्यार्थी राजनीति गरेर यहाँ आएको हुँ । म डडेलधुरा क्याम्पसको स्ववियु सभापति भएँ । जनताको समस्या समाधान गर्नेतर्फ मेरो ध्यान त्यतिबेलैदेखि जान्थ्यो । त्यसैलाई आधार मानेर पनि मलाई नागरिकले निर्वाचित गरेजस्तो लाग्छ । 

 

अमरगढीले विकास निर्माणमा देशकै नमुना काम गरिरहेको छ । तपाईंको कार्यकालमा कति योजना पूरा होलान् ? 

 

स्वाभाविक रूपमै हामीले निर्वाचनताका जनताका बीचमा जनतालाई अनुभूति हुने गरी विकास निर्माण गर्ने भनेका थियौँ । पाँच वर्षे अल्पकालीन, १० वर्षे मध्यकालीन र २० वर्षे दीर्घकालीन गुरुयोजना निर्माण गरेर अघि बढेका छौँ । 

 

कोरोना महामारीका बेला सुदूरपश्चिमबाट विराटनगरसम्म पुगेर अक्सिजन बटुलेर संक्रमितको ज्यान जोगाउनुभयो । विपद्को व्यवस्थापनको तयारी कसरी गर्नुभएको छ ? 

 

डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नुपर्छ भनेर तत्कालीन सरकारसँग पहल गरियो । अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेसँगै डडेलधुरामा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गर्नुभयो भने १५ करोड १८ लाख रुपैयाँ विनियोजन गर्नुभएको थियो । त्यो रकमबाट आइसीयुदेखि अन्य थुपै्र उपकरण र अस्पतालको विकास गर्न सक्यौँ । अस्पतालमा देखिएका कयौँ समस्या सधैँका लागि समाधान भएका छन् ।


 
संघीयता कार्यान्वयनमा संघ र प्रदेश सरकारले खेलेका भूमिकाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?


 
हामी नौलो अभ्यासमा छौँ । केही काम जुन गतिका साथ अघि बढ्नुपर्ने हो, त्यो बढेको छैन । सहकार्य, सहअस्तित्वमा समस्या देखिए पनि हामी निरास हुनुपर्दैन । प्रशस्त सम्भावना छ । अरूभन्दा पनि प्रदेश सरकारले जिल्लामा विषयगतथ कार्यालय स्थापना गरेको छ । यो गलत हो । जनताका लागि काम गर्ने भएकाले सहकार्यमा अघि बढ्नु नै उत्तम हुन्छ जस्तो लाग्छ । साना योजना पनि स्थानीय तहबाटै अघि बढाउन सके राम्रो हुन्छ । 

 

तपाईंको दल एमाले विभाजित भयो । यसबाट नगरपालिकामा कत्तिको असर पर्ने ठान्नुहुन्छ ?


 
दल विभाजन मुलुकका लागि ठीक होइन । असर पर्छ नै । केही जनप्रतिनिधि बाहिरिनुभएको छ । हाम्रोमा एक जना वडाध्यक्ष मात्रै एकीकृत समाजवादीमा जानुभएको छ । हाम्रोमा पार्टीलाई खासै असर परेको छैन । हामी एकढिक्का छौँ ।