close

२७ करोड खर्चिएर खुला मञ्च निर्माण गर्दै बुटवल उपमहानगर

२७ करोड खर्चिएर खुला मञ्च निर्माण गर्दै बुटवल उपमहानगर

Trulli
ADVERTISEMENT

रूपन्देही– बढ्दो जनघनत्व र वस्ती विकासका कारण तराईमा खुला क्षेत्र मासिँदै गएका छन् । सार्वजनिक र संरक्षण गरेर राखिएका क्षेत्रमा पनि अनेक नाममा अतिक्रमण भएर साँघुरो भएको अवस्था छ ।  यस्तै अवस्थाको विश्लेषणसहित बुटवल उपमहानगरले सार्वजनिक जग्गा संरक्षण गर्दै बहुउपयोग गर्ने योजना बनाएको छ । सार्वजनिक जग्गालाई खुला क्षेत्रका रुपमा र बहुउपयोग हुनेगरि संरक्षण गर्न थालिएको छ । 

 

खुला ठाउँ अभाव महसुस भइरहेका बेला उपमहानगरले संरक्षण गर्दै खुला मञ्च निर्माणको योजना बनाएको छ । बुटवलमा खुला मञ्च निर्माणका लागि गुरुयोजना बनाइएको उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए । 

 

खुला मञ्चको प्रस्तावित करिब १४ बिघा क्षेत्रलाई समेटेर गुरुयोजना तयार भइसकेको छ । गुरुयोजनामा प्राविधिक तथा विषयविज्ञबाट थप केही सुझाव लिने क्रम चलिरहेको र अबको केही समयमै निर्माण सुरु गर्ने तयारी भइरहेको प्रमुख सुवेदीले जानकारी दिए । 

 

बुटवलको सबैभन्दा ठूलो र मुलुकमै सबैभन्दा धेरै जनघनत्व रहेको वडामै खुला मञ्च निर्माणको तयारी भइरहेको छ । उक्त वडाको रंगशाला नजिकैको जग्गालाई संरक्षण गर्दै खुला मञ्च बनाउन लागिएको हो । जनघनत्व, सवारी चाप र बाक्लो बस्तीका बीचमा रहेको खुला जग्गा संरक्षण पनि हुने र बहुउपयोग पनि हुने गरी गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीको भनाइ छ ।

 

बुटवल खुला मञ्चलाई कार्यक्रम गर्न, सभा समारोह गर्न, सम्मेलन गर्न मात्र नभई विभिन्न आपतकालीन अवस्थाको उद्धार स्थलका रूपमा समेत उपयोग गर्न सकिने गरी गुरुयोजनामा समेटिएको प्रमुख सुवेदीले जानकारी दिए । उपमहानगरले यसलाई बहुवर्षे योजनाका रूपमा अगाडि बढाउँदै छ । बुटवलको दीर्घकालीन गुरुयोजनामा परिकल्पना गरिएअनुरूपको खुला मञ्च निर्माण पनि हो । सुरुमै जग्गा संरक्षण, तारबार र व्यवस्थित बाउन्ड्री निर्माण अगाडि बढाइने र बाँकी कामलाई चरणबद्ध रूपमा लगिने प्रमुख सुवेदीले बताए ।

 

उपमहानगरका वरिष्ठ इन्जिनियर तथा सहरी विकास योजना महाशाखा प्रमुख सुमन श्रेष्ठ र अर्का वरिष्ठ इन्जिनियर गौतम रौनियार तथा डिपिआर बनाउने काममा खटिएकी इको इनोभेटिभ इन्जिनियररिङ प्रालि तिलोत्तमा रूपन्देहीकी सिनियर आर्किटेक इन्जिनियर प्रभा पाण्डेसहितको प्राविधिकको टोलीले अहिले प्रस्तावित गुरुयोजनामा सुझाव संकलन गरिरहेको छ ।

 

गुरुयोजनाअनुसारका काममा विषय विज्ञसँग सुझाव लिन खटिने टोलीलाई प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, वडाध्यक्ष रामचन्द्र क्षेत्री र उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीको समन्वय हुनेछ । 

 

यस्तो बन्नेछ बुटवल खुला मञ्च

करिब १४ बिघा क्षेत्रफलमा खुला मञ्च बन्ने र त्यहाँ १ लाख जना एकै पटक जम्मा हुन मिल्ने गरी खुला मैदान बनाइनेछ । मैदानलाई विशेष तारजाली र हरियालीले सजाइनेछ । मैदान प्रवेश एवं निकासका अलग–अलग द्वार र आपतकालीन द्वार बन्नेछन् । 


एकै पटक करिब ८ सय जनाले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक शौचालय बनाइनेछ । ८ लाख ९३ हजार ९ सय ७७ वर्गमिटर क्षेत्रफलमा खुलामञ्च र बाँकी क्षेत्रमा विशेष मञ्च, मञ्चसँगै पछाडि भागमा ८ वटा अलग–अलग प्रयोजनका कोठा, ३ तहका पार्किङ, प्राथमिक उपचार कक्ष बन्नेछन् । खुला मञ्चको दक्षिणमा तिनाउ करिडोर रहनेछ । करिडोर र खुला मञ्च बीचको भागमा हरियालीसहितको गार्डेन, फुटपाथ रहनेछ ।

 

खानेपानीका फिल्टरयुक्त ट्यांकीसमेत विभिन्न ठाउँमा राखिनेछ । यसको आर्किटेक डिजाइन गरिरहेकी इन्जिनियर पाण्डेले खुला र उपयुक्त क्षेत्र रहेकाले सक्दो डिजाइन गरेर संरचना निर्माण गर्न सकिने बताइन् । उनले बुटवलका लागि भविष्यमा बहुउपयोग गर्न मिल्ने र सौन्दर्य झल्काउने विशेष क्षेत्रका रूपमा खुला मञ्च निर्माण हुने प्रशस्त आधार रहेको दाबी गरिन् । 

 

१ लाख बढी अट्न सक्ने गरी खुला क्षेत्रको चौर रहनेछ भने सोही संख्यामा आउने मानिसले प्रयोग गर्ने सवारीसाधनलाई समेत ३ तहमा पार्किङ र आवागमनका विशेष रुट बनाइनेछ ।  भिआईपीले प्रयोग गर्ने सवारीसहित १६० वटा चार पांग्रे र करिब ६ सय जति दुई पाङ्ग्रे साना सवारीलाई पार्किङ गर्न मिल्नेछ । पब्लिक बस तथा सवारीलाई पनि खुला मञ्चको दुवैतिरबाट आवागमन मिल्ने गरी रुटको व्यवस्था मिलाइनेछ ।

 

खुलामञ्चको पहिलो चरणको कामका लागि निर्माण लागत करिब १ करोड रुपैयाँ अनुमान गरिएको छ । गुरुयोजनाअनुसारका सबै कामका लागि करिब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ भने ३ वर्षसम्म सबै चरणका निर्माण सक्ने लक्ष्य छ ।