close

नमोबुद्धको १० नम्बर वडाका किसानले पाए अनुदानमा कृषियन्त्र

नमोबुद्धको १० नम्बर वडाका किसानले पाए अनुदानमा कृषियन्त्र

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर १० का किसानलाई अनुदानमा आधुनिक कृषियन्त्र वितरण गरिएको छ । बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडाध्यक्ष रामकृष्ण अधिकारीलगायतले किसानलाई कृषियन्त्र वितरण गरे ।

 

कार्यक्रममा वडाका ८१ जना किसानलाई नमोबुद्ध नगरपालिका र वडा नम्बर १० बाट ट्रयाक्टर, स्प्रे पम्प, चापाकटर (भुसा काट्ने मेसिन), कुटानी तथा पिसानी मिललगायतका यन्त्र वितरण गरिएको हो ।  वडाका २६ जना किसानलाई पिसानी मिल तथा १ जना किसानलाई कुटानी मिल अनुदानमा वितरण गरिएको छ ।यस्तै, चापाकटर १९ वटा, स्प्रे पम्प १४ वटा, मकै छोडाउने मेसिन १३ वटा, ट्रयाक्टर ७ वटा, पानी तान्ने ठूलो मेसिन एक वटा वितरण गरिएको छ । 

 

वितरण गरिएका सामानमध्ये नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा १२ वटा स्प्रे पम्प, ७५ प्रतिशत अनुदानमा ६ वटा चापाकटर र ५० प्रतिशत अनुदानमा २ वटा ट्रयाक्टर वितरण गरिएको हो । बाँकी कृषियन्त्र वडा कार्यालयको आर्थिक वर्ष २०७७÷७८ र आर्थिक वर्ष २०७८/७९ को बजेटबाट ७० प्रतिशतसम्म अनुदानमा उपलब्ध गराइएको छ । कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले कृषि, व्यापार र पर्यटन, हाम्रो सशक्त अभियान नारालाई मूर्त रूप दिन आफूहरू लागिपरेको बताए । 

 

वडा नम्बर १० लाई भँैसीपालनको पकेट क्षेत्रको रूपमा विकास गर्दै अघिल्लो आर्थिक वर्षमा उन्नत जातका भैँसीका पाडी वितरण गरिएको बताउँदै नगर प्रमुख तिमल्सिनाले उत्पादित कृषि उपजको बजारीकरणको जिम्मा नगरपालिकाले लिने जानकारी गराए । कृषि क्षेत्रको विकासबाटै समृद्ध नमोबुद्ध नगरको सपना साकार पार्न सकिने भएकाले सोहीअनुसारको नीति तथा कार्यक्रम तय गरिएको तिमल्सिनाको भनाइ छ । नगर प्रमुख तिमल्सिनाले नगरमा वडा कार्यालय, स्वास्थ्य संस्थालगायतका भौतिक पूर्वाधारको निर्माणलाई समेत प्राथमिकताका साथ अघि बढाइएको बताए । 

 


कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले सीमित स्रोत–साधनबाट कृषि क्षेत्रको विकासका लागि अगाडि बढ्ने प्रयास गरिएको बताइन् । अनुदानमा प्राप्त सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्दै उनले उत्पादित सामग्रीलाई बजारसम्म लैजान सहज होस् भन्ने उद्देश्यले नगरका सबै क्षेत्रमा सडक निर्माणलाई प्राथमिकता दिइएको पनि जानकारी दिइन् । किसानले कतिपय अवस्थामा आफूले उत्पादन गरेका कृषि उपजको सही मूल्य पाउन नसकेकाले बेमौसमी तरकारी खेतीमा जोड दिन उनले आग्रह गरिन् ।

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले किसानलाई कृषिलाई व्यावसायिकीकरण गर्न थप उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यले अनुदानमा कृषियन्त्र र औजार वितरण गरिएको बताए । 

 

पछिल्लो समय कृषिमा युवाको आकर्षण बढ्दै गएको र यसको व्यावसायिकीकरण हुँदै गएको पौडेलको भनाइ थियो । छोटो अवधिमै कृषि क्षेत्रबाट मुलुकको आर्थिक उन्नति गर्न सबै पक्ष लाग्नुपर्ने भन्दै पौडेलले उत्पादन वितरण र बजारीकरण गर्न सके मुलकको आर्थिक विकास हुने दाबी गरे । 

 

वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले आफूहरू निर्वाचित भएर आएदेखि नै कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी विभिन्न सामग्री वितरण गरिँदै आएको सुनाए । आफ्नो वडाका सबै गाईभैँसीको बिमा गर्ने काम सम्पन्न भएको जानकारी दिँदै अधिकारीले अब बाख्रा तथा कृषि बालीको बिमाका विषयमा योजना बनाइरहेको बताए ।

 

कार्यक्रममा नमोबुद्ध नगरपालिका पशु विकास शाखाका प्रमुख चिरञ्जीवी शर्मा, कृषि विकास शाखाका प्रमुख रेशम दाहाल, सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष केदार प्रसाद अधिकारी, नेकपा एकीकृत समाजवादीका नेता पुष्कर तिमल्सिनाले अनुदानमा प्राप्त सामग्रीको सही सदुपयोग गर्दै कृषि क्षेत्रको विकासमा लाग्न किसानलाई आग्रह गरे ।