close

स्याङ्जामा ह्वात्तै बढ्यो कोदोको उब्जनी

स्याङ्जामा ह्वात्तै बढ्यो कोदोको उब्जनी

Trulli
ADVERTISEMENT

स्याङ्जा– कोभिड–१९ ले धेरैको जागिर खाइदिए पनि कृषि क्षेत्रमा यसको सकारात्मक प्रभाव परेको देखिएको छ । कोरोना संक्रमणका कारण धेरैको रोजगारी गुम्नुका साथै आर्थिक अवस्था खस्कँदो अवस्थामा भए पनि कृषि क्षेत्रमा भने यसको सकारात्मक प्रभाव बढ्दै गएको पाइएको हो ।

 

स्याङ्जामा कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा गएका गाउँघरमा फर्किनासाथ लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएपछि फुर्सदको समय गाउँघरमा बाँझो रहेको जमिनमा खेतीपाती गरेर सदुपयोग गर्दा उत्पादनमा वृद्धि हुँदै जान थालेको छ । किसानका लागि बढी मिहिनेत लाग्ने कोदो खेतीमा यो वर्ष वृद्धि भएको छ । मिहिनेत बढी लाग्ने र उत्पादन कम हुने भन्दै विस्तारै कम हुँदै गएको कोदो खेतीको उत्पादन यो वर्ष बढेको हो ।

 

स्वास्थ्यका लागि राम्रो र पोषिलो मानिएको कोदो लगाउन बढी मिहिनेत गर्नुपर्ने तथा उत्पादन सोचेजति राम्रो नहुने भन्दै केही वर्षदेखि कम मात्रामा लगाउने गरिएको थियो । किसानले यो वर्ष भने कोरोना संक्रमणका कारण बाहिर काममा भएका परिवारका सदस्यसमेत खेतीबाली लगाउने समय घरमै हुँदा काम गर्ने जनशक्ति प्रशस्त भएकाले गाउँघरमा बाँझो रहेको बारीमा समेत कोदो खेती गरेकाले यो खेती विस्तार भएको हो ।

 

कोदो खेतीका लागि मिहिनेत बढी लाग्ने भए पनि स्वास्थ्यवद्र्धक खाद्यबालीका रूपमा रहेको कोदो खेतीमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । किसानले यो वर्ष १६ हजार ५०० हेक्टर क्षेत्रफलमा कोदो खेती गरेको उनले जानकारी दिए । अन्य खेतीबालीलाई बाँदरले बढी खाएर क्षति पु¥याउने भए पनि कोदोमा बाँदरले समेत कम क्षति पु¥याउने भएकाले गत वर्षको तुलनामा यो वर्ष किसानले धेरै जमिनमा कोदो लगाएका छन् । 

 

हमालले भने, ‘मकै, गहुँलगायत बालीमा बाँदरका साथै जंगली जनावरले बढी क्षति पु¥याउने भएकाले यो खेतीमा बाँदरले पनि त्यति धेरै क्षति पु¥याउँदैन । कोदो खेती वृद्धि भएको छ । यो खेती बढ्नुमा कोरोना संक्रमणका कारण जनशक्तिको समेत अभाव नभएकाले परिवारका सदस्य जम्मा भएको समयलाई समेत किसानले सदुपयोग गरेको देखिन्छ ।’ गत वर्षको तुलनामा यस वर्ष जिल्लामा उत्पादन वृद्धि हुनेसमेत उनले बताए ।

 

आर्थिक वर्ष २०७७/७८ मा १६ हजार ४०७ हेक्टर जमिनमा कोदो खेती गरिएकामा आव २०७८/७९ मा १६ हजार ५०० हेक्टर जमिनमा कोदो खेती लगाइएको छ ।  गत वर्ष १८ हजार ४७ मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष कोदोको उत्पादन वृद्धि हुने अनुमान ज्ञान केन्द्रको छ ।  यो वर्ष १८ हजार १५० मेट्रिक टन कोदो फल्ने अनुमान रहेको प्रमुख हमालले बताए । गत वर्ष रैथाने बाली उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत कोदोको बिउ, सिँचाइ, व्यवस्थापनलगायतमा किसानलाई सहयोग गरेको छ । यो वर्ष पनि बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गरिने कार्यक्रम रहेको ज्ञान केन्द्रले जनाएको छ । 

 

जाडो मौसममा कोदोको रोटी, ढिँडोलगायत परिकार खाँदा राम्रो हुने भएकाले कोदो खेतीको विस्तार गर्नुपर्ने चापाकोट नगरपालिका वडा नम्बर १० की सावित्रा भट्टराईले बताइन् । गाउँघरमा कोदोको परिकारमा त्यति धेरै चासो नदिइए पनि सहर बजारमा भने यसको माग बढ्न थालेको पाइन्छ । पर्यटकीय गाउँमा त कोदोको परिकारले पर्यटकको स्वागत गर्ने क्रम बढ्दै गएको पाइन्छ । 

 

गाउँ घुम्न आउने पर्यटकलाई स्थानीय उत्पादन कोदोको परिकारले स्वागत गर्ने गरेको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ मा रहेको प्रगति मैदान चोहानथोक होमस्टेका सल्लाहकार हीराबहादुर गाहाले बताए ।  अन्य बालीको समस्या लिएर किसान ज्ञान केन्द्रमा पुग्ने गरे पनि कोदो बालीमा कुनै समस्या तथा गुनासो नआउने गरेको केन्द्रको भनाइ छ । 

 

पछिल्लो समय बजारीकरणले गर्दा गाँउघरका कोदो खेती हुने बारी बाँझै हुन थालेका छन् । अन्य बालीको तुलनामा कोदोलाई धेरै मिहिनेत चाहिने, आवश्यक जनशक्ति पनि नपाउने कारण अन्य बालीको तुलनामा कोदो खेती भने कमै हुने गरेको छ । स्वास्थ्यका दृष्टिकोणले कोदोको परिकार लाभदायी हुने भए पनि गाउँघरमा यसको प्रयोग कम हुँदै गएको र बरु सहर बजारका होटल, रेस्टुराँमा कोदोको परिकार पाक्ने गरेको तथा बजार क्षेत्रमा कोदोको परिकारको उपयोग बढेको पाइन्छ ।