close

पालिका खबरको जिम्मेवारी : निरन्तर खबरदारी 

पालिका खबरको जिम्मेवारी : निरन्तर खबरदारी 

Trulli
ADVERTISEMENT

पालिका खबर मिडिया हाउस प्रालिले सञ्चालन गरेको न्युज पोर्टल ‘पालिकाखबर डटकम’ र एभिन्युज टेलिभिजनबाट हरेक दिन बेलुकी ६ देखि ७ बजेसम्म प्रसारण हुने ‘पालिकाखबर न्युज बुलेटिन’ पहिलो वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको छ । कोभिड महामारीको पहिलो लहर केही मत्थर भएसँगै अघिल्लो वर्ष सुरु भएको पालिका खबर दोस्रो वर्षमा प्रवेश गर्दा महामारीको दोस्रो लहर घट्दै जाने संकेत देखिएको छ । 


कोरोना महामारीले जनजीवनका विविध पक्षलाई गाँजेका बेला नयाँ सञ्चार माध्यमको सुरुआत गर्नु निकै चुनौतीपूर्ण थियो । स्थानीय सरकारका गतिविधिलाई केन्द्रमा राखेर सुरु गरिएको पालिका खबरले एक वर्षे अवधिमा के गर्न सक्यो, के गर्न सकेन ? त्यसको मूल्यांकन आदरणीय पाठकलाई जिम्मा दिन चाहन्छौँ । निश्चित क्षेत्र र विषयलाई केन्द्रमा राखेर गरिने ‘विशिष्टीकृत पत्रकारिता’ का आफ्नै चुनौती र सम्भावना छन् । हामीले सम्भावनाका नयाँ ढोका खोल्न र चुनौतीलाई सामना गर्ने आँट गरेरै पालिका खबर सञ्चार अभियान सुरु गरेका हौँ । एक वर्षको अवधिमा पालिका खबरप्रति आदरणीय पाठक एवं स्थानीय तहका जनप्रतिनिधिले दर्शाउनुभएको सद्भाव र मायाले हामी उत्साहित छौँ । 


नेपालमा करिब ६ दशक पहिला स्थापना गरिएका स्थानीय निकाय २७ फागुन २०७३ बाट स्थानीय तहमा रुपान्तरण भएका हुन् । संविधानले व्यवस्था गरेअनुसार राज्यको पुनर्संरचना गर्ने क्रममा ७५३ स्थानीय तह कायम गरिएका छन् । संविधानमा अधिकार किटान गरिएका संघ, प्रदेश र स्थानीय सरकार क्रियाशील छन् । 
संघीय सरकारले जसरी राजनीतिक, आर्थिक, न्यायिक एवं प्रशासनिक अधिकार प्रयोग गरेर शासन चलाएको हुन्छ, त्यसैगरी स्थानीय सरकारले पनि तिनै अधिकार प्रयोग गर्न सक्ने व्यवस्था संविधानमा लिपिबद्ध छ । स्थानीय तह नागरिकलाई सेवा पुर्‍याउने  सबैभन्दा नजिकको सरकार हो । जनताको घरदैलोमा पुग्न सक्ने स्थानीय सरकार जति बढी जिम्मेवार हुन्छ, उसले गर्ने ‘डेलिभरी’ मा थप निखार आउँदै जाने हो । पालिका खबरले नागरिकको नजिक रहेको सरकारलाई निरन्तर खबरदारी गर्दै आएको छ । शासकीय संरचनामा व्यापक फेरबदल भइसकेपछि पनि नागरिकले केन्द्रीकृत शासन प्रणाली भएको बेलामा जस्तै सास्ती भोग्नुपर्ने अवस्थाको चिरफार गर्न पालिका खबरले बहस पैरवी गरिरहेको छ । 

 

देश संघीय संरचनामा गइसकेपछि पनि शासनसत्तामा बस्नेहरूमा केन्द्रीकृत मानसिकता जबर्जस्त देखिन्छ । संविधानमा कुन तहका सरकारको अधिकार के हो र कसले के गर्ने भन्ने स्पष्टसँग लेखिए पनि त्यसको अक्षरशः कार्यान्वयन गर्ने सवालमा संघीय सरकार इमानदार ढंगले प्रस्तुत भइरहेको छैन । तीनै तहका सरकारको पहिलो कार्यकाल सकिने बेलासम्म पनि संविधानले दिएका अधिकार प्रयोग गर्न आवश्यक पर्ने कानुन निर्माणमा संघीय सरकारले गैरजिम्मेवार व्यवहार प्रकट गरिरहेको छ । 


स्थानीय तहका जनप्रतिनिधि पहिलो कार्यकालको अन्तिम वर्षमा छन् । स्थानीय सरकारले गरेका कामको सूक्ष्म मूल्यांकन गर्ने बेला पनि हो, यो । स्थानीय सरकारका कामको मूल्यांकन सुरु गर्दा संघ तथा प्रदेश सरकारले संविधानतः आफूलाई इमानदार ढंगले प्रस्तुत गर्न सके कि सकेनन् भनेर पनि हेर्नुपर्ने हुन्छ । संघीयतालाई संस्थागत गर्न अहोरात्र खटिनुपर्ने तीनै तहका सरकार राजनीतिक किचलोमा रुमलिइरहेको देखिरहेका छौँ । 

 

स्थानीय सरकारलाई बलियो र प्रभावकारी बनाउन सञ्चार माध्यमका रूपमा गर्नुपर्ने खबरदारीमा पालिका खबर आगामी दिनमा अझ खरो रूपमा उत्रने विश्वास दिलाउन चाहन्छौँ । स्थानीय सरकार बलियो र सक्षम हुँदा संविधानले परिकल्पना गरेको समावेशी प्रतिनिधित्व, क्षेत्रगत समानता, आर्थिक समानतार प्राकृतिक स्रोत–साधनको समुचित पारदर्शी बाँडफाँट सम्भव हुन्छ भन्नेमा हामी प्रस्ट छौँ । संघले प्रयोग गरिरहेका अधिकार स्थानीय तहमार्फत जनताको घरदैलोमा पुग्दा नै संघीयताको जरो बलियो हुने हो । नागरिकलाई छिटो र प्रभावकारी डेलिभरी गर्न सक्ने स्थानीय सरकारका राम्रा कामको जस अन्ततः संघीय सरकारले नै पाउने हो । त्यसैले संविधानले दिएका अधिकार प्रयोग गर्नबाट स्थानीय तथा प्रदेश सरकारलाई रोक्नेभन्दा पनि संविधानले किटेका अधिकार किन प्रयोग नगरेको भन्दै संघीय सरकारले घच्घच्याउनैपर्छ । 

 

पालिका खबर सञ्चार अभियान संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सवालमा आउने अवरोधको विपक्षमा उभिने छ । हामी स्थानीय सरकारका चासो र सवालमा केन्द्रित भएर तीन तहका सरकारबीच समन्वय गराउने सेतुका रूपमा अघि बढ्ने छौँ । स्थानीय सरकारबाट जनताले पाउनुपर्ने सुविस्ताका बारेमा आवाज उठाउने छौँ । स्थानीय सरकारहरूले गर्ने बेथितिमाथि पालिका खबरको निरन्तर निगरानी रहने छ । 


पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा म आदरणीय पाठक, स्थानीय तहदेखि संघसम्मका जनप्रतिनिधि, प्रदेश, जिल्ला र स्थानीय तहमा रहनुभएका खबरदाता तथा संयोजकहरू, लेखक, सम्पादकीय सहकर्मी, कर्मचारी, शुभेच्छुक एवं विज्ञापनदाता सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । कोरोना महामारीका कारण पहिलो अंक प्रकाशन भएर रोकिएको ‘पालिका खबर म्यागजिन’ परिस्थिति सहज भएपछि पुनः प्रकाशन गरिने छ । ७७ वटै जिल्लाका स्थानीय रेडियोमार्फत ‘पालिका खबर’ न्युज बुलेटिन प्रसारण गर्ने योजनालाई पनि कार्यान्वयन गर्ने छौँ । दोस्रो वर्ष प्रवेशको अवसरमा पालिका खबरलाई थप परिस्कृत र परिमार्जन गर्दै अघि बढाउने प्रण गर्दछु । 

 

शिवप्रसाद अधिकारी 
अध्यक्ष, पालिकाखबर मिडिया हाउस प्रालि