close

पाथीभरा याङ्बरकले तोक्यो युवादेखि वृद्धसम्मको परीक्षा मिति

निरक्षरलाई साक्षर बनाउने पालिकाको योजना

पाथीभरा याङ्बरकले तोक्यो युवादेखि वृद्धसम्मको परीक्षा मिति

निरक्षरलाई साक्षर बनाउने पालिकाको योजना

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले १० असोजबाट १५ देखि ६० वर्ष उमेर समूहका साक्षर हुने क्रममा रहेका व्यक्तिको परीक्षा सञ्चालन गर्न पालिकाभरका सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ । पालिकाका सामुदायिक विद्यालयको सेवा क्षेत्रमा रहेका १५–६० वर्षभित्रका निरक्षरको परीक्षा लिन गाउँपालिकाको शिक्षा शाखाले पालिकाभरिका सामुदायिक विद्यालयलाई परिपत्र गरेको हो । 

 

शिक्षा अधिकृत लासाङ तामाङका अनुसार कोभिड–१९ संक्रमणका कारण यसअघि रोकिएको यो परीक्षा अहिले सञ्चालन गर्न लागिएको हो । उनका अनुसार परीक्षा सञ्चालनका लागि सम्बन्धित विद्यालयमा परीक्षा केन्द्र र सो विद्यालयका प्रधानाध्यापकलाई परीक्षाको केन्द्राध्यक्ष तोकिएको छ ।

 

केन्द्राध्यक्षले विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक, अभिभावक संघका अध्यक्षको रोहवरमा प्रश्नपत्र सार्वजनिक गरी परीक्षा सञ्चालन गर्नुपर्नेछ । उत्तरपुस्तिक परीक्षण गराई नतिजा पालिकाको शिक्षा शाखामा बुझाउनुपर्नेछ ।

 

सरकारले अहिले प्रत्येक स्थानीय तहलाई साक्षर पालिका घोषणा गर्ने अभियान थालेको छ । १५–६० वर्ष उमेर समूहका कम्तीमा ९५ प्रतिशत व्यक्ति साक्षर भए गाउँपालिकालाई साक्षर पालिका घोषणा गर्न सकिने गरी स्थानीय तहले अभियान चलाइरहेका छन् । त्यसका लागि पालिकाले यो समूहका मानिसको तथ्यांक संकलन गर्ने, साक्षर बनाउने र साक्षर भएको प्रमाणस्वरूप तिनको परीक्षा लिनेछन् ।

 

यदि १५–६० वर्ष उमेर समूहका कम्तीमा ९५ प्रतिशत व्यक्ति साक्षर भए उक्त गाउँपालिकालाई साक्षर पालिका घोषणा गर्ने र साक्षर हुन छुटेका ५ प्रतिशतलाई समेत विभिन्न कार्यक्रममार्फत साक्षर अभियानमा समावेश गर्ने गरी कार्यक्रम सञ्चालन भइरहेका छन् ।

 

आठराई त्रिवेणी गाउँपालिकाले यही सूचकका आधारमा पालिकालाई साक्षर घोषणा गरी साक्षर हुन बाँकीलाई निश्चित अवधिमा साक्षर बनाउने योजनासमेत सार्वजनिक गरिसकेको छ ।