close

भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा

भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा

Trulli
ADVERTISEMENT

लन्डन–बेलायतको ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रस प्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । 

दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको अवसरमा उनको सम्मानस्वरूप नाम उल्लेख गर्ने उक्त रेलसेवाले जानकारी दिएको छ ।

दोस्रो विश्वयुद्धमा बहादुरी देखाएका पुन भिसी पाउँदा केवल २१ वर्षका थिए । उक्त रेलसेवा सञ्चार शाखाका एक अधिकृत डान पान्सले यसअघि अन्य व्यक्तिहरूलाई सम्मान गरेकामा यसपटक तुलबहादुर पुनलाई सम्मान गरिने बताउँछन् । 

गोर्खा वेलफेयर ट्रस्टका एडम वेन्थमले गोर्खा सैनिकले बेलायतका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । बर्मामा मात्रै सात वटा भिसी प्राप्त भएको भन्दै भिसी पाउनेमा तुलबहादुर पुन पनि एक रहेको उनले उल्लेख गरे । उनले भने, ‘हाम्रो देशले गोर्खाहरूको धेरै ऋण तिर्न बाँकी छ । यसलाई सच्चा सम्मानका रूपमा लिएका छौँ ।’ 

गोर्खाहरूको मागलाई बेलायत सरकारसामु राखी त्यसलाई निरन्तर रूपमा दबाब दिने ट्रस्टका संरक्षक जोअना लुम्लेले आफ्ना बुबासँग बर्मामा एकसाथ लडेका भिसी तुलबहादुर पुन र लछिमान गुरुङसगँको भेट कहिलै भुल्न नसक्ने र स्वतन्त्रताका लागि आफ्नो जागिरभन्दा माथि उठेर गरेको योगदानप्रति बेलायतीहरू ऋणी रहेको बताइन् ।

जीवनको पछिल्लो समय पुनले भूपू गोर्खाहरूको परिवारलाई बेलायतमा बस्न दिनुपर्छ भन्ने अभियानको नेतृत्व गर्ने लुम्लेसँगै अग्रपंक्तिमा रहेर काम गरेका  थिए ।

पुनको जन्म २३ मार्च १९२३ मा म्याग्दी जिल्लामा भएको थियो भने मृत्यु २० अप्रिल २०११ मा पर्वतमा भएको थियो ।