close

परीक्षा समितिको त्रुटिले विवादित बन्यो प्रतिष्ठान 

परीक्षा समितिको त्रुटिले विवादित बन्यो प्रतिष्ठान 

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले माग गरेको करार सेवाका नर्सिङ स्टाफ नर्सका विषयमा परीक्षा समितिले त्रुटि गरेपछि विवादित बनेको छ । आवेदन सूचीमा नाम नभएका परीक्षार्थीको पहिलो सूचीमै नाम निकालिएपछि विवाद सतहमा आएको हो । गत ३० साउनमा गरिएको सार्वजनिक सूचनाअनुसार प्रतिष्ठानमा २५ जना नर्स करार सेवामा माग गरिएकामा १६३ जनाले आवेदन दिएका थिए । 

 

त्यसबाट पनि प्रतिष्ठानले सार्वजनिक गरेको आवेदन सूचीमा सपना न्यौपाने नभएर सपना नेपालीको नाम सूचीमा प्रकाशित भयो । यसरी लिखितमा नाम निकाल्न सफल परीक्षार्थीको नाम भने सूचीमा उल्लेख छैन ।  प्रष्ठिानले २६ भदौमा शनिबार लिखित परीक्षा लिएको थियो । 

 

प्रष्ठिानले यस पटक परीक्षा कोडिङ र डिकोडिङ प्रणालीबाट सञ्चालन गरेको थियो । प्रतिष्ठानले परीक्षा मर्यादित बनाउनकै लागि कोडिङ प्रणाली लागू गरेको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए । उनले भने, ‘कुनै पनि परीक्षार्थीलाई हामीले लिएको परीक्षाको नतिजामा चित्त नबुझे ४८ घन्टाभित्र रि–चेकका लागि निवेदन दिने व्यवस्था गरेका थियौँ ।’ महतका अनुसार रि–चेकका लागि ८ जना विद्यार्थीले निवेदन दिएका छन् । ८ जनामध्ये एक जना सपना न्यौपाने रहेको उनले बताए ।

 

सपना न्यौपानेको परीक्षा पेपर रि–चेक गर्दा एक नम्बरमा नाम आउन सफल भएको उनको दाबी छ । सदीक्षा रोकायाको र सपना न्यौपानेको चेकजाँच गर्दा डिकोडिङमा भुलवश त्रुटि भएको स्वीकारे । रजिस्ट्रार महतले सपना न्यौपाने अब्बल विद्यार्थी भएकाले अन्याय नहोस् भनेरै नतिजा पुनः संशोधन गरिएको हो । यसरी मौखिक परीक्षा २९ भदौमा लिएर अन्तिम नामावलीमा उनको नाम पहिलो नम्बरमा समावेश भएको हो । त्यहाँ उनलाई एसएन ०५७ कोडिङ दिइएको छ, जुन कोडिङ लिखित परीक्षामा सदीक्षा रोकायाको हो ।

 

आवेदकको सूचीमा सपना न्यौपाने नामै छैन भने संशोधित नतिजामा उनले लिखितमा नाम निकालेको भन्दै समावेश गरिएको छ, जहाँ उनलाई एसएन ०३९ कोडिङ दिइएको छ । 

 

परीक्षा समितिको कोडिङ र डिकोडिङ नम्बरमा मानवीय त्रुटिकारण यस्तो भएको दाबी महतको छ । उनले भने, कुनै पनि नियत नभएर परीक्षा समितिको ‘प्राविधिक त्रुटि हो । तर, यस विषयमा सामाजिक सञ्जालमा आलोचना भएको छ ।’  त्यस्तै, सदीक्षा रोकायाका बुबा दलसिंह रोकायाले यसअघि पनि सदीक्षाले प्रष्तिठानको लिखित परीक्षामा तीन पटक नाम निकाल्दा मौखिकमा फालिएको बताए । 

 

उनले भने, ‘प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा राजनीतिक भर्ती केन्द्र बनेको छ । हामीजस्ता पहुँचविहीनका छोराछोरीको पढाइले महत्त्व पाउँदैन । प्रतिष्ठान निष्पक्ष हुन्थ्यो भने लोकसेवा आयोगलाई परीक्षा लिने जिम्मेवारी दिन सक्थ्यो । महिनामा ५०÷५० हजार रुपैयाँसम्म तलब खाने कर्मचारीका लागि लोकसेवा आयोगको प्रतिनिधिको उपस्थितबिना परीक्षा लिइनु गलत हो ।’ प्रतिष्ठान आलोचित भएको भने यो पहिलो पटक होइन । यसअघि पनि पटक–पटक विभिन्न कारणले परीक्षा विवादमा पर्दै आएको थियो । 

 

सपना न्यौपानेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माग गरेको करार सेवाका नर्सिङ स्टाफमा आवेदन दिएको बताइन् । उनले भनिन्, ‘आवेदन सूचीमा मेरो नाम सपना नेपाली भएको थियो र एसएन ०३९ थियो । प्रवेशपत्रमा सपना न्यौपाने नै भएकाले परीक्षा दिएकी हुँ ।’  यो विषयमा छलफल गर्दा आवेदन सूचीमा सपना नेपाली भए पनि फरक नपर्ने परीक्षा समितिले भनेपछि परीक्षा दिएको उनको दाबी छ ।  


‘मैले परीक्षा दिँदा राम्रो गरेकी थिएँ तर पनि रिजल्टमा नाम आएन’, उनले थपिन्, ‘परीक्षाको नतिजामा चित्त नबुझे ४८ घन्टाभित्र रिचेकका लागि निवेदन दिन सकिने व्यवस्था रहेछ । परीक्षा पेपर रिचेकका लागि निवेदन दिएकी हुँ ।’ निवेदनपछि पुनः प्रष्ठिानले संशोधित प्रकाशित सूचनामा आप्mनो समावेश गरेको उनले बताइन् ।  उनले भनिन्, ‘मेरो बागमती प्रदेशमा अन्तर्वार्ता भएकाले छिटो पुग्नुपर्ने थियो । सबैभन्दा अगाडि मौखिक परीक्षा दिएर आएकी हुँ । यसमा मेरो कुनै कमजोरी छैन ।’