close

संघले बनाएका कानुन स्थानीय सरकारसँग बाझिए

संघले बनाएका कानुन स्थानीय सरकारसँग बाझिए

Trulli
ADVERTISEMENT

रूपन्देहीको सैनामैना नगरपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिएको छ । नगरपालिकाले नगरबासीको हित हुने कृषिदेखि शिक्षासम्मका कार्यक्रमलाई बढ्ता जोड दिएको छ । नगरप्रमुख चित्रबहादुर कार्कीसँग चार वर्षको अवधिमा नगरपालिकाले गरेको उपलब्धि, पालिकाले सुरु गरेका नयाँ योजनालगायतमा केन्द्रित रहेर गरिएको कुराकानी :

 

सैनामैनाले भौतिक पूर्वाधारका क्षेत्रमा अगाडि सारेका महत्त्वपूर्ण योजनामध्ये हालसम्म कुन– कुन सम्पन्न भए ?

 

५७ किलोमिटर चक्रपथ र सात वटा पुल यो आर्थिक वर्ष अन्त्यसम्म सम्पन्न हुने गरी काम भएको छ । त्यसैगरी सम्पूर्ण ११ वडामा वडा कार्यालय निर्माण, स्वास्थ्य चौकी नभएका ७ वडा कार्यालयमा स्वास्थ्य चौकी र सहरी स्वास्थ्य क्लिनिक निर्माण गरेका छौँ । १५ शय्याको अस्पताल र ५० शय्याको ट्रमा सेन्टर निर्माण गरिरहेका छौँ । विद्यालयमा गुणस्तर सुधारका काम अघि बढेका छन् । विगतमा भएका स्तरोन्नतिका सडकलाई चक्रपथसँग जोड्ने गरी कालोपत्रे गर्दै छौँ । साना सडक पनि निर्माण गरिरहेका छौँ । 

 

भौतिक पूर्वाधार विकासमा स्थानीय सरकारले झेल्नुपर्ने समस्या के रहेछन् ?

 

जुनसुकै योजना सम्पन्न हुने गरी बहुवर्षीय योजना हुन्छन् । ठूला र महत्त्वपूर्ण गौरवका आयोजना विस्तारै गर्नुपर्ने हुन्छ । बहुवर्षीय योजनाका रूपमा अघि बढाउँदा एउटै निर्माण व्यवसायीबाट निर्माण गर्न सकिने हुनाले स्रोत सुनिश्चित हुन आवश्यक छ । त्यो अभ्यास भएको पाइँदैन । साना योजनामै ध्यान दिने परिपाटीले पूर्वाधार निर्माणमा ढिलासुस्ती हुन्छ । नगरको सभाहल, चक्रपथ, प्रशोधन केन्द्र हामीले बहुवर्षीय योजनाअन्तर्गत सञ्चालन गरेका छौँ । 

 

पर्यटन क्षेत्रको विकासका लागि नगरपालिकाले अघि सारेका योजनाबारे बताउनुस् न ?

 

यो ऐतिहासिक सामग्राम अहिले अप्रभंश भएर सैनामैना बनेको हो । हामीले अहिले पुरातात्त्विक र ऐतिहासिक महत्त्वका क्षेत्रलाई संरक्षण गरेर संग्रहालय बनाउने योजना बनाएका छौँ । लुम्बिनीबाट जम्मा १७ किलोमिटरको दूरीमा पालिका रहेको यो पालिकामा बोलबम धाम रहेकाले धामको पुनर्निर्माण गरेर ७ करोड रुपैयाँ लागतमा पशुपतिनाथजस्तै प्यागोडा शैलीमा मन्दिर बनाउने योजना बनाएका छौँ । पर्यटकीय हिसाबले महत्त्व राख्ने क्षेत्रको पहिचान गरेर गुरुयोजना बनाएर निर्माण प्रक्रियालाई स्रोत– साधनले भ्याएसम्म सञ्चालनमा ल्याउनेछौँ ।  

 

सामाजिक सुरक्षाका क्षेत्रमा नगरका तर्फबाट सञ्चालन गरिएका नयाँ कार्यक्रम के–के छन् ?

 

सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन हामी निर्वाचित भएकै वर्ष सबै वडाका सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकलाई हरेक वडामा सुविधाजनक ढंगले भत्ता लिने व्यवस्था मिलाएका छौँ । अहिले सीधैै बैँकमा भत्ता जान थालेको छ । सहज रूपमा चौमासिकमा उहाँहरूले भत्ता बुझ्न सक्नुहुनेछ । कार्ड नवीकरण गर्ने, अद्यावधिक गर्ने काम सञ्चालन गरिरहेका छौँ । 

 

आर्थिक अनुशासनका क्षेत्रमा सैनामैनाको स्थिति कस्तो छ ? महालेखाले बेरुजु कति देखाएको छ ?


अहिले महालेखाले देखाएको बेरुजुको प्रतिवेदन प्राप्त भएको छैन । यो वर्ष हाम्रो बेरुजु अत्यन्त न्यून छ । हामीले अनियमिततामा शून्य सहनशीलता अपनाएका छौँ । भइपरी खर्च राख्ने कामलाई निरुत्साहित गरेका छौँ । 

 

चार वर्षमा कति वटा कानुन बनाउनुभयो ?

अहिलेसम्म हामीले तीन दर्जन बढी कानुन बनाएका छौँ । स्थानीय सरकार सञ्चालन गर्न आवश्यक पर्ने कानुन बनाएका छौँ । 

 

संविधानले दिएको अधिकारअनुसार स्थानीय सरकार सञ्चालनका लागि संघ र प्रदेश सरकारबाट गर्नुपर्ने बाँकी काम के–के हुन् ?

 

संविधानको अनुसूचीले दिएको अधिकार सबै प्रयोगमा आएको छैन । कतिपय अधिकार, कानुन बाझिएका छन् । शिक्षा ऐन तथा नियमावली सरकारले ल्याउन सकेको छैन । नियमावलीले गणतन्त्र, स्थानीय र संघीयतालाई चिन्दैन । शिक्षामा काम गर्न गाह्रो छ । वन मन्त्रालयले बनाएको वन ऐन, स्थानीय सरकारको ऐनसँग बाझिएको छ । स्थानीय सरकारलाई दिएको अधिकार खोसिएको छ । विकास निर्माणमा पूर्ण अधिकार दिएर परिचालन गर्ने अधिकार पनि अघि बढ्न सकेको छैन । संकुचन गर्ने काम पछिल्लो समय बन्दै गरेका कानुनले गरेका छन् ।