close

दाङमा पनि खोलियो सहुलियत पसल 

दाङमा पनि खोलियो सहुलियत पसल 

Trulli
ADVERTISEMENT

दाङ– दाङका उपभोक्तालाई चामल, चिनी र नुन सहुलियत मूल्यमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गरिएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मुख्य शाखा तुलसीपुरले चामल र साल्ट ट्रेडिङ कर्पोरेसन दाङ शाखा घोराहीले चिनी र नुन सहुलियत मूल्यमा बिक्री गर्न लागेका छन् ।

 

चाडपर्वको समय हुने अनावश्यक मूल्यवृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहुलियत मूल्य पसलले सहयोग गर्ने भएकाले पनि चाडपर्वमा उपभोक्तामाझ यसको महत्त्व बढेको कम्पनीले बताएको छ । आउँदै गरेका दसैं–तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले दाङका दुई स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । 

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मुख्य शाखा तुलसीपुरले ५ प्रकारका चामलमा प्रतिकिलो ५ रुपैयाँका दरले छुट दिएको जनाएको छ । स्टिम जिरा मसिनो चामल प्रतिकिलो ६० रुपैयाँ, सावा स्टिम मसिनो चामल ५७, सावा मसिनो चामल ५५, सोना मन्सुली ४६ र अरुवा मोटो चामल ४२ रुपैयाँ प्रतिकिलो बिक्री गर्ने निर्णय भएको निमित्त शाखा प्रमुख नकुल चौधरीले जानकारी दिए ।

 

तुलसीपुरको हात्तीखौवामा रहेको कार्यालयबाटै बिक्री सुरु भएको र २४ कात्तिकसम्म २ सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य रहेको उनको भनाइ छ । १ जनालाई २ बोरासम्म चामल दिन सकिने हुँदा उनले २५ र ३० किलोका बोरा रहेको बताए ।

 

घोराहीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन दाङ शाखाले चिनी र नुन सहुलियतमा बिक्री गर्ने बताएको छ । बजार मूल्यभन्दा चिनीमा ११ र नुनमा ७ रुपैयाँ प्रतिकिलो सहुलियत मूल्यमा बिक्री गरिने शाखा प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिए । नुन बिक्री सुरु भएको तर चिनी भने अझै आइनपुगेको उनको भनाइ छ ।तुलसीपुर चोकस्थित महरा पेट्रोल पम्पदेखि पश्चिमतर्फ सहुलियत मूल्यको पसल राखिएका छन् । १ जनाले नुन ६ किलो र चिनी २ किलोसम्म किन्न पाउनेछन् ।