close

दाङमा निष्प्रभावी स्वास्थ्य बिमा 

दाङमा निष्प्रभावी स्वास्थ्य बिमा 

Trulli
ADVERTISEMENT

दाङ– घोराही उपमहानगर वडा नम्बर ३ रामपुरकी ६७ वर्षीया जमुना केसीले दैनिक बिहान र बेलुका सुगर र प्रेसरको औषधी सेवन गर्छिन् । उनको आर्थिक अवस्था कमजोर छ । घरमा कमाउने मानिस कोही छैन । अलिअलि गरेर जम्मा गरेको पैसा छोराछोरीको पढाइ–लेखाइमै खर्च हुन्छ । स्वास्थ्य बिमाबारे उनलाई केही थाहा छैन ।

 

३० माघ २०७७ देखि दाङमा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बिमा गराउनेको संख्या न्यून छ । स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको भए जमुनाजस्ता दीर्घ रोगीका लागि राहत मिल्ने थियो । 


दाङका १० स्थानीय तहका १ सय वडामा बिमा कार्यक्रम लागू गरिए पनि त्यतातिर नागरिकको आकर्षण छैन । अहिलेसम्म १२ हजार ३३२ जना मात्रै यो कार्यक्रममा आबद्ध भएको स्वास्थ्य बिमा बोर्ड दाङका कार्यक्रम संयोजक गोपीलाल ओलीले जानकारी दिए । 


घोराहीमा ४ हजार १०३, तुलसीपुरमा ३ हजार ४२, लमहीमा ८९० जना आबद्ध भएका छन् । त्यस्तै, राप्तीमा ७७९, गढवामा २६५, राजपुरमा ५२४, बबईमा १ हजार ६०, बंगलाचुलीमा ५२७, दंगीशरणमा ६३५ र शान्तिनगरमा ५०७ जनाले स्वास्थ्य बिमा गराएको संयोजक ओलीले बताए ।

 

 ५ जनाको परिवारले ३५ सय जम्मा गरेर १ लाख रुपैयाँ उपचार बिमा पाउने व्यवस्था छ । त्यस्तै, ४२ सय जम्मा गरे ७ जनासम्मको १ लाख २० हजार, ८ जनासम्मको ५६ सय जम्मा गरे १ लाख ६० हजार रुपैयाँ बराबरको उपचार बिमा हुने उनले बताए । 

 

दाङमा करिब साढे ६ लाख जनसंख्या रहेको अनुमान छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, लमही अस्पताल र बंगलाचुली अस्पतालबाट बिमाबापतको स्वास्थ्य उपचार लिन सकिने व्यवस्था छ । जिल्लाका १ सय वडामा बिमा गराउने कर्मचारी भर्ना गरिएको छ । कोरोना संक्रमणका कारण प्रभावकारी बन्न नसकेको यो अभियानमा अब तीव्रता आउने ओलीले बताए । बिमाका कर्मचारी नागरिकको घरमै पुगेर बिमा गराउनेछन् ।