close

लुम्बिनीमा नयाँ साना तथा मझौला उद्योग दर्ता निःशुल्क

लुम्बिनीमा नयाँ साना तथा मझौला उद्योग दर्ता निःशुल्क

Trulli
ADVERTISEMENT

दाङ– लुम्बिनी प्रदेशले नयाँ थप हुने साना तथा मझौला उद्योगमा छुट दिने भएको छ । थप हुने साना तथा मझौला उद्योग १ सय रुपैयाँमा दर्ता गरिने भएको हो । 

 

प्रदेशका १२ वटै जिल्लामा नयाँ उद्योग थपिने साना तथा घरेलु उद्योगले यस प्रकारको सेवा पाउने उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसीले जानकारी दिए ।

 

प्रदेश सरकारको निर्णयअनुसार उद्योगमा लाग्ने दस्तुर छुट दिइएको छ । प्रदेश सरकारले गत आर्थिक वर्षमा पनि निःशुल्क नयाँ उद्योग दर्ता गर्ने निर्णय गरेको थियो । 

 

मन्त्रिपरिषद्ले निर्णय गरेपछि यसको कार्यान्वयन भएको उनको भनाइ छ । तर, जिल्लामा रहेका उद्यमीले यस प्रकारको सुविधा ढिला मात्र प्राप्त गरेका हुन् । ‘प्रदेश सरकारले लुम्बिनीमा उद्योगमैत्री वातावरण बनाउन यस प्रकारको योजना अगाडि बढाएको हो,’ सचिव डा. केसीले भने । निःशुल्क दर्ता गर्न पाउने भएपछि उद्योग थपिने र नयाँ उद्यमी उत्पादन हुने प्रदेश सरकारको अपेक्षा छ ।

 

‘निःशुल्क दर्ता गर्न पाउने भएपछि उद्योगसमेत वृद्धि हुनेछन्’, सचिव केसीले भने । नागरिकको आर्थिक सुधार भएसँगै प्रदेशको आर्थिक स्तर माथि उठ्ने प्रदेश सरकारले जनाएको छ । 

 

पछिल्लो समय युवाहरू उद्यममा जोडिँदैै गएका छन् । अहिले रोजगारका लागि विदेशिने युवासमेत स्वदेशमै केही गर्नुपर्दछ भनेर उद्योग स्थापना गर्न थालेको पाइएको छ । जिल्लामा पनि नयाँ थपिने साना तथा घरेलु उद्योगलाई निःशुल्क दर्ता गर्ने गरिएको घरेलु तथा साना उद्योग कार्यालय दाङले बताएको छ ।

 

‘नयाँ थपिने उद्योगलाई प्रदेश सरकारको निर्णयअनुसार निःशुल्क दर्ता गरिने गरेको छ’, घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उमबहादुर वलीले भने ।प्रदेश मन्त्रिपरिषद्को निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएपछि निर्देशनालयको निर्देशनअनुसार निःशुल्क दर्ता सुरु गरिएको हो । निःशुल्क उद्योग दर्ता गर्न पाइने भएपछि उद्यमी बन्न चाहनेलाई सहयोग पुग्नेछ । कोरोनाका कारण केही समय बन्द रहेका दाङका उद्योगधन्दा लयमा फर्किंदै छन् ।