close

विद्युत् खपत बढाउन पूर्वाधारलाई प्राथमिकता दिँदै प्राधिकरण

विद्युत् खपत बढाउन पूर्वाधारलाई प्राथमिकता दिँदै प्राधिकरण

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सब–स्टेसन आयोजना निर्माणलाई जतिसक्दो छिट्टो सम्पन्न गर्ने पहल सुरु गरेको छ । प्राधिकरणले विद्युत् खपत बढाउन योजनाबद्ध रूपमा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको हो ।


 
प्रसारण तथा वितरण लाइनको क्षमता अभावमा उद्योगीलाई मागेअनुसार विद्युत् उपलब्ध गराउन नसक्ने र उत्पादित विद्युत् खपत गर्न नसकी वित्तीय नोक्सानी बेहोर्नुपर्ने अवस्था आएपछि प्राधिकरणले खपत बढाउने योजना अगाडि सारेको हो । 

 

अल्कालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँको पहिचान गरी प्रसारण तथा वितरणतर्फका लाइन तथा सब–स्टेसन निर्माण सुरु गरिनेछ ।


 
उद्योगीले मागेजति विद्युत् नपाएको गुनासो गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार र आइतबार हेटौंडा, सिमरा, वीरगञ्ज, भरतपुर, परासी, भैरहवा औद्योगिक करिडोर क्षेत्रको स्थलगत अवलोकन गरी सञ्चालनमा रहेका र निर्माणाधीन प्रसारण तथा वितरण लाइन, सब–स्टेसनको अवस्थाबारे जानकारी लिएका छन् । त्यस क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सब–स्टेसन आयोजना निर्माणाधीन छन् । 

 

कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन तथा ठेकेदार, वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुखसँग आयोजना स्थलमै छलफल गरी निर्माणमा देखिएका समस्या र समाधानका उपायबारे छलफल गरेको प्राधिकरणले जनाएको छ ।

 

‘एकतर्फ देशभित्र उत्पादित विद्युत् खपत गर्न नसकी दैनिक रूपमा लाखौँ रुपैयाँ खेर फालिरहेका छौँ भने अर्कोतर्फ पूर्वाधार अभावमा उद्योगलाई मागेजति विद्युत् दिन सकिरहेका छैनौँ । यस्तो पीडादायी अवस्था अन्त्य गर्न चाहन्छौँ’, घिसिङले भने । निर्माणाधीन आयोजना सम्पन्न भएपछि उद्योगलाई मागेअनुसार विद्युत् दिन सकिने र उपभोक्ताले गुणस्तरीय, विश्वसनीय विद्युत् पाएसँगै चुहावट घट्नुका साथै प्रसारण क्षमता सुदृढ हुने उनको विश्वास छ । विद्युत् खपत बढाउनुपर्ने अहिलेको चुनौतीपूर्ण अवस्थामा आयोजनाको काम समयमै सम्पन्न गरी सहयोग गर्न सम्बद्ध सबैलाई उनले आग्रह गरे । 

 

सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनमा नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली लाइनको क्षमता बढाउने काम भइरहेको छ । यो काम सम्पन्न भएपछि त्यस क्षेत्रमा थप विद्युत् आपूर्ति दिन सकिनेछ ।

 

निर्माणाधीन हेटौंडा –ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सब–स्टेसन निर्माण गर्ने र अमलेखगञ्जमा रहेको सब–स्टेसनबाट थप फिडर निकाली विद्युत् आपूर्तिको सम्भावनाका विषयमा पनि घिसिङले छलफल गरे । यसका लागि अध्ययन गरी प्रस्ताव पेस गर्न उनले निर्देशन दिए ।


नवलपरासीको परासी क्षेत्रमा सञ्चालित उद्योगलाई विद्युत् आपूर्तिका लागि सुनवलमा १३२/३३ केभी सब–स्टेसन निर्माणाधीन छ । सब–स्टेसन निर्माण आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘सब–स्टेसन सञ्चालनमा आएपछि त्यहाँबाट थप ९० मेगावाट विद्युत् उद्योगलाई दिन सकिन्छ भने आपूर्ति पनि विश्वसनीय हुनेछ’, घिसिङले भने । त्यस क्षेत्रमा सञ्चालित उद्योगले क्षमता थप्न लागेको र नयाँ उद्योग पनि खुल्न थालेकाले विद्युत् माग उच्च छ । 

 

रूपन्देहीको भैरहवा औद्योगिक करिडोरमा रहेका उद्योगलाई विद्युत् आपूर्तिका लागि बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२÷३३÷११ केभी सब–स्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।  कोभिड–१९ का कारण चिनियाँ प्राविधिक आउन नसक्दा सब–स्टेसनको परीक्षण हुन सकेको छैन । सब–स्टेसन सञ्चालनमा आएपछि थप ९० विद्युत् आपूर्ति दिन सकिनेछ । 

 


होङ्सी सिमेन्टलाई ३ महिनाभित्रै विद्युत्

 

चिनियाँ लगानीमा खुलेको होङ्सी सिमेन्टलाई ३ महिनाभित्रै विद्युत् आपूर्ति गरिने भएको छ । उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गर्न लागिएको हो । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी होङ्सी सिमेन्टलाई विद्युत् आपूर्ति दिन लागिएको हो । 

 

कार्यकारी निर्देशक घिसिङले उद्योगका पदाधिकारीसँग छलफल गरी ३ महिनाभित्र विद्युत् आपूर्ति दिन सकिने भएकाले सोहीअनुसार आवश्यक तयारी गर्न आग्रह गरे ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्‍याउने घोषणाअनुसार यो लाइन बनिरहेको हो । लाइन नपुग्दा होङ्शी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ । 

 

उद्योगको क्षमता विस्तार गर्न लागेकाले हो्सशीलाई मात्रै करिब ८० मेगावाट विद्युत् आवश्यक पर्ने बताइएको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन निर्माण पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन ।