close

कोरोना त्रासकै बीच खुले जुम्लाका विद्यालय 

घरदैलोमै पुगेर विद्यार्थी बोलाउँछन् मास्टर 

कोरोना त्रासकै बीच खुले जुम्लाका विद्यालय 

घरदैलोमै पुगेर विद्यार्थी बोलाउँछन् मास्टर 

Trulli
ADVERTISEMENT

जुम्ला–कोरोना महामारीका कारण लामो समय बन्द जुम्लाका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । पछिल्लो समय कोरोना संक्रमणको जोखिम कम देखिन थालेपछि जुम्लामा विद्यालय खुलेका हुन् ।

 

अहिले यहाँका सबै विद्यालय खुलेर पठनपाठन नियमित भइसकेको छ । झन्डै डेढ वर्षदेखि बन्द यहाँका विद्यालय खुलेका हुन् ।  तर, कोरोना संक्रमणको त्रास भने हटेको छैन । स्थानीय ओमबहादुर थापा विद्यालय खुलेपछि विद्यार्थीलाई निकै राहत भएको बताउँछन् । उनले भने, ‘विद्यालय बन्द हुँदा घरमा पठनपाठनको वातावरण थिएन । अनलाइन कक्षा सबैको पहुँचमा छैन । किताब–कापी झोलामा थन्क्याएर घरायसी काममा खटिएका विद्यार्थीले अब नियमित पढ्न गर्न पाउनेछन् । 

 

कोरोनाको पहिलो लहरमा त्रासका बीच विद्यालय खुल्न सकेनन् । दोस्रो लहरमा संक्रमितको मृत्यु हुन थाल्यो । संक्रमतिको संख्या बढ्यो । विद्यालय ठप्प भए ।

बालबालिका सबैभन्दा जोखिममा पर्न थालेपछि शैक्षिक क्षेत्र निकै प्रभावित हुन पुग्यो । उनले भने, ‘अब संक्रमण कम हुँदै गएको छ । विद्यालय पनि खुल्दै गएका छन् ।’ 

 

जुम्लाका केही स्थानीय तहले एक साता अघिदेखि विद्यालय सञ्चालनमा ल्याइसकेका छन् । केहीले सोमबारदेखि सञ्चालनमा ल्याएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईं विद्यालय खुलाउन स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने बताउँछन् ।

 

जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन समितिले विद्यालय खुलाउने विषयमा कुनै निर्णय भने गरेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी चौलागार्इंले भने, ‘मापदण्ड बनाएर विद्यालय खुलाउन स्थानीय तहलाई भनिएको छ । स्थानीय तहले आफ्नो अनुकूलअनुसार विद्यालय खुलाउँदै गएका छन् ।’ 

 

३० भदौमा बसेको बैठकले स्मार्ट लकडाउन निर्देशिकका, २०७८ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुलाउन सकिने गरी स्थानीय तहलाई जिम्मेवारी दिइएको थियो ।

‘कोरोना त्रास कायमै छ । केही विद्यालय मापदण्ड पूरा नगरेर खुलेका छन् । सरकारले पनि लुज गरिरहेको छ । खेलकुदका कार्यक्रम भइरहेका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईंले भने, ‘विद्यालयको हकमा सबै होशियार हुनैपर्छ ।’

 

शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारी जुम्लाका सबै विद्यालय खुलेर नियमित पठनपाठन भइरहेको बताउँछन् । उनले भने, ‘विद्यालय खुलाउन डिसिसिएमसीले पालिकालाई अधिकार दियो । स्वास्थ्य मापदण्ड अपनाएर खुलिरहेका छन् ।’

 

जुम्लामा १७० सामुदायिक विद्यालय छन् । भण्डारीले भने, ‘गाउँमा जात्रा चलिरहेका छन् । सदरमुकाम क्षेत्रमा राजनीतिक सभा भइरहेका छन् । गाउँका मन्दिरमा भीडभाड गरेर पूजाआजा भइरहेको छ । यो अवस्थामा विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्योलमा पार्ने अवस्था रहेन ।’ 

 

उनले विद्यालयमा जोखिम देखिनेबित्तिकै पालिकाको सिफारिसमा बन्द गराउन सकिने अवस्था रहने बताए । ‘जुन विद्यालयमा संक्रमण देखियो, त्यो विद्यालय बन्द गराउन सकिन्छ । तर, अन्य विद्यालय बन्द गर्नुपर्ने आवश्यक छैन । स्मार्ट लकडाउनले स्थानीय तहलाई बढी जिम्मेवार बनाएको छ’, प्रमुख भण्डारीले भने, ‘विद्यालय किताब पुगिसकेका छन् ।’


दुई सिफ्टमा पठनपाठन
जुम्लाको चन्ददनाथ माध्यमिक विद्यालयले दुई सिफ्टमा पठनपाठन सुरु गरेको छ । सबै विद्यार्थीलाई एकै पटक विद्यालय ल्याउँदा जोखिम हुने भएकाले दुई सिफ्टमा बाँडिएको हो । 

 

पहिलो सिफ्टमा अंग्रेजी माध्यम सबै र नेपाली माध्यमको कक्षा ९ र १० का विद्यार्थीको पठनपाठन हुनेछ । यो सिफ्ट बिहान ६ बजेदेखि ११ बजेसम्म चल्नेछ ।


दोस्रो सिफ्ट साढे ११ देखि ४ बजेसम्म चल्नेछ । यो सिफ्टमा नेपाली माध्यम र टेक्निकलका कक्षा सञ्चालनमा हुनेछन् । प्रधानाध्यापक टंकबहादुर महत सरकारले लागू गरेको स्मार्ट लकडाउनअनुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघबीच पूर्वतयारी र सतर्कताका विषयमा छलफल गरेर विद्यालय खुलेको बताउँछन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाएर मात्र विद्यालय चलाउन चिकित्सले सुझाएका छन् । तेस्रो भेरियन्ट बालबालिका लक्षित हुने भएकाले बालबालिकालाई सुरक्षित राख्नु अहिलेको चुनौती भएको उनीहरूले धारणा छ । 

 

विद्यालय सञ्चालन गर्न घरदैलोमै पुगेर विद्यार्थी बोलाउन थालिएको सीता मावि रारालिहीका प्रधानाध्यापक शिवप्रसाद पाण्डे बताउँछन् । उनले भने, ‘लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढ्ने बानी बिग्रिइसकेको छ । पहिलो चरणमा विद्यार्थीको बानी परिवर्तनमै जोड दिने सोच बनाएका छौँ ।’

 

जुम्लामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भयो भने १८ सय बढीलाई संक्रमण देखिएको स्थानीय प्रशासनको तथ्यांक छ ।