close

भक्तपुरमा सरोकारवालासँगको छलफलपछि मात्रै विद्यालय खुलाइने

भक्तपुरमा सरोकारवालासँगको छलफलपछि मात्रै विद्यालय खुलाइने

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको भक्तपुर नगरपालिकाले विद्यालय सञ्चालनबारे अभिभावक र विद्यार्थीका प्रतिनिधिबीच छलफल गरेको छ । नगर उपप्रमुख रजनी जोशीको अध्यक्षमा बसेको बैठकले सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरी विद्यालय सञ्चालन गर्न हुने÷नहुने सम्बन्धमा निर्णय लिनेछ । 

 

विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ मा विद्यालय खोल्ने र बन्द गर्ने निर्णय स्थानीय सरकारमा भएकाले संक्रमणको जोखिम अध्ययन गर्दै नगरका विद्यालय सञ्चालन गर्न शिक्षा एवं स्वास्थ्यविद्सँग छलफललाई निरन्तरता दिइने जानकारी गराइन् । नगरभित्र कोभिड संक्रमितको संख्या क्रमशः घट्दै गए पनि सुरक्षा मापदण्डलाई भने पछ्याउनुपर्नेमा उनले जोड दिइन् ।


    
उपप्रमुख जोशीले विद्यालय सञ्चालन गर्नुपूर्व जनप्रतिनिधिसहितको अनुगमन टोलीलाई क्रियाशील बनाइने, विज्ञ, अभिभावक, विद्यार्थीबाट प्राप्त सुझावलाई दृष्टिगत गर्दै स्वास्थ्य मापदण्ड अपनाई विद्यालय सञ्चालन गरिने र १८ वर्षमुनिका विद्यार्थीलाई खोप उपलब्ध गराउन नगरपालिकाले आवश्यक पहल गरिने जानकारी दिइन् ।


    
वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुरमा कोभिड संक्रमण जोखिम घट्दै गइरहेको अवस्थामा नगरपालिकाले सुरक्षित ढंगले विद्यालय सञ्चालन गर्ने तयारीलाई तीव्रता दिएको बताए ।

 

अभिभावक संघ भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले लामो समयसम्म शैक्षिक संस्था बन्द रहँदा विद्यार्थीको शैक्षिक गुणस्तरमा कमी आएको र अभिभावकलाई आर्थिक भार थपिएस्को सुनाए ।

 

कार्यक्रममा नेक्राविसंघका संयोजक प्रकाश गुरुङले स–साना र कम विद्यार्थी भएका विद्यालयले भौतिक रूपमा तथा अन्यको हकमा आलोपारी गरी कक्षा सञ्चालन गर्नुपर्ने, कक्षा सञ्चालन नहुँदा प्रयोगात्मक कक्षामा बाधा पुगिरहेकोे एवं विद्यार्थीको स्वास्थ्य बिमा र स्वास्थ्योपचारमा नगरपालिकाले ध्यान दिनुपर्ने धारणा राखे ।


    
छलफलमा विद्यार्थीका प्रतिनिधिले अनलाइन र भौतिक दुवै विधिलाई प्राथमिकतामा राख्दै विद्यालय सञ्चालन गर्नुपर्ने, कलेजमै गएर प्रयोगात्मक कक्षा लिन पाउने व्यवस्था गर्नुपर्ने, विद्यार्थीलाई मनोपरामर्श सेवामा जोड दिनुपर्ने, १८ वर्षमुनिका विद्यार्थीका लागि खोपको सुनिश्चित गर्नुपर्ने माग गरे ।