close

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण

Trulli
ADVERTISEMENT

लुम्बिनी– कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड/एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी  ४६ किसानलाई कार्ड वितरण गरेको हो । बैंकले जिल्लाको मायादेवी गाउँपालिका–६ स्थित बेलामाई सहकारी संस्था लिमिटेडका सदस्य किसानलाई एमपिओस वितरण गरेको हो ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एउटै क्रेडिट कार्डमार्फत किसानलाई विभिन्न विषयमा जानकारी पाउन सकिने बताए । उनले किसानलाई सहयोग गर्नु बैंकको दायित्व भएको जनाउँदै बाली बीमा, पशु बीमामा ८० प्रतिशत अनुदान दिइने जानकारी दिए । 

 

बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले विद्युतीय भुक्तानीमार्फत कृषि सामग्री खरिद गर्न सकिने र कार्डको पिन/पासवर्ड सुरक्षित राख्न किसानलाई आग्रह गरे । उनले एप्समार्फत विभिन्न सूचना प्राप्त गर्न सकिनाका साथै राज्यबाट प्राप्त सेवासुविधा उपभोग गर्नुपर्ने बताए ।

 

बैंकका लुम्बिनी प्रदेश निर्देशक राजेशकुमार श्रीवास्तवले किसान कार्डले नगदरहित कारोबार गर्न सहयोग पुग्ने र केही हदसम्म एमपिओसले बैंकको काम गर्ने जानकारी दिए ।

 

बैंकअन्तर्गत आइफ्याड परियोजनाका डिजिटल अफिसर सरोज नेपालले बैंकको सेवा लिन र कारोबारलाई अगाडि बढाउन आग्रह गरे । उनले कार्डको प्रयोगमार्फत किसानले उत्पादन गरेका सामग्रीले उचित मूल्य पाउने र बिचौलियाको चलखेलबाट पनि बच्न सकिने बताए । 

 

के हो किसान क्रेडिट कार्ड

 

विद्युतीय भुक्तानीको माध्यमबाट कारोबार गर्न सकिने बैंकले जारी गरेको कार्ड नै किसान कार्ड हो । यो कार्डको उपयोग किसान, कृषि तथा वन व्यवसायी, कृषि मचेन्ट, कृषि सहकारी, फर्म, कम्पनीहरुले गर्ने आइफ्याड परियोजनाका रितु खनालले बताइन् । 

 

आवश्यक कृषि सामग्री कृषि मचेन्टबाट खरिद गर्न सकिने तथा कर्जा ग्राहकले वा खाताग्राहीले तोकिएको सीमासम्म कार्डमार्फत कोरोबार गर्न सकिने  उनले बताइन् । त्यस्तै आफूले उत्पादन गरेको कृषि उपज बिक्री गर्न सकिने तथा कृषि कार्यका लागि क्यास पोइन्टबाट नगद जम्मा तथा भुक्तानी गर्न सकिनेछ ।