close

अर्घाखाँचीमा मह उद्योग सञ्चालन : बाँडियो १ करोड, उत्पादन शून्य 

अर्घाखाँचीमा मह उद्योग सञ्चालन : बाँडियो १ करोड, उत्पादन शून्य 

Trulli
ADVERTISEMENT

अर्घाखाँची– अर्घाखाँचीमा एक जिल्ला एक उत्पादन कार्यक्रमका लागि कृषि मन्त्रालय, उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रमार्फत १ करोड ५ लाख अनुदान आएको थियो । तर, अनुदान छुट्याइए पनि उत्पादन भने शून्य छ । उद्योग वाणिज्य संघ अर्घाखाँचीले अनुदान १ करोड ५ लाख रुपैयाँ खर्चिनुपर्ने भए पनि हालसम्म ७० लाख मात्र लगानी गरेको देखिन्छ । सेयर सदस्यबापत रकम उठाए पनि त्यसबारे जानकारी नभएको सदस्य निमबहादुर महतले बताए । 

 

‘मैले १२ हजार ५ सय रुपैयाँ सेयर भनेर राखेको हुँ । तर, रकम कहाँ, कति खर्च भयो, अहिलेसम्म जानकारी भएको छैन । मेसिन आयो भन्ने सुनेको छु । अरू थाहा छैन ।’ जिल्लामा कच्चा पदार्थ समस्या भएकाले मह उत्पादन हुन नसकेको मह उद्योग निर्माण समिति अध्यक्ष तथा उद्योग वाणिज्य संघ अर्घाखाँचीका सचिवालय सदस्य लक्ष्मण कँडेलले बताए । उनले भने, ‘अन्यत्र भवनसमेत बनाएका छैनन् । हामीले घर, पहुँच सडक, मेसिन ल्याएका छौँ । केन्द्रले राम्रो गरेको भनेको छ । तर, कच्चा पदार्थ अभावले उत्पादन भने हुन सकेको छैन ।’

 

यसका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने उनको माग छ । मह उत्पादन गर्ने किसानलाई उद्योगबारे जानकारी नभएको स्थानीय सुप्रकाश खनालले बताए । ‘मैले मौरीपालन गर्न थालेको २० वर्ष भयो । उद्योग सञ्चालन भयो, मेसिन आए भन्ने सुनेको छु । किसानलाई उद्योग स्थापनाबारे कुनै जानकारी छैन ।’

 

उक्त बजेटबाट ४८ लाख ५६ हजार ५ सय ६२ रुपैयाँ बराबरको भवन निर्माण भएको उद्योग नजिक राखिएको सूचना बोर्डमा लेखिएको छ । १ करोड ८ लाख ४३ हजार ४ सय ३८ रुपैयाँ मेसिनरी औजार र अन्य कामका लागि रकम खर्च भएको देखिन्छ । 

 

उद्योगभित्र मेसिनरी औजार, केही खाली बोतल र मौरीघार यत्रतत्र रहेको देखिन्छ । उक्त उद्योग सन्धिखर्क नगरपालिका वडा नम्बर ९ ढिकुरामा स्थापना भए पनि यस विषयमा कुनै समन्वय नभएको भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले जानकारी दिए । ‘हामी निर्वाचित हुुनुभन्दा पहिले उद्योग स्थापना भएको रहेछ । अहिलेसम्म हस्तान्तरण पनि भएको छैन । उद्योग छ भन्ने सुनेको छु तर हामीसँग कुनै समन्वय भएको छैन ।’