close

व्यास नगरपालिकालाई पीसीआर मेसिन उपहार

व्यास नगरपालिकालाई पीसीआर मेसिन उपहार

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको व्यास नगरपालिकाले पीसीआर परीक्षण गर्ने मेसिन उपहार पाएको छ । नगरपालिकालाई रोटरी क्लब अफ नेपालले १२ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने मेसिन दिएको हो । उक्त मेसिन नगरपालिकालाई रोटरीले हस्तान्तरण गरेपछि पोखराबाट दमौली ल्याइएको छ ।


कोरोना भाइरसको संक्रमण दर दैनिक बढिरहेको छ । पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने बेलामा नगरपालिकालाई रोटरीले सहयोग दिएको मेसिन संचालनमा आएपछि पोखराको प्रयोगशालामा स्वाब संकलन गरी पठाउनुपर्ने बाध्यता भने हट्नेछ । तर, मेसिन कसरी चलाउने भन्ने निक्र्योल भई नसकेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । 


‘दमौली अस्पतालसँग सहकार्य गर्ने कि भन्ने छ तर निर्णय भइसकेको छैन । यसबारे छिट्टै टुंगो लगाउँछौँ’, उनले भने ।  अस्पतालसँग सहकार्य हुन नसके नगरपालिकाले नै ल्याब निर्माण गरेर मेसिन चलाउने श्रेष्ठको भनाइ छ । 

 

३ घण्टामा ८ जनाको स्वाब परीक्षण गर्न सक्ने मेसिनको क्षमता हो । २४ घण्टा निरन्तर चल्दा ६४ जनाको स्वाब परीक्षण हुनेछ ।


जेठ अन्तिम सातातिर विदेशबाट फर्किएर स्थानीय तहले बनाएका क्वारेन्टाइनमा बस्नेको लर्को थियो । १४ दिन क्वारेन्टाइनमा बसेपछि घर फर्किनलाई स्वाब परीक्षण गर्दा  अनिवार्य रिपोर्ट नेगेटिभ आए मात्र पाइन्थ्यो । तर, स्वाब दिएको दुई हप्तासम्म पनि रिपोर्ट नआइदिँदा स्थानीय तह तनावमा थिए । 

 

पोखराको प्रयोगशालामा चाप धेरै भएकाले रिपोर्ट ढिलो आउन थालेपछि जिल्लाका स्थानीय तहले मिलेर पीसीआर मेसिन खरिद गर्ने निर्णय भएको हो । 

 

प्रदेशमा पीसीआर मेसिन थप भई पीसीआर परीक्षणको क्षमता बढेकाले मेसिनको सट्टा जिल्लाकै १० वटा स्थानीय तहको संयुक्त लगानीमा जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र बेलचौतारामा आइसोलेसन भवन निर्माण थालिएको थियो । 

 

५० शय्या क्षमताको आइसोलेसन संचालन गर्ने लक्ष्यसहित निर्माणाधीन आठ कोठे भवनको काम अन्तिम चरणमा पुगेको छ ।