close

बाजुराका ६९ वडामा कांग्रेसको अधिवेशन सुरु 

बाजुराका ६९ वडामा कांग्रेसको अधिवेशन सुरु 

Trulli
ADVERTISEMENT

मार्तडी– कांग्रेसको १४औँ महाधिवेशन तथा ७ औं जिल्ला अधिवेशनका लागि बाजुराका ६९ वडाको अधिवेशन आजदेखि सुरु गरिएको छ । १४औँ महाधिवेशन तथा ७औँ जिल्ला अधिवेशनका लागि एकैसाथ वडा अधिवेशन गर्न लागेको नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितले बताए । 

 

उनका अनुसार यही असोज २ गते बसेको नेपाली कांग्रेस बाजुराको बैठकले असोज ६ गते गर्ने निर्णय भएको बताए । भौगोलिक विकटता र क्रियाशील विवादका कारण केन्द्रीय सर्कुलरअनुसार असोज ५ गते सम्भव नभएपछि जिल्ला निर्वाचन समितिको प्रस्तावमा पार्टीले असोज ६ गते बुधबार गर्ने निर्णय गरेको नेपाली कांग्रेस बाजुराका सचिव दीपकविक्रम शाहले जानकारी दिए । 

 

वडा अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे गृह वडामा समेत सहभागी भएको सचिव शाहले बताए । वडाबाट नै क्षेत्रीय प्रतिनिधि आउनुपर्ने भएकाले जिल्लाका शीर्ष नेताहरु आ–आफ्नो वडाका गएका छन् । पार्टीको १४औँ महाधिवेशनका लागि वडामा हुने अधिवेशनमा केन्द्रीय सदस्य बद्री पाण्डे हिमाली गाउँपालिकाको रुगिनमा पुगेका छन् । 

 

यस्तै पार्टी सभापति कविराज पण्डित, पूर्वभूमिसुधार सहायकमन्त्री जनकराज गिरी, संविधानसभाका सदस्य देवराज जोशी, महासमिति सदस्य पद्मबहादुर शाही, जुना दानी, वरिष्ठ नेता रामसिंह रावल र महाधिवेशन प्रतिनिधि चक्रबहादुर शाह लगायतका नेताहरु वडाको अधिवेशनमा सहभागी भएको नेपाली कांग्रेस प्रचारप्रसार उपसमिति संयोजक रनसिंह अयडीले बताए । 

 

आज हुने वडा अधिवेशनमा सहमति सहकार्य र एकताको अधिवेशन बनाउने गरी एकै साथ कांग्रेसले वडा अधिवेशन गरेको प्रचारप्रसार उपसमिति संयोजक अयडीले बताए । पार्टीको ७औँ जिल्ला अधिवेशनका लागि वडाको असोज ६, गाउँ÷नगरपालिका अधिवेशन असोज ९, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन असोज १२ र जिल्ला अधिवेशन असोज १६ गते गर्ने तयारी भएको जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताए । 

 

उनका अनुसार निर्वाचन समितिको प्रस्तावमा नेपाली कांग्रेस बाजुराले निर्णयलाई सदर गर्दै तोकिएको समयमा अधिवेशन हुनेछ । वडा, गाउँ÷नगरपालिका र प्रदेश निर्वाचन क्षेत्र अधिवेशनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण गरी अधिवेशनमा खटाइएको निर्वाचन अधिकृत भण्डारीको भनाइ रहेको छ । 

 

जिल्लाका ६९ वडामा, गाउँ/नगर र प्रदेश निर्वाचन क्षेत्रमा १६२ मतदान र सहायक मतदान अधिकृत खटाइएको छ । पार्टीको ७औँ जिल्ला अधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ । अधिवेशनका लागि आवास व्यवस्थापन, मञ्च व्यवस्थापन, स्वयम्सेवक परिचालय लगायतका उपसमिति बनाएर तयारी भइरहेको नेपाली कांग्रेस बाजुराले जनाएको छ ।