close

निरन्तरको वर्षाले बगर बने टिकुलीगढका दर्जन घर 

निरन्तरको वर्षाले बगर बने टिकुलीगढका दर्जन घर 

Trulli
ADVERTISEMENT

दाङ– मंगलबार राती परेको अविरल वर्षाले लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढका करिब एक दर्जन स्थानीयको घरमा क्षति पुगेको छ ।  प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालयले सुरु गरेको नारायणपुर सिँचाइ आयोजनाको कुलाको पानी र पहाडबाट झरेको पानी बस्तीमा पसेर क्षति गरेको हो ।


‘कच्ची घर ढल्छ कि भन्ने डरले ६ जनाको परिवार रातभर जाग्राम बस्यौँ । घरभित्र पसेको घँुडाघुँडाको पानी फाल्दा पनि भित्रका सबै खाद्यान्नमा क्षति भयो,’ बाढीपीडित विनिता चौधरीले भनिन् ।  एकाएक वर्षा सुरु भएको आधा घन्टामै आएको बाढी गाउँ पस्दा स्थानीय ११ घरधुरीमा क्षति पुगेको हो ।

 

केही पशु चौपाया गाउँलेको सहयोगमा जोगाउन सफल भए पनि बाढीले गाउँ पुरै बगर बनेको छ । ‘घर त बचे सबैले भागेर ज्यान जोगायौँ’, स्थानीय निमा चौधरीले भनिन्, ‘बाँकी आँगन, खेत, जमिन सबै बगर बन्यो । बाढीका कारण दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् ।’ 

 

केही समययता सानो पानी पर्दा पनि ठूलो भेल गाउँमा पस्न थालेको छ । बाढीपछि गाउँमा अझै जोखिम कायम छ ।  बाढीले ल्याएको ढुंगा–माटोले धान खेत पुरिएका छन् । नारायणपुर सिँचाइ आयोजनाको कुलोले धार परिवर्तन गर्दै गाउँ पसेको छ ।

 

बगेर आएको ढुंगा–माटोले खोला अग्लो भएको छ । नारायणपुर सिँचाइ आयोजना कुलोका कारण टिकुलीगढ गाउँ मात्रै नभएर आसपासका अन्य गाउँ पनि जोखिममा छन् । कुलोको निकास छैन ।


 
गाउँमा पसेको बाढीले टिकुलीगढ गाउँमा धान, गहुँ नष्ट भएको छ । पाकेको धान काटेर सुकाएको धान बगाएको स्थानीयले बताए । स्थानीय सीताराम चौधरीको घरआँगनमा रहेको कुवाका पानीमा बाढी पसेपछि खानेपानीको संकट भएको छ ।

 

पानीले अन्नपात, लत्ताकपडा, बालबालिकाका किताबकापी भिजेर कामै नलाग्ने बनाइदिएको छ ।  घर भित्र्याउन तयार भएको धानबालीमा समेत नोक्सानी पु¥याएको छ ।

 

यस्तै, धनिराम चौधरी, विनिता चौधरी, नीमा चौधरी, टोपबहादुर वली, काशीराम चौधरी, पुनिराम चौधरी, पतिराम चौधरी, राजकुमार चौधरी, सीताराम चौधरीलगायत एक दर्जनको घरमा पानीले क्षति गरेको छ ।

 

समयमै ठेकेदारले नारायणपुर सिँचाइ आयोजना टिकुलीगढ कुलाको काम नगर्दा यस्तो समस्या भोग्नु परेको स्थानीयको आरोप छ । अहिले वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले लाखौँ रुपैयाँको क्षति भएको अनुमान गरेको छ ।