close

गण्डकी र प्रदेश २ का मुख्यमन्त्रीबीच भेट : संघीयता मजबुत पार्न प्रदेशबीच सहकार्य गरौँ 

गण्डकी र प्रदेश २ का मुख्यमन्त्रीबीच भेट : संघीयता मजबुत पार्न प्रदेशबीच सहकार्य गरौँ 

Trulli
ADVERTISEMENT

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता मजबुत पार्न प्रदेशप्रदेशबीचको सहकार्य आवश्यक भएकामा जोड दिएका छन् । प्रदेश नं २ का मुख्यमन्त्री राउत र गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले औपचारिक भेटवार्ताका क्रममा त्यस्तो धारणा राखेका हुन् ।

 

मुख्यमन्त्री पोखरेलको कार्यकक्षमा सम्पन्न भेटवार्तामा मुख्यमन्त्री पोखरेलले संविधानतः मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि स्थापित प्रदेश सरकारले जनताको चाहनाबमोजिमको सेवा तथा विकास प्रवाह गर्ने सवालमा धेरै चुनौतीको सामना गर्नुपरेको धारणा राखे । अधिकार प्रत्यायोजनमा सङ्घीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत रहेको उल्लेख गर्दै उनले आगामी दिनमा प्रदेशप्रदेशबीचको सहकार्य अझ प्रगाढ बनाउन आवश्यक भएको बताए ।

 

राजस्वको बाँडफाँटमा केन्द्रले प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले हाम्रा विकासका आवश्कता पूरा नहुने उल्लेख गर्दै उनले यसको वृद्धिका लागि पहल गर्नुपर्ने बताए । नेपाल सरकारले कर्मचारी समायोजनमा पर्याप्त भूमिका नखेलेको बताउँदै उनले शान्तिसुरक्षा लगायतका मुख्य काममा प्रदेशलाई अधिकार नदिँदा प्रदेश सरकारले चाहेर पनि काम गर्नसक्ने अवस्थामा नरहेको बताए । 

 

ठूला विकासका कार्य अघि बढाउन जग्गाप्राप्तिको समस्या, विकास निर्माणमा बाधक विभिन्न कानूनी व्यवस्था आदिको सुधार तथा संशोधनमा केन्द्र सरकारले ध्यान नदिएको उनले बताए । ठूूला विकास साझेदारको स्रोत परिचालन केन्द्रबाट हुने गरेको जनाउँदै उनले यसमा प्रदेशको संलग्नता वृद्धि हुनुपर्ने बताए । अन्तरप्रदेश समन्वय परिषद्को बैठक नियमित बस्ने र समस्याको समाधान निकाल्नेतर्फ पनि घच्घच्याउनु आवश्यक रहेको उनको भनाइ छ ।

 

पर्यटन प्रवद्र्धनमा प्रदेश २ का साँस्कृतिक धरोहर जानकी मन्दिर, गढीमाईको मन्दिर र मेला, छिन्नमस्ता मन्दिर, सहलेस फूलबारी, धनुष क्षेत्र, जलेश्वरनाथ महादेव आदि स्थल रहेको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा आएका पर्यटकलाई प्रदेश २ र प्रदेश २ मा आएका पर्यटकलाई गण्डकी प्रदेशमा जानका लागि अभिप्रेरित गर्ने कार्य निजी क्षेत्रको अगुवाइमा अगाडि बढाउन सकिने उल्लेख गरे ।

 

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयतालाई मजबुत बनाउन आफूहरुले निकै सङ्घर्ष गर्नुपरेको र साढे दुई वर्षअगाडि पोखरामा मुख्यमन्त्रीको सम्मेलन भएको स्मरण गर्दै सम्मेलनले उठाएका सवाललाई सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तर्सिएको बताए  । 

 

केन्द्र र ६ वटा प्रदेशमा कम्युनिष्ट पार्टीकै सरकार रहेका कारण अधिकार हस्तान्तरण गर्न असहज नभएका अवस्थामा तत्कालिन प्रधानमन्त्री ओलीले प्रदेशका कुरा सुन्न नचाहेको मुख्यमन्त्री राउतले बताए । अधिकारकै लडाईंका क्रममा आफूहरू सङ्घ सरकारसँग मुद्दा लडिरहेको उल्लेख गर्दै अधिकार नपाएसम्म सङ्घर्ष जारी रहने बताए । 

 

भौतिक विकास मात्र नभएर सामाजिक रूपान्तरण हुनुपर्छ भनेर प्रदेश सरकारले महिला जागरण, बालिका सशक्तीकरण, सरसफाइजस्ता अभियान थालेको उनले जानकारी दिए । विकासका सवालमा प्रदेश नं २ र गण्डकीमा फरक रहेको भन्दै अनुभव आदानप्रदान गर्दै सहकार्य गर्नुपर्नेमा जोड दिए  । सांस्कृतिक सहर जनकपुर र पर्यटकीय सहर पोखराबीच हवाई सम्बन्ध कायम गरी भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ छ ।

 

कार्यक्रममा गण्डकी सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, पर्यटन, उद्योग तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, प्रमुख सचिव डा दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुरकुमाल, नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्ले, मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, गण्डकी र प्रदेश नं २ का पर्यटन व्यवसायी सहभागी थिए । मुख्यमन्त्री राउत नेतृत्व टोली तीन दिन पोखरामा रहने र यहाँका पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल एवं अन्तक्र्रिया गर्ने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । 

 

यसअघि नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा बुद्ध एयरले पोखरा–सिमरा उडान सुरु गर्दाको दिनमा गण्डकीका पर्यटनमन्त्री कँडेल नेतृत्वको टोली प्रदेश नं २ को वीरगञ्जलगायत स्थानका अवलोकन भ्रमण एवं अन्तक्र्रिया गरेको थियो ।  सोही क्रममा मन्त्री कँडेलले मुख्यमन्त्री राउतलाई पोखरा भ्रमणको निमन्त्रणा गरेका थिए । कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी महासचिव कमला गिरीका अनुसार बिहीबार बिहान दुवै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा पत्रकारसँग अन्तक्र्रिया गरिने छ । 

 

पर्यटन  प्रवद्र्धनको अभियानमा मुख्यमन्त्री राउत 

 

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) प्रदेश नं २ र नाट्टा गण्डकी प्रदेशको संयोजन एवं गण्डकी प्रदेश सरकारको निमन्त्रणामा प्रदेश नं २ का मुख्यमन्त्री राउत नेतृत्वको टोली पर्यटन पुनःरुत्थान र गन्तव्य प्रवद्र्धनका लागि उहाँ आज पोखरा आइपुगेका हुन्  ।

 

पोखरा–सिमरा सिधा उडान सुरु भएसँगै नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा यसअघि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्तिमन्त्रीसहितको टोलीले प्रदेश नं २ को सिमरा, वीरगञ्जलगायतका स्थानमा अवलोकन भ्रमण, अन्तक्र्रियाका साथै उक्त प्रदेशका मुख्यमन्त्रीसहितको टोलीलाई पोखरा भ्रमणका लागि निमन्त्रणा दिएको थियो ।

 

मुख्यमन्त्री राउतसहितको टोलीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीलगायतले स्वागत गरेका थिए । 


    
पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीसँगको भेटमा मुख्यमन्त्री राउतले कोरोनाले थलिएको पर्यटनलाई पुनःरुत्थान गर्नु अहिलेको आवश्यकता भएको बताउँदै आन्तरिक पर्यटनका गतिविधिलाई चलायमान गराउन गण्डकी प्रदेशसँग सहकार्य गरिने बताए । गण्डकी प्रदेशमा धार्मिक पर्यटनका धेरै सम्भावना रहेको बताउँदै उनले यसको उजागर गर्नुपर्ने आवश्यकता औँल्याए ।