close

धनगढी उपमहानगरले चलायो निःशुल्क आँखा शिविर 

धनगढी उपमहानगरले चलायो निःशुल्क आँखा शिविर 

Trulli
ADVERTISEMENT

कैलाली– धनगढी उपमहानगरपालिका वडा नम्बर १७ धुरझन्नामा एक दिने आँखा शिविरबाट ३४० जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । धनगढी उपमहानगर, चौधरी फाउन्डेसन, लायन्स क्लब अफ धनगढी एभरेष्ट र च्यारिटी फाउन्डेसनको आयोजनामा गरिएको निःशुल्क आँखा शिविरबाट गाउँमै उपचार पाउँदा स्थानीय खुसी भएका छन् ।


गाउँमा आएर स्वास्थ्यकर्मीले आँखाको परीक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरेपछि खुसी लागेको स्थानीय चक्रबहादुर चौधरीले बताए । गाउँमै आँखाको निःशुल्क उपचार गराउन पाउँदा आफूहरू निकै खुसी भएको उनले बताए । 


शिविरमा २२० जना महिला र १२० जना पुरुष गरी ३४० जनाको आँखा परीक्षण गरिएको र सबैलाई निःशुल्क औषधी पनि दिइएको चौधरी ग्रुपका सुदूरपश्चिम प्रदेश प्रशासक स्माइल चौधरीले जानकारी दिए । उनका अनुसार परीक्षण गरिएकामध्ये ६० जनामा मोतिबिन्दु देखिएकाले अपरेसनका लागि सिफारिस गरिएको छ । 
धनगढी नेत्रालयमा उनीहरूको निःशुल्क शल्यक्रिया हुनेछ ।


यसैगरी नजिक देख्न समस्या हुने ७१ जनालाई शिविरमै निःशुल्क चस्मा प्रदान गरिएको छ । शिविरमा वडा नम्बर १७ का पथरीलगायत अरु गाउँका स्थानीयले समेत आँखाको उपचार गराए । निःशुल्क आँखा शिविरमा धनगढी नेत्रालयका दृष्टि विशेषज्ञ आशीष पाण्डेयको नेतृत्वमा प्राविधिकको टोलीले आँखा परीक्षण गरेको थियो ।

 

यसैगरी नेत्र सहायक नरेश चौधरी, मेलिना मडै, दीक्षा जोशी, संगीता बम, अप्टिकल सहायक हेमा चन्दले सेवा प्रदान गरेको शिविर संयोजक त्रैलोक्यनाथ पाण्डेयले जानकारी दिए । निःशुल्क आँखा शिविरमा धनगढी उपमहानगर प्रमुख नृपबहादुर वडले उपमहानगरका अरू वडामा पनि निःशुल्क आँखा शिविर सञ्चालन गरिने बताए ।