close

सिरहाका स्थानीय तहमा १ अर्ब २० करोड रुपैयाँ  बेरुजु

सिरहाका स्थानीय तहमा १ अर्ब २० करोड रुपैयाँ  बेरुजु

Trulli
ADVERTISEMENT

सिरहा– सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा १ अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको छ ।   

 

स्थानीय तहमा  ३१ करोड १५ लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहबाट विभिन्न शीर्षकमा निकासा गरिएकामध्ये  ११ करोड ५४ लाख असुलउपर गर्नुपर्ने,  ३० करोड ४२ लाख नियमित गरिनुपर्ने तथा कागज र प्रमाण नपुगी  ४७ करोड २५ लाख भुक्तानी दिइएको पाइएको छ । सबैभन्दा बढी सिरहा नगरपालिकामा  २२ करोड २७ लाख बेरुजु र  १४ करोड २० लाख पेश्की रहेको  प्रतिवेदनमा उल्लेख छ । सो नगरपालिकामा  १७ लाख ८४ हजार असुल गर्नुपर्ने, ३ करोड १४ लाख ४२ हजार नियमित गर्नुपर्ने तथा ४ करोड ७४ लाख ८५ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने पाइएको छ । नगरप्रमुख अशेश्वरप्रसाद यादव, उपप्रमुख नमिता यादवलगायत जनप्रतिनिधि र कर्मचारीले आव २०७६/७७ मा बैठक भत्ताबापत ६६ लाख ४२ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

यस्तै लहान नगरपालिकामा  १९ करोड ३६ लाख १५ हजार बेरुजु र ७ करोड पाँच लाख ५९ हजार पेश्की छ । नगरपालिकाले विभिन्न व्यक्ति तथा फर्मबाट ४  करोड ४९ लाख ४४ हजार असुल गर्नुपर्नेछ । नगरपालिकाले भुक्तानी दिइएको ६ करोड ७४ लाख ७६ हजारको कागजात र प्रमाण पुर्‍याउनुपर्ने तथा १  करोड ६ लाख ३६ हजार नियमित गर्नुपर्ने महालेखाको ठहर छ । धनगढीमाई नगरपालिकामा  १३ करोड ६२ लाख ३८ हजार बेरुजु तथा ४ करोड ४३ लाख ८० हजार पेश्की छ भने १ करोड २५ लाख ४० हजार असुल गर्नुपर्ने छ । नगरपालिकाले ४  करोड ९७ लाख ९१ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने तथा २ करोड ९५ लाख २७ हजार नियमित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

 

यसैगरी विष्णुपुर गाउँपालिकामा  १४ करोड ३४ लाख ५० हजार बेरुजु र १ करोड २८ लाख ६९ हजार पेश्की रहेको छ । गोलबजार नगरपालिकामा  ६ करोड ३९ लाख ९९ हजार बेरुजु र १ करोड ७४ लाख ८२ हजार असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । ४ करोड ७  लाख ५२ हजारको कागजात पेश गर्नुपर्ने तथा  ३० लाख ९१ हजार नियमित गर्नुपर्ने र  २६ लाख ७४ हजार पेश्की देखिएको छ ।

 

मिर्चैया नगरपालिकामा २ करोड १८ लाख ३७ हजार बेरुजु देखिएको छ । त्यसमध्ये  ४५ लाख ४५ हजार असुल गर्नुपर्ने, १ करोड १ लाख २२ हजारको कागजात र प्रमण पेश गर्नुपर्ने,  २८ लाख ७९ हजार नियमित गर्नपर्ने र  ४२ लाख ९१ हजार पेश्की देखिएको छ । कल्याणपुर नगरपालिकाले एक वर्षमा खाजा, खाना र विविध शीर्षकमा  ५८ लाख ८८ हजार खर्च गरेको उल्लेख छ । 

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ  । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ को दफा चारमा न्यायिक समितिको बैठकमा भत्ता लिन पाउने स्पष्ट व्यवस्था छैन । स्थानीय तहमा निर्वाचित भएदेखि  जनप्रतिनिधिले कर्मचारीलाई दबाब दिएर मनपरि खर्च गर्ने गरेकाले बेथिति र बेरुजुको चाप बढेको लहानका नागरिक अगुवा राजेश गुप्ता बताउँछन् । एउटा शीर्षकमा रहेको रकम अर्कैमा खर्च गर्ने, जनप्रतिनिधि र कर्मचारीले अनावश्यक सुविधा लिने तथा पेश्की लिएर समयमा फछ्र्योट नगर्ने प्रवृत्तिका कारण स्थानीय तहमा बेरुजु बढेको उनको भनाइ छ । 

 

यसरी मनपरि खर्च गर्ने, जथाभावी निर्णय गरी कार्यान्वयन गर्ने र जनताको सेवाभन्दा पनि कमाउने धन्दामा जनप्रतिनिधि बढी केन्द्रित हुँदा जनतामा नैराश्यता उत्पन्न भएको लहान नगरपालिका–४ का सत्यनारायण चौधरी बताउँछन् ।