close

नगरपालिकालाई प्रविधिमैत्री बनाउँदाको सफलताले दिलायो पुरस्कार  

नगरपालिकालाई प्रविधिमैत्री बनाउँदाको सफलताले दिलायो पुरस्कार  

ADVERTISEMENT

अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्न सफल भएको छ । अन्तर्राष्ट्रिय जगत्मा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण पहिलो नगरपालिका हो । यसबारे चाँगुनारायणका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीसँग गरिएको कुराकानी : 


 


चाँगुनारायण विश्वकै उत्कृष्ट १० नगरपालिकामा पर्न सफल भएको छ ।  खासमा के उपलब्धि गरेर उत्कृष्ट १० मा पर्न सफल भएको हो ? 

 

अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा हामीले आइटी असिफरमार्फत सहभागिता जनाएका थियौँ । डाटा म्यानेजमेन्ट र ओपन म्यानेजमेन्टअन्तर्गत विभिन्न सहर छनोट गरिन्छ । त्यसमा स्पर्धा गर्दा हामी छनोट भयौँ । हामी खुसी छौँ । एसियामै यो अवार्ड पाउने हामी पहिलो बनेका छौँ । 

 

नगरपालिकाको तथ्यांक व्यवस्थापन एवं खुला तथ्यांक प्रणालीको क्षेत्रमा संसारको उत्कृष्ट १० सहरमा परेको भनिएको छ । यो भनेको के हो ? 

 

योचाहिँ डाटा म्यानेजमेन्ट हो । सूचनाको हकअन्तर्गत विभिन्न काम गर्नुपर्ने हुन्छ । नगरपालिकाबाट सञ्चालित गतिविधि र जानकारी डिजिटल माध्यमबाट जोकोहीले जानकारी पाउन सक्छन् । चाहेका बेला  उसले सूचना लिन सक्छन् । जस्तै, विद्यालयको अवस्था र विद्यार्थीबारे जानकारी पनि पोर्टलबाट लिन सकिन्छ । अहिले हामीले ओपन डेटा प्लेटफर्मको काम सुरु गरेका छौँ । त्यसले हामी त्यो कार्यक्रममा सहभागी हुन पायौँ । यसले  ६ महिनासम्म डाटा विज्ञबाट तालिम प्रदान हुन्छ । डेटासम्बन्धी गतिविधि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन मद्दत गर्छ । 

 

चाँगुनारायणले विकास गरेको नेपालकै पहिलो ओपन डाटा प्लेटफर्मबारे केही बताउनुस् न ? 


यो प्लेटफर्ममा सबै जानकारी लिन सकिन्छ । नगरपालिकाको सबै गतिविधि त्यहाँ हेर्न सकिन्छ । पालिकाको शाखा,  तिनका काम, कर्तव्य र अधिकार सबै उल्लेख गरिएको हुन्छ । नगरपालिकाको विभिन्न क्षेत्रबारे समेत यहाँबाट जानकारी लिन सकिन्छ । 

 

उत्कृष्ट १० मा परेपछि नगरपालिकालाई हुने फाइदा के–के हुन् ?


अन्तर्राष्ट्रिय स्तरको तालिम प्राप्त गर्न सक्छौँ । नगरपालिकाको शासकीय प्रबन्धलाई नागरिकसमक्ष साक्षात्कार गर्न सजिलो हुन्छ । 

 

खुला तथ्यांक प्रविधि क्षेत्रमा यो स्तरको काम गर्ने सोच कसरी आयो ? 


अहिले प्रविधिमैत्री समय हो । सूचना घरबाटै लिन सकिने समय आएको छ । यो माग हामीले पनि पूर्ति गरेका हौँ । प्राविधिक विश्व बजारमा हामीले पनि फड्को मारेका हौँ । कार्यक्षमतालाई पनि विकास गर्दै लैजान हामीले यो सोच ल्याएर काम गरेका हौँ । भोलिका दिनमा अझ यसलाई बढाएर उत्कृष्ट शासकीय स्वरुप बनाउने निर्णय गर्दा यो अवसर प्राप्त गर्‍यौँ। 

 

चाँगुनारायणले अपनाएको यो विधि नेपालका अन्य नगरपालिकालाई हस्तान्तरण गर्नेबारे सोच्नुभएको छ ? 


अहिले हाम्रा लागि अवसर हो । ६ महिना हामीले विज्ञ व्यक्तिबाट पहिले तालिम दिन्छौँ । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउँछौँ । अरूले पनि यसलाई निरन्तरता दिनुहुन्छ भन्ने लागेको छ । 

 

अन्त्यमा, तपाईंहरूले कुन उत्प्रेरणाले तथ्यांक व्यवस्थापन क्षेत्रमा विश्वकै उत्कृष्ट काम गर्न सफल हुनुभो ? 


नयाँ काम केही गर्नुपर्छ भन्ने हाम्रो मनसाय हो । नगरपालिकालाई प्रविधिमैत्री बनाउन हामीले ओपन डेटा प्लेटफर्मतर्फ लग्नुपर्छ भन्ने मान्यता लिएर अघि बढेका हौँ । 

 

भिडियो अन्तर्वार्ता हेर्न तलको प्ले बटन क्लिक गर्नुहोस्-