close

बाजुरेलीका दुःख : चामल नपाएपछि रुँदै घर फर्किइन् जुनकला !

मासिक सयकडा ५ रुपैयाँ ऋणधन खोजेर अन्न किन्नुपर्ने बाध्यता

बाजुरेलीका दुःख : चामल नपाएपछि रुँदै घर फर्किइन् जुनकला !

मासिक सयकडा ५ रुपैयाँ ऋणधन खोजेर अन्न किन्नुपर्ने बाध्यता

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको हिमाली गाउँपालिका वडा नम्बर २ बिच्छँयाकी जुनकला बुढा चामल किन्न दुई दिन लगाएर कवाडी डिपो पुगिन् । डिपो पुगेपछि चामल नपाउँदा उनका आँखाबाट आँसु झरे । ५ जनाको परिवारमा जुनकलाका बुबा बिरामी छन् भने आमा अशक्त ।


घरमा खाने अन्न नभएपछि चामल लिन डिपो पुगेकी बुढाले रित्तो हात फर्किनु परेपछि रुँदै भनिन्, ‘आमा र बुबा आउन सक्नुभएन । चामल पाइन्छ भनेर आएको तर रित्तो हात घर फर्किनुपर्‍यो  ।’  चामल किन्ने पैसा पनि गाउँमा मासिक सयकडा ५ रुपैया साहूबाट ऋण मागेर ल्याए पनि नपाएको उनको गुनासो छ । कोल्टी पुग्न यहाँबाट एक दिन लाग्ने हुँदा खाली हात घर फर्किनुपरेको उनले सुनाइन् ।


जुनकलाजस्तै धर्मा बुढा पनि चामल नपाएर घर फर्किइन् । श्रीमान् ज्यालादारी काम गर्न गएका र घरमा अन्नपात नभएपछि चामल किन्न आए पनि नपाएर रित्तो हात घर जानुपरेको पउनले बताइन् । उनले भनिन्, ‘हाम्रा लागि सरकारले पनि बेवास्ता गरेको छ । ऋणधन गरेर चामल किन्न पैसा जुटाए पनि भनेका बेला किन्न पाइन्न । छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता छ । कुनै दिन त भोकै बस्नुपर्छ ।’ चामल नपाएपछि सिस्नोले छाक टार्ने अवस्था रहेको उनको दुखेसो छ ।

 

समयमै ठेकेदारले चामल ढुवानी नगर्दा हिमाली गाउँपालिकामा खाद्य संकट भएको छ । हिमालीको कवाडी डिपोमा ठेकेदारले ठेक्का असोजमा सम्झौता गरे पनि अहिलेसम्म चामल ढुवानी नगर्दा खाद्य संकट भएको वडा नम्बर ५ का वडाध्यक्ष अम्मलाल कार्कीले बताए ।

 

बिच्छँयाको ४ हजार जनसंख्याको सबै घरमा खाद्य संकट भएको उनले जानकारी दिए । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान पुग्ने गरेको छैन । हिमाली बाजुराको सर्वाधिक विकट पालिका हो । यो पालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।

 

आर्थिक वर्ष २०७७/७८ मा मार्तडी शाखाका लागि ९ हजार १ सय ४ क्विन्टल, कोल्टी शाखालाई ८ हजार क्विन्टल चामल कोटा छुट्याइएको थियो । त्यस्तै, कवाडी डिपोका लागि २२ सय क्विन्टल चामलको कोटा थियो ।

 

गत आर्थिक वर्षको सबै चामल बिक्री भइसकेको र नयाँ नआएपछि संस्थानमा ताला लगाउनुपर्ने अवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्तडी शाखा प्रमुख मेखराज ओझाले बताए । पुरानो मौज्दात चामल सकिएपछि नयाँ ल्याउन ढुवानी प्रक्रिया अगाडि नबढेको ओझाले जानकारी दिए । उनले भने, ‘दसैँमा पनि चामल आउने सम्भावना छैन ।’