close

सीमा नाकामा जोडियो सिसीटिभी क्यामेरा

सीमा नाकामा जोडियो सिसीटिभी क्यामेरा

Trulli
ADVERTISEMENT

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डचौकी सीमा नाकासम्म सिसीटिभी क्यामेरा जडान गरी सञ्चालनमा ल्याएको छ । 

 

प्रदेशको आन्तरिक मामला तथा कानुन मन्त्रालयले अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीमा सिसीटिभी क्यामेरा नेपाल प्रहरीलाई हस्तान्तरण गर्दै सञ्चालनमा ल्याएको हो ।

 

सिसीटिभी क्यामेरा जडान गरी सञ्चानमा ल्याइएपछि राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरणमा सघाउ पुग्ने आन्तरिक मामला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन् । 


सीसीटिभी क्यामेराले आपराधिक गतिविधि नियन्त्रण गर्न मात्र नभई राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न तथा दुर्घटनाका दोषीलाई पक्राउ गर्न सहज हुने उनको भनाइ छ । 


आन्तरिक मामला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार १ करोड ७१ लाख रुपैयाँको लागतमा सिसीटिभी क्यामेरा खरिद गरी पूर्व–पश्चिम राजमार्ग सडक खण्डका १३८ स्थानमा जडान गरिएको जनाएको छ । भीडभाड हुने स्थान, सरकारी कार्यालय तथा सार्वजनिक सम्पत्ति भएको क्षेत्र, दुई वा दुईभन्दा बढी बाटो जोडिने क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरिएको जनाइएको छ । 

 

चिसापानीदेखि गड्डाचौकीसम्म पर्ने इलाका प्रहरी कार्यालयले हेर्ने गरी १२ स्थानमा सिसीटिभी क्यामेराको स्टेसन राखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अत्तरियादेखि त्रिनगर भन्सार नाकासम्मसमेत सिसीटिभी क्यामेरा जडान गरेको छ ।