close

कान्ति तालमा पर्यटक बोलाउँदै नेपालगञ्ज

कान्ति तालमा पर्यटक बोलाउँदै नेपालगञ्ज

Trulli
ADVERTISEMENT

बाँके– बाँकको नेपालगञ्जस्थित कान्ति तालको पुनःनिर्माणपछि आन्तरिक पर्यटन प्रवद्र्धन हुन थालेको छ । नेपालगञ्ज उपमहानगर वडा नम्बर २१ र २२ मा फैलिएको कान्ति तालको पुनःनिर्माणपछि अहिले घुम्न आउने सर्वसाधारणको भीडभाड हुने गरेको वडा नम्बर २१ का वडाध्यक्ष रञ्जित खाँले जानकारी दिए ।वर्षौंदेखि बेवारिसे अवस्थामा रहेको ताललाई उपमहानगरपालिकाले पर्यटकीय स्थलका रूपमा विकास गरेपछि अहिले नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट घुम्न आउनेको संख्या बढेको उनले बताए । 

 

उपमहानगरले साढे १० करोड रुपैयाँ खर्चिएर कान्ति तालको पुनःनिर्माणसँगसँगै वरिपरि हराभरा बनाउँदै छ । बेवारिसे अवस्थामा रहेको तालको संरक्षण र पर्यटक स्थल बन्न थालेपछि आसपासका बासिन्दा खुसी छन् ।

 

ताल बिहान र साँझपख स्थानीयको घुमघाम गर्ने रमणीय स्थान बनेको स्थानीय सिर्जना थापाले बताइन् । धेरैजसो युवायुवती तालमा घुम्ने, तस्बिर खिचेर रमाइलो गर्ने गरेको उनको भनाइ छ ।

 

नेपालगञ्जमै रमणीय स्थान भएपछि प्राकृतिक सौन्दर्यको मजा लिँदै सहरका विभिन्न ठाउँबाट नागरिक तालमा पुग्ने गरेका छन् । तालमा अहिले टिकटक र फोटो खिचाउनको लर्काे लाग्ने गरेको थापाले सुनाइन् । 

 

यो ताल २५ बिघामा फैलिएको छ । बाहिरी संरचनालाई राम्रो बनाउनुका साथै तालमा बोटिङको प्रबन्ध गरिँदै छ । उपमहानगरले बाहिरी या आन्तरिक पर्यटकका लागि ताललाई हेर्न लायक बनाउने रणनीतिअनुसार काम गरिरहेको छ । 

 

तालमा सात मिटरको बाटो, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षारोपण गरिएको उपहानगरका इञ्जिनियर सुरज शर्माले बताए । उनका अनुसार कान्ति ताललाई पर्यटकको आकर्षण बढाउने गरी दूरगामी सोचका साथ यसको विकास गरिँदै छ । उपमहानगरले यो वर्ष ३५ लाख रुपैयाँ छुट्याएको छ । ताल वरिपरि बाटो बनाइएको छ । ताललाई घेरेर बाटो, नाली, वृक्षरोपण गरिएपछि अहिले बिहान र बेलुका वाकिङ गर्नेको भीड लाग्ने गरेको छ ।

 

पुराना तालतलाउ संरक्षण र त्यसलाई पर्यटकीय स्थल बनाउने उपमहानगरको योजनाअनुसार कान्ति तालसँगै वडा नम्बर १ मा रहेको वाटरपार्कलाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कार्य भइरहेको उपमहानगरका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।