close

सडकसँगै भित्रिएको लागूऔषधले जुम्लीलाई लपेट्ने चिन्ता

सडकसँगै भित्रिएको लागूऔषधले जुम्लीलाई लपेट्ने चिन्ता

Trulli
ADVERTISEMENT

जुम्ला– डेढ दशक पहिले यहाँका नागरिकले लागूऔषध ब्राउन सुगरको नाम पनि सुनेका थिएनन् । ब्राउन सुगर के हो, कस्तो हुन्छ । यसले के प्रभाव पार्छ भन्ने जानकारीसमेत यहाँका कसैलाई थिएन । तर, पछिल्लो समय जुम्लामा सडक सञ्जाल पुगेसँगै लागूऔषध कारोबार सुरु भएपछि आफ्ना बालबच्चालाई दुव्र्यसनबाट कसरी जोगाउन भन्ने चिन्ता अभिभावकमा थपिएको छ । 

 

नेपालगञ्जबाट कर्णाली राजमार्ग हुदै जुम्लातर्फ मोटरसाइकलमा लागूऔषध ब्राउन सुगर बोकेर आउँदै गरेका दुई जना युवालाई अघिल्लो साता कालीकोट प्रहरीले पक्राउ गरेको थियो ।

 

लु७३प८३०५ नम्बरको पल्सर मोटरसाइकलमा सवार जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय रामबहादुर बुढा, चन्दनाथ नगरपालिका वडा नम्बर ६ कै २४ वर्षीय सनिर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

 

विशेष सुराकीको आधारमा प्रहरी चौकी खल्लागाडले खानतलासी गर्दा मोटरसाइकलको ब्याट्री राख्ने ठाउँ र सिटमुनि लुकाएर राखेको अवस्थामा ब्राउन सुगर ७ ग्राम इन्टरभेट–१० लेखिएको लेखिएको १२ पत्तामा १ सय ७५ ट्याब्लेट र ट्रामवाल लेखिएको २८ पत्तामा २ सय ८० ट्याब्लेट प्रहरीले बरामद गरेको थियो । 

 

कर्णाली राजमार्ग खुलेसँगै आएको ब्राउन सुगर यहाँको सहरबजारदेखि गाउँटोलसम्म पुगेको यो घटनाले देखाएको छ । सुर्खेत, दैलेख, कालीकोट हुदै जुम्ला, मुगु कर्णाली राजमार्गको २०६२ मा ट्रयाक खुलेको हो । त्यसयता ब्राउन सुगर लागूऔषध भित्रिन थालेको प्रहरीको बुझाइ छ । 

 

कर्णाली राजमार्ग नखुल्नुअघि यहाँको एक मात्र यातायातको साधन हवाईजहाज थियो । हवाईजहाजबाट लागूऔषध जुम्ला भित्रन सक्दैनथ्यो । राजमार्ग खुलेपछि लागूऔषध भित्रिन थालेको देखिएको प्रहरी नायब उपरीक्षक दानबहादुर थापा बताउँछन् ।

 

पहिलो स्थानीय स्तरमै उत्पादन हुने भागो (गाँजा) चरेश नशाको रूपमा प्रयोग गर्ने गरेको स्थानीय बताउँछन् । त्यो पनि लुकीछिपी प्रयोगमा आउने गरे पनि कानुनी रूपमा बन्देज थियो । 

 

ब्राउन सुगरको कारोबारले युवा पुस्तालाई गाज्न थालेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत बताउँछन् । उनले भने, ‘यो नशामा युवा पुस्ता नराम्रोसँग फसेका छन् । प्रहरीले जति निगरानी बढाए पनि बाहिरबाट जुम्ला भित्रिन छाडेको छैन । ब्राउन सुगरको प्रभाव र असरका विषयमा विद्यालय स्तरमै सचेतना गर्न आवश्यक छ’, उनले भने ।  पछिल्लो समय माथिल्लो कर्णालीका जुम्ला, मुगु, कालीकोटमा लागूऔषध सेवन बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय जुम्लाको तीन वर्षको तथ्यांक हेर्दा लागूऔषध सेवन र कारोबार वृद्धि भएको देखिन्छ । तीन वर्षको अवधिमा प्रहरीले लागूऔषध ब्राउन सुगरसम्बन्धी १७ मुद्दा दर्ता र ४७ जनालाई पक्राउ गरी कारबाही गरेको छ । 

 

२०७५/७६ मा ५ वटा मुद्दामा १६ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ६ वटा मुद्दामा ९ जना पक्राउ परेका थिए भने आव २०७७/७८ मा ५ वटा मुद्दामा २० जनालाई पक्राउ गरी कारबाही गरेको प्रहरी तथ्यांक छ । आव २०७८/७९ को दुई महिना साउन र भदौमा एउटा मुद्दामा दुई जना पक्राउ परेको प्रहरी निरीक्षक युवन चौधरीले बताए । 


ब्राउन सुगर रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको उनले जानकारी दिए । उनले भने, ‘यस विषयमा विद्यालय स्तरमा सचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ ।’