close

कांग्रेस नेताको बखेडाले रोकियो विराटनगरमा अकासे पुल निर्माण 

कांग्रेस नेताको बखेडाले रोकियो विराटनगरमा अकासे पुल निर्माण 

Trulli
ADVERTISEMENT

विराटनगर– विराटनगर महानगरपालिकाभित्र अकासे पुल निर्माणमा स्थानीयको अवरोधका कारण निर्माण प्रक्रिया रोकिएको छ । विराटनगर महानगरपालिकामा सवारीसाधनको चाप बढ्न थालेपछि यातायात सहज बनाउन विराटनगरका तीन स्थानमा अकासे पुल निर्माण गर्ने अवधारणा ल्याएको थियो । 

 

२ चैतमा विराटनगर महानगर प्रमुख भीम पराजुलीले तीन वटा अकासे पुलको एकै पटक शिलान्यास गरेका थिए । ६ महिनाभित्र निर्माण सक्ने गरी शिलान्यास भए पनि अझै निर्माणको नथालिएको हो ।  पुल निर्माणमा हुने स्थानमा सर्वसाधारणले अवरोध गरेपछि शिलान्यासपछि काम रोकिएको छ ।

 

विराटनगर महानगरपालिकाले २ करोड ४७ लाख रुपैयाँमा कञ्चनबारी, बरगाछी र घाँस चोकमा पुल बनाउन बरगाछीमा शिलान्यास गरिएको थियो । तीन ठाउँमा अकासे पुल निर्माण २५ चैत २०७७ मा सम्झौता भएर शिलान्यास गरिएको थियो । कञ्चनबारीमा निर्माण हुन लागेको अकासे पुलको लागत ९९ लाख १४ हजार ४३ रुपैयाँ छ । यसको ठेक्का आरके जेभीले पाएको छ ।

 

यस्तै, बरगाछीमा कला बिल्डर्सले ७५ लाख ८४ हजार २ सय ९ रुपैयाँमा ठेक्का पाएको छ भने रोडशेषमा बन्ने अकासे पुलको लागत १ करोड ४ लाख ३१ हजार ५ सय ११ रुपैयाँ छ । यसको ठेक्का कला बिल्डर्सले पाएको छ ।  विराटगरको सौन्दर्य बढ्ने, सवारी दुर्घटना न्यूनीकरण गर्ने र नागरिकलाई सडक वारपार गर्न सुविधा दिने उद्देश्यले अकासे पुल निर्माणसँगै भित्री भागमा महानगरको खाली जग्गामा सामान्य उद्यान बनाउने योजना छ ।

 

महानगरपालिकाका इन्जिनियर अर्जुन थापाका अनुसार स्टिल स्ट्रक्चरमा निर्माण हुने पुलको जग मात्रै कंक्रिट (सिमेन्ट) को हुनेछ । ठेकेदार कम्पनीले जगदेखि माथि प्रयोग हुने स्टिल संरचना तयार गरिसकेका छन् । तर, काम सुरु नहुँदा कोसी प्रोजेक्ट चोक नजिकै निर्माण सामग्री थन्किएको छ । जग हाल्न सुरु गरिएकाले पुल तयार गर्न महिना दिन पनि नलाग्ने उनले बताए ।

 

विराटनगर महानगर प्रमुख पराजुलीका अनुसार कञ्चनबारीमा कांग्र्रेस प्रदेश सांसद चुमनारायण तबदारसहितले आफ्नो घरअघि पुल बनाउन नदिने भन्दै काम अघि बढाउन दिएका छैनन् । उनीहरूले महानगरमा लिखित निवेदन दिएका छन् । रोडशेष चोकनजिकै कांग्र्रेस मोरङ सचिव नागेश कोइरालाले आफ्नो जग्गाअगाडि बनाउन नदिने भन्दै अवरोध गरेका छन् । कोइरालाले नमानेपछि जग खनेर छाडिएको छ । बरगाछीमा पनि पुल नजिक पर्ने घरधनीले रोकेका छन् । सबैतिर अवरोध भएपछि काम अघि नबढाएको उनले बताए ।