close

हाम्रो पात्रोको रेमिट्यान्स सेवा

हाम्रो पात्रोको रेमिट्यान्स सेवा

Trulli
ADVERTISEMENT

काठमाडौं– हाम्रो पात्रोले एपले रेमिट्यान्स सेवा सुरु गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवासमेत थपिएको हो । 


शुक्रबारदेखि सुरु भएको यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले स्वदेशमा रकम पठाउन सक्नेछन् । अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिने हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए । 

 

‘शुक्रबारदेखि नै हाम्रो पात्रोको रेमिट्यान्स सेवा सञ्चालनमा आएको छ,’ उनले भने, । हाम्रो पात्रोको आईओएस र एन्ड्रोइड दुवै एपमा नयाँ अपडेटसँगै यो सुविधा थपिएको हो ।’

 

तत्काल अमेरिकामा रहेका नेपालीका लागि उपलब्ध यो सेवा आगामी दिनमा क्रमशः अस्ट्रेलिया, जापान, दक्षिण कोरिया हुँदै अन्य मुलुकमा समेत विस्तार गरिने संस्थापक उप्रेतीले बताए । 

 

‘हाम्रो पात्रो एपमार्फत प्रयोगकर्ता आफैंले रकम पठाउन सकिने भएपछि त्यसका लागि जनशक्तिमा लाग्ने खर्च कम हुन्छ,’ उनले भने, ‘यसले न्यूनतम सेवाशुल्कमा विदेशबाट रेमिट्यान्स नेपाल पठाउन सम्भव भएको हो ।’ कम्पनीले हाल बजारमा उपलब्ध रेमिट्यान्स सेवाको तुलनामा आफ्नो सेवा सस्तो रहेको दाबी गरेको छ । 

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत सार्वजनिक गरेको छ । दसैँ तिहा अवसरमा प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुआती तीन पटकसम्म निःशुल्क रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् । 

 

तत्कालका लागि रेमिट्यान्स पठाएको दुईदेखि तीन दिनमा नेपालका बैंकको खातामा रकम जम्मा र कम्पनीले एक महिनाभित्र एपमा इन्स्टेन्ट रकम ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराउनेछ । 

 

हाल हाम्रो पात्रोले विदेशी मुद्राको नेपाली विनिमय दर हेर्न सकिने सुविधा दिँदै आएको छ । अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिट्यान्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको हो । रेमिटेन्स सेवाका लागि कम्पनीले सम्बन्धित देशका लाइसेन्स होल्डरसँग सहकार्य गरेको छ ।