close

बागलुङमा पन्ध्र शैय्याको नगरअस्पतालले सुरु गर्‍यो सेवा 

बागलुङमा पन्ध्र शैय्याको नगरअस्पतालले सुरु गर्‍यो सेवा 

Trulli
ADVERTISEMENT

गलकोट– बागलुङ नगरपालिकामा १५ शैय्याको नगरअस्पतालको शुभारम्भ गरिएको छ । एक पालिका एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य अनुरूप बागलुङ नगरपालिका–१३ पैंयुपाटामा नगरअस्पतालको शुक्रबार बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले उद्घाटन गरे । 

 

नगरअस्पताल निर्माणका लागि स्थानीयको सक्रियतामा ९ रोपनी जग्गा व्यवस्थापन गरे पनि नेपाल सरकारले नगरअस्पताल स्वीकृत दिएको छ । पैंयुपाटा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी बागलुङ नगरअस्पतालको रूपमा सेवा दिन थालिएको छ । नगरअस्पताललाई आवश्यक भवन निर्माण ठेक्का स्वीकृत भएर अगाडि बढेको र अहिले साविक स्वास्थ्यचौकीकै भवनबाट अस्पतालले सेवा प्रदान गर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । 

 

‘जग्गा अपुग तथा अन्य स्थानसमेतमा नगरअस्पताल स्वीकृत भएकाले समस्या भएको थियो, संशोधनपश्चात् पैंयुपाटामै नगरअस्पताल स्थापना भएको छ’, नगरप्रमुख पौडेलले भने, प्रदेशले जनशक्ति व्यवस्थापन गर्ने भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५  शैय्याका लागि केही स्वास्थ्य सामग्री प्रदान गरेको छ, शुक्रबारदेखि अस्पतालले सेवा दिन थालेको छ । 

 


आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको  १० लाख र अन्य स्थानीयको ५ लाख गरी १५ लाख रुपैयाँ लागतमा जग्गा खरिद गरेर अस्पताल निर्माण गर्न थालेको बागलुङ नगरपालिका–१३ का वडाअध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए । ‘धेरै दुःख गरेर जग्गाको जोहो भएपछि अस्पतालले स्वीकृत पायो, अहिले स्वास्थ्यचौकीबाटै सेवा दिइने र अस्पताल निर्माण तत्कालै थालिने छ’, अध्यक्ष पौडेलले भने, ‘नगरपालिकाको निरन्तरको पहलमा ढिलै भए पनि अस्पताल शुरु भएको छ, जसले बलेवा क्षेत्रका वासिन्दालाई स्वास्थ्य सेवा पाउन निकै सहज हुनेछ ।’ दैलोमै अस्पताल शुरु भएपछि खुशी लागेको स्थानीय पवित्रा कुमारी रोकाले बताइन् । 

 

अस्पताल निर्माणको लागि सरकारले  १८ करोड बजेट बिनियोजन गरे पनि  १२ करोड ८७ लाखमा महालक्ष्मी निर्माण सेवासँग दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भइसकेको छ । स्वास्थ्य चौकीमा हालसम्म जनस्वास्थ्य निरीक्षकसहित आठ जनाले सेवा दिँदै आएका थिए । स्वास्थ्य चौकीका प्रमुख दुर्गाप्रशाद पौडेलका अनुसार आजदेखि अस्पतालले प्रदान गर्ने सेवा दिँदै जाने र जनशक्ति तथा उपकरण थपिँदै जानेछन् । नगरअस्पतालमा दुई÷ दुई मेडिकल अधिकृतसहित २७ दरबन्दी स्वीकृत भएको छ । अस्पताल स्थापना भएसँगै १५ शैय्या, प्रयोगशाला, फर्मेसीलगयात अन्य सेवा थपिने छन् ।