close

व्यास नगरपालिकाले सञ्चालनमा ल्यायो पीसीआर प्रयोगशाला

व्यास नगरपालिकाले सञ्चालनमा ल्यायो पीसीआर प्रयोगशाला

Trulli
ADVERTISEMENT

दमौली– कोरोना महामारीले आक्रान्त भएको समयमा पीसीआर रिपोर्ट आउनै आठ/नौ दिन लाग्यो । स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने र त्यसको रिपोर्ट आउन ढिलाई भएपछि तनहुँको व्यास नगरपालिकालाई उपचारसमेतमा समस्या पर्‍यो । 

 

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा प्रदेशभरको स्वाबको परीक्षण गर्नुपर्ने र रिपोर्ट आउन ढिलाई भएपछि व्यास नगरपालिका आफैँ पीसीआर प्रयोगशाला स्थापना गर्ने पहल गर्‍यो । सोही बमोजिम लामो समयको प्रयासपछि व्यास नगरपालिकाले पीसीआर प्रयोगशाला स्थापना गर्न सफल भएको छ । 

 

सङ्घीय सरकार, प्रदेश सरकार, व्यास नगरपालिका, विभिन्न सङ्घसंस्थाको सहयोगमा नगरपालिकाले व्यास–१० दुम्सीमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । पीसीआर प्रयोगशाला सञ्चालनका लागि सङ्घीय सरकारले  ५० लाख, गण्डकी प्रदेश सरकारले र २५ लाख, व्यासका जनप्रतिनिधिले  १३ लाख, कर्मचारीले ८ लाख, हेफर इन्टरनेशनले ४ लाख, तनहुँ समाज हङ्कङ र तनहुँ समाज अष्ट्रे्लियाले  २/२ लाख, तनहुँ उद्योग वाणिज्य सङ्घले ३ लाख एक हजार १५६ सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । 

 

उनका अनुसार पीसीआर प्रयोगशाला स्थापनार्थ १ करोड ७ लाख ७६ हजार प्राप्त भएको छ भने पीसीआर प्रयोगशाला सञ्चालनका लागि १ करोड ३२ लाख १५ हजार २६८ खर्च भएको छ । 

 

प्रयोगशाला सञ्चालनका लागि  २५ लाख ८७ हजार ७०० मा पीसीआर मेसिन, १० लाख २० हजार ३९० मा जेनेरेटर,  ५७ लाख ७  हजार १७८ मा अन्य उपकरण, ५ लाखमा ल्यापटप/कम्प्युटर र ५  लाखमा फर्निचर खरिद गरिएको छ भने पूर्वाधार निर्माणमा  २९ लाख खर्च भएको छ । प्रयोगशालामा दुई विएमएलटि र तीन जना सिएमएलटिका स्वास्थ्यकर्मी नियुक्त गरिएको छ । 

 

पीसीआर प्रयोगशालामा एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । त्यसको नतिजा साढे दुई घण्टा प्राप्त हुन्छ । ‘जिल्लामा प्रयोगशाला नहुँदा यस अगाडि स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने बाध्यता थियो, अब जिल्लामै सहजरूपमा छिटोछरितो परीक्षण हुन्छ’, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भने ।

 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सबैको सहयोग र सहकार्यबाट पीसीआर प्रयोगशाला स्थापना गर्न सकिएको भन्दै सहयोगदाताप्रति आभार व्यक्त गरे । सोही ठाउँमा नगरपालिकाले पाँच शैय्याको कोभिड अस्पताल पनि सञ्चालनमा ल्याइसकेको छ । कोभिड अस्पताललाई थप सुविधासम्पन्न बनाउने नगरप्रमुख न्यौपानेले बताए ।

 

उद्योग वाणिज्य सङ्घद्वारा तीन लाख हस्तान्तरण

 

पीसीआर प्रयोगशाला स्थापनार्थ तनहुँ उद्योग वाणिज्य सङ्घले ३ लाख १ हजार १५६ हस्तान्तरण गरेको छ । सङ्घले स्थापना गरेको कोभिड महाअभियान कोषमार्फत् उक्त रकमको चेक सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले नगरप्रमुखलाई हस्तान्तरण गरे । महाअभियान कोषमा देश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो । सोही कोषबाट सङ्घले जिल्लाका दश वटै स्थानीय तह र स्वास्थ्य संस्थासमेतमा स्वास्थ्य सामग्री वितरण गरेको थियो ।